फिलिपिन्समा शक्तिशाली आँधी, १४ जनाको मृत्यु

फिलिपिन्समा मेंगकूट नामक आँधीका कारण १४ जनाको मृत्यु भएको छ । उक्त आँधीले फिलिपिन्सको उत्तरी भागमा हाहाकार मच्चाएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

फिलिपिन्सको लुजोन द्वीप तहस नहस भएपछि मेंगकूट आँधी पश्चिम चीनतर्फ अघि बढेको छ ।

आँधीका कारण फिलिपिन्सका धेरै घरका छाना उडेका छन् । धेरै रुखहरु ढलेका छन् । ४२ स्थानमा भूक्षय गएको छ ।

आँधी, वर्षा र बाढीका कारण ५० लाख मानिस प्रभावित भएका छन् । हजारौँ मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ ।

विश्व मौसम विज्ञान संगठन (डब्ल्यूएमओ) ले यो आँधीलाई बर्षकै सबैभन्दा शक्तिशाली चक्रवर्ती आँधी भनेको छ ।

पूर्वानुमान गरिएअनुसार आइतबार दिउँसोसम्म यो आँधी हङकङ नजिक पुग्ने छ ।

आँधीले क्षति र्पुयाउन सक्ने आशंकामा मकाउका बासिन्दाले पनि सतर्कता अपनाएका छन् । मंगलबारसम्म यो आँधी कमजोर हुने सम्भावना रहेको बताइएको छ ।

उता चीनमा पनि यो आँधी पुग्नुभन्दा पहिले नै सतर्कता अपनाइएको छ र चिनियाँ नागरिकलाई सतर्क रहन प्रशासनले सूचित गरेको छ ।

फिलिपिन्सको इतिहासमा हालसम्मको सबैभन्दा खतरनाक आँधी सन् २०१३ मा आएको थियो । जसमा ७ हजारभन्दा बढी मानिसहरुले ज्यान गुमाएका थिए ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "फिलिपिन्समा शक्तिशाली आँधी, १४ जनाको मृत्यु"

Leave a comment