वातावरणका लागि किन खतरनाक हुन्छन् गाई–भैँसी ?

जलवायु परिवर्तनबाट चिन्तित वैज्ञानिक तथा पर्यावरणविदहरुका लागि लामो समयदेखि गाईको ग्यास तथा डकार चिन्ताको विषय बनिरहेको छ ।

वायुमण्डलमा हानिकारक मिथेनको अधिक मात्राका लागि गाई–भैँसीको डकार तथा तिनीहरुको पेटबाट निस्किने ग्यासलाई पनि जिम्मेवार मानिन्छ ।

वैज्ञानिकहरुले मिथेन ग्यासको उत्सर्जन रोक्नका लागि गाईको खानामा सुधार गर्ने प्रयास गरिरहेका छन् । तिनीहरुलाई खानामा लसुन, ओरेगेनो, जाफरान तथा अन्य सब्जिहरु खुवाएर त्यसको असरको बारेमा पत्ता लगाउने प्रयास गरिरहेका छन् ।

गाईको ग्यासलाई कसरी कम हानिकारक बनाउने भन्ने विषयमा क्यालिफोर्निया विश्वविद्यालयका वैज्ञानिकहरुले हालैमा एक अनुसन्धान मार्फत् उपाय निकालेका छन् ।

वैज्ञानिकहरुका अनुसार गाईलाई सामुद्रिक झार खुवाउनाले उनीहरुको ग्यासमा मिथेनको मात्रा कम हुनसक्छ र यसबाट पर्यावरणको रक्षा हुनसक्छ ।

यस शोधका माध्यमबाट वैज्ञानिकहरुले करिब एक दर्जन दुधालु गाईहरुलाई खानामा समुद्री झार खुवाए । त्यसपछि गरिएको परीक्षणमा गाईको डकार तथा ग्यासबाट उत्पन्न हुने मिथेनको मात्रामा ३० प्रतिशतले कमी पाइएको थियो ।

अनुसन्धानमा शामिल विश्वविद्यालय पशु वैज्ञानिक अरमियास केब्रियाबले अनुसन्धानको नतिजा देखेर आफूलाई आश्चर्य लागेको बताउदै भने, ‘मलाई अन्दाज थिएन कि, गाईभैँसीको खानामा थोरै मात्रामा पनि समुद्री झार खुवाउँदा यस्तो चमत्कार पनि हुनसक्छ ।’

उनका अनुसार अनुसन्धान नतिजाबाट सीक लिदैँ उनको टोलीले अब ६ महिनासम्म भैँसीलाई पनि समुन्द्रको झार खुवाएर त्यसको असर हेर्न चाहिरहेको छ । यहीँ अक्टोबरदेखि उक्त नयाँ शोध सुरु हुनेछ ।

इलिनोय विश्वविद्यालयका पशु वैज्ञानिक माइकल हुचेन्सका अनुसार यदि गाईवस्तुको खानामा थोरैमात्र परिवर्तन गरेर वायुमण्डलमा मिथेनको मात्रा कम गर्न सक्छौँ भने यसले कार्वन उत्सर्जनमा सकारात्मक असर पर्नेछ ।

संयुक्त राष्ट्रसंघको फूड एण्ड एग्रीकल्चर अर्गनाइजेशनको २०१४ को रिपोर्ट अनुसार गाई–भैँसी, बाख्रा र भेँडाजस्ता चौपायाँहरुले दिनभर खाना चबाएरहने अर्थात् मुख चलाएरहन्छ र डकार मारिरहन्छन् ।

उनीहरुको पेटमा घाँसपात जस्ता फाइबरयुक्त खानेकुरालाई विच्छेदन गर्नका लागि असंख्य जीवाणुहरु हुने गर्दछन् । त्यस प्रक्रियामा गाईको पेटबाट ठूलो परिमाणमा मिथेन ग्यास निस्किन्छ ।

सन् २००६ को नोभेम्बरमा संयुक्त राष्ट्रसंघले निकालेको एक रिपोर्ट अनुसार जलवायु परिवर्तनका लागि जिम्मेवार रहेको कार्वनडाई अक्साइडको जति परिमाणमा उत्सर्जन गाडी तथा कारखानाहरुको धुवाँबाट हुन्छ, त्योभन्दा कयौँ धेरै गाईवस्तुको पेटबाट निस्किने गर्दछ । उक्त रिपोर्ट अनुसार वायुमण्डललाई सबैभन्दा ठूलो खतरा गाई र भैँसीबाट रहेको छ ।

गाडीहरुबाट कार्बन डाइअक्साइडको उत्सर्जन हुने गर्दछ, जबकि गाईबाट मिथेन ग्यास । कार्वन डाइअक्साइडको तुलनामा मिथेन ग्यास वायुमण्डलका लागि कयौँ गुणा हानिकारक रहेको छ । यसले हरित गृह ग्यासलाई अधिक मात्रामा बाधेर राख्ने गर्दछ र यो जलवायु परिवर्तनको सबैभन्दा ठूलो कारण पनि हो ।

यहीँ असरलाई मध्यनजर गर्दै न्यूजिल्याण्डले गाई–भैँसीको ग्याासमा पनि कर लगाउने प्रस्ताव दिएको थियो । त्यहाँका किसानहरुले व्यापक मात्रामा त्यसको विरोध पनि गरेका थिए । तर उक्त प्रस्तावमा जलवायु परिवर्तन र गाई–भैँसीको योगदानलाई पनि स्पस्ट रुपमा देखाइएको थियो । बीबीसी

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "वातावरणका लागि किन खतरनाक हुन्छन् गाई–भैँसी ?"

Leave a comment