कबिता: पुरुष भित्रको कू-पुरुष

सुभाष चन्द्र पोख्रेल

-शुभाष चन्द्र पोख्रेल

पुरुषभित्रको कोहि कू-पुरुष आज हिड्दैछ पशु बनी !
डराउदैछ कोपिला पनि पुष्पित नहुदै लुटिन्छुकी भनी !!

आमा आँगनमा बाबु खेतमा, दुरि छ केही माझमा !
त्यही दुरि राक्षस भो,छोरी हिड्नै नहुने भो साँझमा !!

निधारमै लेखी हिड्ने बेला भो म सज्जन हुँ भनी !
पुरुषभित्रको कोहि कू-पुरुष आज हिड्दैछ पशु बनी !!

लुटिदैछ अस्मिता कतै ,कसैको लुटिन्छ स्वाभिमान !
छोरी जात जननिकी पनि हुन जननी यत्ती अब जान !!

बुझ्दैनन कि पिपासुहरूले कुरा, या पचाउछन बुझेपनी !
पुरुषभित्रको कोहि कू-पुरुष आज हिड्दैछ पशु बनी !!

बालख अबोध, तरूण, प्रौढ -नारी लुटिन रोकिएन !
यस्ता दुषित दुश्मन मास्न- कानुन कडा तोकिएन !!

बग्दैछन बेदना आँसु अनमोल अनि सुस्केरा गनि गनि !
पुरुषभित्रको कोहि कू-पुरुष आज हिड्दैछ पशु बनी !!

डर छ सहरमा, भिडमा उस्तै , डर छ एकान्तमा झन !
गुहार-गुहार भनी चिच्याए पनि नजिक पर्दैन सज्जन !!

जोगिई आफै,जोगाइ आफ्ना ´छोरी` बाच्न कठिन छनी !
पुरुषभित्रको कोहि कू-पुरुष आज हिड्दैछ पशु बनी !!

जननी धर्ती, जननी-आमा, अडेको छ सृष्टि नारीमा !
देवता बनी डुल्न पाउन नारी मन्दिर वा खेत-टारिमा !!

दुष्टको कृत्य- कुकृत्यले सज्जनै पनि दु:खि छ नी !
पुरुषभित्रको कोहि कू-पुरुष आज हिड्दैछ पशु बनी !!

म हुँ छोरिको पिता, त्यो भन्दा पहिला हुँ आमाको छोरो !
आमाबाटनै सुरु हुन्छ सृष्टि- गंगा यो बग्दैन एकोहोरो !!

फैलियोस सज्जनता दुबो झै, बनुन अपबाद ती भक्षक !
म हुँ पहरा मेरो घर भित्र, अनि म नै हुँ समाज रक्षक !!

 

(नोट : यो कबिता बलात्कारका घटना प्रतिको आक्रोश हो तर पनि बलात्कार शब्द कबिता भर कहि पनि उल्लेख गरिएको छैन !)

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "कबिता: पुरुष भित्रको कू-पुरुष"

Leave a comment