यहाँ लाग्छ बिहेको हाटबजार

तपाई हामीले हाटबजारका बारेमा त सुनेका नै छौँ  हाेला। जहाँ सामान्य रुपमा खाद्यान्न, लत्ताकपडा तथा उपभोग्य बस्तुहरुको किनबेच हुने गर्दछ । तर दुनियाँमा एउटा यस्तो ठाउँ पनि रहेको छ, जहाँ बिहेको हाटबजार लाग्ने गर्दछ ।

चीनको सांघाईको पीपुल्स स्क्वाएरस्थित पीपुल्स पार्कमा कयौँ वर्षदेखि एउटा अनौठो बिहे बजार लाग्दै आएको छ । त्यो बजारमा बिहेका सामान होइन, बरु बिहेको नाता अर्थात् जोडी उपलब्ध हुने गर्दछ ।

रिपोर्टका अनुसार सन् २००५ देखि त्यहाँ त्यस्तो बजार लाग्दै आएको छ । हरेक हप्ताको शनिबार उक्त बजारको आयोजना हुने गर्दछ । चाहे कठ्यांग्रीदो जाडो होस्, बर्षात् तथा लगातार झरी वा गर्मी नै किन नहोस्, जस्तोसुकै स्थितिमा पनि बिहेको उक्त हाटबजार लागेकै हुन्छ ।

बिहेको उक्त हाटबजार कसले शुरु गर्याे भन्ने बारेमा ठ्याक्कै थाहा नभएपनि यसबारेमा एउटा रोचक तथ्य रहेको छ । यो त्यहाँका स्थानीय मानिसहरुले मर्निङ वाकमा गर्ने क्रममा गरिएको कुराकानीकै आधारमा सुरु भएको मानिएको छ । पहिले पीपुल्स पार्कमा बिहान मर्निङ वाक गर्ने मानिसहरुको भीड हुन्थ्यो र त्यहीँ क्रममा मानिसहरु एक अर्कामा चिनजान गरी सँगै बसेर घरपरिवार र आफ्ना बिहे गर्ने उमेर पुगेका छोराछोरीहरुको बारेमा पनि चर्चा गर्दथे । विस्तारै विस्तारै मानिसहरुले यो पार्कलाई बिहेवारीको कुरा गर्ने अनौपचारिक ठाउँको रुपमा प्रयोग गर्न थाले । जुन अहिले त बिहेका लागि सम्बन्ध जोड्ने बजारको रुपमै विकसित भएको छ ।

यो बजारमा मानिसहरु सडक किनारामा एउटा कागजको पानामा चिनियाँ भाषामा विशेष रुपमा विवाह योग्य केटाकेटीको बायोडाटा लिएर बसेका हुन्छन् । त्यसमा केटा तथा केटीको उमेर, बार्षिक आम्दानी, अध्ययनको ब्यहोरा, जन्मदिन तथा जन्मकुण्डली आदिका बारेमा पनि लेखिएको हुन्छ ।
यहाँबाट विवाह योग्य केटाकेटीका आमाबुबा तथा हजुरबा हजुरआमाहरुले उक्त बायोडाटाहरु आफ्नो छोराछोरीका लागि उपयुक्त भएमा एकअर्कासँग बदलिदिने गर्दछन् । चित्त बुझेमा बिहेको कुरा अघि बढाइन्छ ।
पछिल्लो समयमा चीनमा लैंगिक अनुपात असन्तुलन भइरहेको र केटाहरुको संख्या केटीको तुलनामा अधिक भएकाले यो बजारमा मानिसहरुको भीड बढ्दै गएको र बजार चम्किदै गएको बताइएको छ ।

यो चीनमा विवाह गराउने पारम्परिक तरिका भने होइन । यसका बाबजुद यहाँ कयौँ रुढीवादी परिवारका मानिसहरु जाने गर्दछन् । जसको परिवारमा ३५, ४० वा त्योभन्दा बढी उमेरका अविवाहित बच्चाहरु हुने गर्दछन्, उनीहरुसँग त्यहाँ जानुका अलावा कुनै पनि बिकल्प नै हुदैन ।

मानिसहरु यो बजारलाई विवाहका लागि एउटा राम्रो प्लेटफर्म मान्दै आइरहेका छन्, जहाँ मानिसहरु आपसमा मिल्न सक्छन् र सम्बन्धलाई अगाडि बढाएर वैवाहित जीवनमा खुसीसाथ जिउने गर्दछन् । एजेन्सी

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "यहाँ लाग्छ बिहेको हाटबजार"

Leave a comment