रुसविरुद्ध नयाँ प्रतिबन्ध लगाउने तयारीमा अमेरिका

काठमाडौं, साउन २४ । अमेरिकाले रुसमाथि प्रतिबन्ध लगाउने तयारी गरेको छ ।

गत मार्चमा पूर्वजासुस सेर्गेइ स्क्रिपाल र उनकी छोरीलाई विषबाट आक्रमण गरेको घटनालाई लिएर अमेरिकाले रुसमागि नया प्रतिबन्ध लगाउन लागेको बीबीसीले जनाएको छ ।

प्रतिबन्धित रसायनबाट रुसले उक्त आक्रमण गरेको पाइएकाले रुसमाथि प्रतिबन्धको घोषणा गर्ने तयारी गरेको अमेरिकी सरकारले घोषणा गरेको हो ।

रुसमाथिको यो पछिल्लो प्रतिबन्ध अगष्टको अन्त्यबाट लागु हुने बताइएको छ । नयाँ प्रतिबन्धमा इलेक्ट्रोनिक लगायत प्राविधिक सामानहरुको निर्यात पर्छन् ।

अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ता हिथर नार्टले अन्तर्राष्ट्रिय कानून उल्लंघन गर्दै रुसी सरकारले आफ्नै नागरिकविरुद्ध घातक रसायनिक तथा जैविक हतियार प्रयोग गरेकाले प्रतिबन्ध लगाउन लागेको बताएकी छन् ।

अमेरिकी विदेश मन्त्रालयको राज्य विभागले बुधबार एक विज्ञप्ति जारी गर्दै पूर्व जासुसमाथिको आक्रमणमा रुस दोषी देखिएकाले प्रतिबन्ध कार्यान्वयन हुने जनाएको छ ।

गत मार्चमा रुसका ६६ बर्षीय पूर्वगुप्तचर सेर्गेई र उनकी ३३ बर्षीया छोरी बेलायतको सेलिस्बरी सिटी सेन्टरमा एउटा बेन्चमा बेहोसीको अवस्थामा फेला परेका थिए । उनीहरुमाथि विषालु ग्यास आक्रमण भएको थियो । जसबाट गम्भीर बिरामी परेका उनीहरु लामो उपचारपछि निको भएका थिए ।

उक्त घटनाले ब्रिटेन र रुसको सम्बन्धमा पनि दखल पुर्याएको थियो । उक्त घटनाको आरोपमा ब्रिटेन लगायत अन्य २० भन्दा बढी देशहरुले रुसी कुटनीतिज्ञहरुलाई आफ्नो देशबाट निकाला गरिदिएका थिए ।

यो घटनापछि आक्रोसित भएको ट्रम्प प्रशासनले ६० जना रुसी कूटनीतिज्ञलाई देश निकाला गर्दै आफ्नो देशमा रहेको रुसी दूतावास नै बन्द गराएको थियो ।

विशेष गरी रिपब्लिकन सांसदहरुले रुसले अन्तर्राष्ट्रिय कानून तोडेर रसायनिक हतियार प्रयोग गरेकाले प्रतिबन्धको माग गर्दै आएका थिए । यहीबीच अमेरिकी विदेश मन्त्रालयले रुसले १९९१ को कानून तोडेको औपचारिक रुपमा बताएको हो ।

अन्तर्राष्ट्रिय कानून उल्लंघनको आरोपमा अमेरिकाले प्रतिबन्ध लगाएको यो तेस्रो घटना हो । बेलायत सरकारले अमेरिकाको उक्त कदमको स्वागत गरेको छ ।

यद्यपी रुसले कुनै पनि त्यस्ता घटनामा आफ्नो कुनै पनि प्रकारको भुमिका नभएको बताउदै सबै प्रकारका आरोपहरुको खण्डन गर्दै आइरहेको छ ।

राष्ट्रपति ट्रम्पलले भने अहिलेसम्म यो पछिल्लो कदमबारे केही प्रतिक्रिया दिएका छैनन् । जसले उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग नयाँ सम्बन्ध विकास गर्न गरेको प्रयासलाई राम्रैसँग अन्यत्र मोड्नसक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "रुसविरुद्ध नयाँ प्रतिबन्ध लगाउने तयारीमा अमेरिका"

Leave a comment