अनौठो क्याफेः यहाँ कफीका साथ अजिंगर पनि सर्भ गरिन्छ

कल्पना गर्नुहोस्, तपाई कुनै एउटा क्याफेमा कफी पिउन जानुभयो । मनपर्ने कफी र स्न्याक्स अर्डर गर्नुभयो । तर तपाईका अगाडि कफीसँगै भयंकर अजिंगर कुँदेर आयो भने ! अजिंगर मात्र होइन टेबलमा गंगटा र अन्य जिवहरु पनि घस्रिदै तपाईको अगाडि आउन सक्छन् ।

कम्बोडियाको राजधानी नोम पेन्हमा एउटा अनौठो रेष्टुरेन्ट खुलेको छ । त्यहाँ बसेर खाँदा तपाइँलाई कुनै चिडियाघरमा बसेको अनुभुति हुनेछ । आसपासमा चराहरुको चिरबिर, विभिन्न प्रकारका माछा खेलिरहेका एक्योरियम, टेबलमा खेलिरहेका–दौडिरहेका गंगटाहरु तथा पाहुनाको काँधमा घिस्रिरहने गोही । यो क्याफेको दृश्य यस्तै अनौठो हुन्छ ।

क्याफेका मालिक ची रेटीका अनुसार सुरुवातमा ग्राहकहरु, खासगरी महिलाहरु अजिंगरलाई टेबलमा देखेर निकै डराउँथे । तर विस्तारै उनीहरुले सहजता महसुस गर्न थाले । अहिले त त्यहाँ जाने ग्राहकहरुले चियाकफीको चुस्कीसँगै अजिंगरसँग सल्फी पनि लिने गर्दछन् ।

खासमा नोम पेन्हमा बिरालोको थिममा बनेको एउटा अर्काे क्याफे त्यहाँका मानिसहरुका बीच निकै नै लोकप्रिय रहेको छ । त्यहीँ क्याफेको सफलताको सिको गर्दै सर्पको थिमवाला यो क्याफे खोलिएको हो । क्याफेका मालिक ची रेटीका अनुसार, कयौँ मानिसहरु सर्प तथा छेपारोलाई दुश्मन मान्छन् । उनीहरुको मनबाट डर भगाउने यो सबैभन्दा राम्रो तरिका हो ।

यद्यपी उक्त क्याफेमा अजिंगर भएका कारण व्यापारको गतिमा भने सुस्तता आएको छ । तर क्याफेका मालिकका अनुसार यस्तो थिमका लागि मानिसहरुबाट राम्रो रेस्पोन्स मिलिरहेको छ । क्याफेमा राखिएका अधिकांश जीव थाइल्याण्डबाट आयात गरिएको बताइएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "अनौठो क्याफेः यहाँ कफीका साथ अजिंगर पनि सर्भ गरिन्छ"

Leave a comment