टुडेज युथ एशियासँगको सहकार्यमा स्ट्याण्डफोर्ड विश्वविद्यालयका विद्यार्थीको इन्जिनियरिङ डिजाइन

काठमाडौंस्थित टुडेज युथ एशियासँगको सहकार्यमा अमेरिकास्थित स्ट्याण्डफोर्ड विश्वविद्यालयका विद्यार्थीहरूले दोलखाको एक विकट गाउँ भैंसेको इन्जिनियरिङ डिजाइन गरेका छन् । स्ट्याण्डफोर्ड विश्वविद्यालयको ग्लोबल इन्जिनियरिङ प्रोग्राम अन्तर्गत विद्यार्थीहरूले उक्त गाउँको डिजाइन तयार गरेका हुन् ।

विद्यार्थीहरूले तयार गरेको डिजाइन काठमाडौंको अन्नपूर्ण होटलमा आयोजित एक कार्यक्रममा प्रस्तुत गरिएको थियो । ‘इन्जिनियरिङ फर नेशन बिल्डिङ’ अवधारणाका साथ आयोजना गरिएको कार्यक्रममा स्ट्याण्डफोर्ड विश्वविद्यालयका ७ जना विद्यार्थीहले आफूले तयार गरेको डिजाइनका विशेषतासहित प्रस्तुतीकरण गरेका थिए ।

कार्यक्रममा टुडेज युथ एशियाका अध्यक्ष सन्तोष साहले स्ट्याण्डफोर्ड विश्वविद्यालयले नेपालमा पहिलोपटक टुडेज युथ एशियासँग सहकार्य गरेको जानकारी दिँदै आगामी दिनमा पनि यस्तो सहकार्य जारी रहने जानकारी दिए ।

नेपाल स्विस फ्रेन्डसिप सोसाइटीका अध्यक्ष तथा दोलखामा स्ट्याण्डफोर्ड विश्वविद्यालयका विद्यार्थीहरूलाइ आतिथ्यता गरेका खेमराज लकाइले भूकम्पपछि इन्जिनियरिङको महत्व झन् बढेको भन्दै स्ट्याण्डफोर्ड विश्वविद्यालयको आगमनले त्यसमा थप मद्दत पुगेको बताए ।

विद्यार्थीहरूको प्रस्तुतीकरणपछि उक्त डिजाइन दोलखाकी सांसद शान्ति पाख्रिनलाई हस्तान्तरण गरिएको थियो । डिजाइन ग्रहण गर्दै सांसद पाख्रिनले दोलखाको स्थानीय तहमा पुगेर जनतासँग प्रत्यक्ष सहभागी भई घर डिजाइन गरेकोमा स्ट्याण्डफोर्ड विश्वविद्यालयका विद्यार्थीहरूलाई धन्यवाद दिइन । भूकम्पबाट क्षतविक्षत भएको ठाउँमा भूकम्प प्रतिरोध िघर डिजाइन गरिएकाले उपयोगी रहेको उनकाे भनाइ थियो ।

सोही कार्यक्रममा आर्टिटेक्ट शीर्षक बानियाँले तराई क्षेत्रका लागि उपयुक्त हुने प्राकृतिक प्रकोप प्रतिरोधी घरको डिजाइन पनि प्रस्तुत गरेका थिए । बानियाँ सन् २०१५ मा आयोजित प्रकोप प्रतिरोधी संरचना डिजाइन प्रतियोगिताका विजेता पनि हुन् । तराई क्षेत्रको डिजाइन भूतपूर्व सिँचाइ मन्त्री तथा बर्दियाका सांसद सञ्जयकुमार गौतमलाई हस्तान्तरण गरिएको थियो । डिजाइन ग्रहण गर्दै सांसद गौतमले ०७२ सालमा गएको भूकम्पपछि इन्जिनियरिङको महत्व झन् बढेको भन्दै अब नयाँ ढंगले सोच्नुपर्ने र प्रविधिमा जोड दिनुपर्ने बताए । विकास र वातावरणलाई सामञ्जस्य गरेर जानुपर्ने र त्यसमा इन्जिनियरिङको महत्वपूर्ण भूमिका हुने उनको भनाइ थियो ।

सोही कार्यक्रममा भारतको इन्डिया फाउण्डेशनका अनुुन्धानकर्ता सत्येन्द्र त्रिपाठीले तयार गरेको कुम्भमेला सम्बन्धी सामग्री २ नम्बर प्रदेशसभा सदस्य तथा राजपाका महासचिव मनिष सुमनलाई हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा काठमाडौैस्थित विभिन्न दूतावासका प्रतिनिधिहरू, यूएन एजेन्सीका प्रतिनिधिहरू, सांसद, उच्चपदस्थ सरकारी अधिकारीहरू, राष्ट्रिय÷अन्तर्रा्ष्ट्रिय संघसंस्थाका प्रतिनिधिलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "टुडेज युथ एशियासँगको सहकार्यमा स्ट्याण्डफोर्ड विश्वविद्यालयका विद्यार्थीको इन्जिनियरिङ डिजाइन"

Leave a comment