११ वटा स्मार्टफोन लिएर पोकेमन खेल्दै हिड्छन् यि ७० वर्षीय वृद्ध

कुनै पनि कुराको लत एकपटक लागेपछि त्यसबाट पीछा छुटाउन हरेक मानिसहरुलाई मुस्किल पर्ने गर्दछ । यस्तै एक प्रकारको लतका रुपमा रहेको छ, भिडियो गेमको लत । यदि त्यो लत बच्चाहरुलाई लागेको हो भने उनीहरुलाई पिटेर, गाली गरेर वा सम्झाएर पनि उनीहरुको बानीलाई सुधार्न सकिन्छ । तर यदि त्यो लत बृद्धबृद्धालाई लागेमा? एउटा यस्तै रोचक घटना रहेको छ ।

ताइवानको राजधानी ताइपेमा बस्दै आएका ७० बर्षीय एक वृद्ध जब आफ्नो घरबाट निस्कन्छन्, उनी आफ्नो साथमा एउटा दुईओटा होइन पुरै ११ वटा स्मार्टफोन बोकेर हिड्ने गर्दछन् । उनी आफ्नो साइकलमा ११ वटा स्मार्टफोन जोडेर साथमा चार्जर पनि बोकेर हिड्ने गर्दछन् । सुन्दा पत्यार नलाग्नसक्छ तर यो साँचो कुरा रहेको छ ।

चेन सान युआन नामक ती वृद्ध ११ बटै मोबाइलमा ‘पोकेमन गो’ खेल्ने गर्दछन् । यस खेलमा खेलाडीहरुले पोकेमन समाउनुपर्ने हुन्छ । उनले सयौं डिजिटल मोन्स्टरहरुलाई समाउन आफ्नो साइकलमा नै ११ वटा स्मार्टफोन जोडेर हिड्ने गर्दछन् ।

उनलाई यो खेलप्रति यति धेरै लत लागेको छ कि, कहिलेकाहीँ त उनी यो खेलको चक्करमा रातभर घरबाट बाहिर नै रहने गर्दछन् र बिहान ४ बजेतिर मात्र घर पुग्छन् । उनी ११ वटा मोबाइल फोन र साइकलको बास्केटमा राखिएका ९ वटा पावर बैंकको चार्ज नसकिउन्जेलसम्म घन्टौंसम्म लगातार पोकेमन गो’ खेल्न सक्छन् ।

युआनले आफूलाई २ बर्ष पहिले आफ्ना नातिले यो भिडियो गेम खेल्न सिकाएको बताए । उनका अनुसार उनी यो गेममा त्यसैले पनि आफ्नो ध्यान केन्द्रित गर्ने गर्दछन्, ताकि उनी भुल्ने बिमारी अर्थात् अल्जाइमरसँग लड्न सकून् ।

उनको सबैभन्दा मनपर्ने ठाँउ एक पार्क हो, जहाँ उनी सातामा पाँच वा छ पटकसम्म पुग्ने गर्छन् । कुनै स्थानीयले उनको ११ वटा मोबाइल फोन जडित साइकलसहित एक तस्वीर खिचेर रेडइटमा राखिदिएपछि उनी अनलाइनमा धेरै भाइरल भए ।

त्यसपछि उनलाई ‘अंकल पोकेमन’ उपनाम दिइयो ।

सबैभन्दा हैरानीको कुरा त पोकेमन गो खेल्ने शौकका कारण उनी महिनामा १ हजार १६५ यूरो अर्थात् झण्डै डेढ लाख रुपैयाँ खर्च गर्ने गर्दछन् ।

यति मात्र नभई उनले यहीँ गेम खेल्नका लागि नै अब आफ्नो स्मार्टफोनको संख्या ११ बाट बढाएर १५ पुर्याउन लागिरहेको बताइएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "११ वटा स्मार्टफोन लिएर पोकेमन खेल्दै हिड्छन् यि ७० वर्षीय वृद्ध"

Leave a comment