नेदरल्याण्ड्समाथि नेपालको १ रनको रोमाञ्चक जित

नेपाल र नेदरल्यान्ड्सबीच भएको दोस्रो वान डेमा नेपालले घरेलु टोली नेदरल्याण्ड्समाथि १ रनको रोमाञ्चक जित निकाल्दै पहिलो एक दिवसीय श्रृंखला बराबरी गर्न सफल भएको छ ।

बुधबार सम्पन्न पहिलो खेलमा ५५ रनले पराजित भएको नेपालले शुक्रबार भएकाे दोस्रो खेलमा एक रनको रोमाञ्चक जित हात पारेको हो । नेदरल्याण्ड्सको एम्सटेल्भिन रङ्गशालामा भएको खेलमा पहिले टस जितेर ब्याटिङ गरेको नेपालले नेदरल्याण्ड्सलाई जितका लागि २ सय १७ रनको लक्ष्य दिए पनि नेपालले अन्तिम बलमा नेदरल्याण्ड्सलाई रोकेर सफलता हात पारेको हो ।

२१६ रनको योगफल रक्षा गर्ने क्रममा सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै तीन विकेट लिए । खेलको अन्तिम दुई ओभरमा दिपेन्द्र सिंह ऐरी र कप्तान पारस खड्काले उत्कृष्ट बलिङ गरेपछि नेपालले ऐतिहासिक सफलता प्राप्त गर्यो ।

अन्तिम बलमा दुई रनको आवश्यकता रहेको नेदरल्याण्डलाई अन्तिम बलमा पारसले फ्रेड क्लासेनलाई आउट गरेका थिए ।नेदरल्याण्ड्सलाई अल आउट गर्ने क्रममा सन्दीप लामिछानेले ३, पारस खड्का र ललित भण्डारी २–२ विकेट लिए भने सोमपाल कामी, बसन्त रेग्मी र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिए ।

ब्याटिङतर्फ नेपालले म्यान अफ दि म्याच घोषित भएका सोमपाल कामीकाे उत्कृष्ट प्रदर्शनमा ४८ दशमलव ५ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै २ सय १६ रन जोडेको थियो । सोमपालले ५ चौका र ३ छक्का प्रहार गरे ४६ बलमा ६१ रन बनाए । ८८ रन बनाउँदा ५ विकेट गुमाएको नेपाललाई पारस खड्का र सोमपाल कामीले प्रहार गरेको अर्धसतकले शुक्रबार नेपालले २१६ रनको लक्ष्य प्रस्तुत गर्न सकेको थियो । कप्तान पारस खड्काले २ छक्का तथा ६ चौका सहित ५१ रनको अर्धसतकिय पारी खेले ।

१७ बल खेलेका दिपेन्द्र सिंह ऐरी १९ रनमा आउट भएका थिए । शुक्रबार नै वान डे मा डेब्यु गरेका सुवास खकुरेल पनि १९ रनमा आउट भएका थिए ।

२१६ रन बनाउन नेपालका लागि आरिफ शेखले १६, ज्ञानेन्द्र मल्लले १३, सन्दिप लामिछाने ८, रोहित कुमार पौडेल ६, ललित भण्डारी ४ र बसन्त रेग्मीले एक रन मात्र जोडे ।

२१७ रनको जवाफी लक्ष्य पच्छाएको नेदरल्याण्ड्सले पहिलो ओभरको दोस्रो बलमै खाता नखोली स्टेफन माइबर्गलाई गुमाएको थियो । सोमपाल कामीले माइबर्गलाई आउट गरेका थिए । अर्का ब्याट्सम्यान बेन कुपरलाई ललित भण्डारीले ३० रन हुँदा आउट गरे । कुपर १९ रनमा आउट भएका थिए ।

दुई वीकेट गुमाएको नेदरल्याण्ड्सले त्यसपछि सुधारिएको प्रदर्शन गर्यो । डेनियल ब्राक र वेस्ले बारेसीले ८४ रनको साझेदारी खेले । खेलमा चम्किएका ब्राक र बास डी लिडीलाई सन्दिप लामिछानेले एकै ओभरमै आउट गर्दै नेपाललाई खेलमा फर्काएका थिए । दीपेन्द्रसिंह ऐरीले नेपाली बलरमाथि हाबी भएको वेस्ले वारेसीलाई आउट गरे ।

नेदरल्यान्ड्सका लागि वेस्ली बरेसीले सर्वाधिक ७१ रन जोडे ।  नेपालललाई अलआउट गर्ने क्रममा नेदरल्यान्ड्सका लागि क्लासेनले सुरुआती ३ विकेट लिए। माइकल रिप्पोन र पिटर सिलारले २/२ वीकेट हात पारे।

 

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "नेदरल्याण्ड्समाथि नेपालको १ रनको रोमाञ्चक जित"

Leave a comment