‘निजगढ विमानस्थल निर्माण हुन नदिन अतिरञ्जित कुरा गरियाे’-मन्त्री अधिकारी

File Photo

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले निजगढ विमानस्थल निर्माण हुन नदिन अतिरञ्जित कुराहरु बाहिर ल्याइएको गुनासो गरेका छन् ।

सिंहदरबारमा शुक्रबार बसेको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै उनले बिमानस्थल प्रयोजनका लागी २४ लाख रुख काट्न लागिएको भनेर भ्रम फैलाइएको गुनासो गरे । उनले विमानस्थल बन्न नदिन अतिरञ्जित तरिकाले ८ हजार हेक्टर जंगलको २४ लाख रुख काट्न लागियो भनिएको बताए ।

मन्त्री अधिकारीले दीर्घकालीन सोचका साथ निजगढमा अन्तराष्ट्रिय विमानस्थल निर्माण गर्न लागेको भन्दैे अनावश्यक विवाद झिक्न नहुनेमा जोड दिए । विमानस्थल १ हजार हेक्टर क्षेत्रफलमा नै बन्ने भए पनि अन्तराष्ट्रिय स्तरको बनाउन धेरै जग्गा चाहिएको पनि मन्त्री अधिकारीले बताए ।

उनले पारदर्शी तरिकाले सरकारले काम गरिरहेको दाबी समेत गरे । बैठकमा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणका विषयमा असन्तुष्टि व्यक्त गरे ।

आर्थिक हिसाबले एकै पटक पूर्वाधार विकास गर्न नसकिने भन्दै उनले क्रमशः थोरै थोरै विकास गर्दै जानुपर्ने धारणा राखे । बैठकमा नेकपा सांसद भीम रावलले पनि दीर्घकालीन हिसाबले सोचेर मात्र विमानस्थल निर्माण गर्नु पर्ने बताए ।

कांग्रेस सांसद पुष्पा भुसालले विमानस्थल बनाउनु पर्ने कुरामा विमति नरहे पनि पर्यटन मन्त्रालयले बन फडानी गर्न स्वीकृति मागेर पत्र लेखेपछि विवाद उत्पन्न भएको टिप्पणी गरिन् ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "‘निजगढ विमानस्थल निर्माण हुन नदिन अतिरञ्जित कुरा गरियाे’-मन्त्री अधिकारी"

Leave a comment