१६ उद्योगको उत्पादन र बिक्री वितरण बन्द

काठमाडौं। नेपाल गुणस्तर तथा नापतौल विभागले १६ उद्योगको सामान उत्पादन तथा बिक्री वितरण बन्द गरेको छ । आर्थिक वर्ष २०७४/७५ मा मापदण्डभन्दा बाहिर गएर उद्योग सञ्चालन गरेको भन्दै विभागले ती उद्योगको उत्पादन तथा बिक्री वितरण बन्द गरेको हो ।

विभागले आव २०७३/७४ मा ६ उद्योगको उत्पादन तथा बिक्री वितरण बन्द गरेको थियो। विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले मापदण्ड पूरा गर्न पटकपटक आग्रह गर्दा नमानेपछि ती उद्योगको उत्पादन तथा बिक्री वितरण बन्द गरिएको बताउनुभयो ।

बिक्री वितरण बन्द गरिएका उद्योगमा खाद्यान्न, तेल, पाइप, छडलगायत बढी रहेका छन् । विभागले मापदण्डविपरीत उद्योग सञ्चालन गर्ने ६२ उद्योगलाई स्पष्टीकरणसमेत सोधेको छ । आव २०७३/७४ मा ७३ उद्योगलाई विभागले स्पष्टीकरण सोधेको थियो ।

विभागले नेपाल गुणस्तर चिन्ह दुरुपयोग गर्ने एक उद्योगको मुद्दा प्रक्रिया अगाडि बढाएको थियो । आव २०७४/७५ मा इजाजतपत्र प्रमाणिकरणका लागि ७० उद्योगले आवेदन दिएका थिए । आवेदन दिनेमा ४६ ग्यास उद्योग, सात विदेशी र १७ नेपाली उद्योग रहेका छन् ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "१६ उद्योगको उत्पादन र बिक्री वितरण बन्द"

Leave a comment