एप्पलले रच्यो इतिहास, १० खर्ब डलर मूल्य भएको दुनियाँकै पहिलो कम्पनी बन्यो

चर्चित आइफोन निर्माता कम्पनी एप्पल १ खर्ब डलर मूल्य भएको दुनियाँकै पहिलो सार्वजनिक कम्पनी बनेको छ ।

आइफोन निर्माता कम्पनी एप्पलको शेयर मूल्यमा भएको बढोत्तरीसँगै कम्पनीको मूल्य बिहीबार १० खर्ब डलर अर्थात् ७६७ बिलियन पाउण्ड पुगेको हो ।

कम्पनीको बिहीबारको शेयर मूल्य बढेर २०७ डलर पुगेको हो । यो बढोत्तरीसँगै कम्पनीको कूल बजार मूल्य इतिहासकै उच्च विन्दुमा पुगेको हो ।

कम्पनीको शेयर मूल्य मंगलबार नै बढिरहेको थियो, जब कम्पनीले दोश्रो त्रैमासिक अवधिको सन्तोषजनक वित्तीय प्रतिवेदन सार्वजनिक गरेको थियो ।

रिपोर्ट अनुसार पछिल्लो तीन महिनामा एप्पलले ११ अर्ब ५० करोड मुनाफा कमाएको छ । यस अवधिमा एप्पलले ५३ अर्ब ३० करोड मूल्यको व्यापार गर्न सफल भएको छ ।

अन्य ठूला कम्पनीहरु अमेजन, माइक्रोसफ्ट र फेसबुकलाई पछाडि छोड्दै एप्पल १० खर्बको आँकडा छुने दुनियाँकै पहिलो कम्पनी बनेको हो ।

सन् २००७ मा एप्पल कम्पनीको आइफोन बजारमा आएको थियो । त्यसपछि कम्पनीको शेयर मूल्यमा १ हजार १०० प्रतिशत वृद्धि भएको थियो । गत बर्ष मात्र कम्पनीको शेयर मूल्यमा करिब एक तिहाई बढोत्तरी भएको थियो ।

सन् १९७६ मा स्टीभ जब्सले पर्सनल कम्प्युटर निर्माणका लागि स्थापना गरेको एप्पल स्थापनाको ४२ वर्षमा १० खर्ब डलरको कम्पनी बन्न सफल भएको हो । कम्पनीको शेयर मूल्यमा सन् २०११ यता २ हजार प्रतिशतले वृद्धि भएको छ । सोही वर्ष जब्सलाई प्रतिस्थापन गर्दै टिम कुक एप्पलको सीईओ बनेका थिए ।

कम्पनीको स्थापनाको समयदेखि हालसम्म कम्पनीको शेयर मूल्य ५० हजार प्रतिशतले बढेको छ ।

गत बर्ष मात्र कम्पनीले २२९ अर्ब डलरको बिक्री गर्दै करिब ४८ अर्ब डलर नाफा कमाएको थियो ।

कम्पनी पहिलोपटक सन् १९८० डिसेम्बर १२ मा पब्लिक कम्पनीको रुपमा शेयर बजारमा प्रवेश गरेको थियो । पहिलोपटक कम्पनीको प्रतिशेयर मूल्य ०.५१ डलर रहेको थियो ।

सन् २०१५ मा एप्पल ७ खर्ब डलरभन्दा अधिक मूल्य भएको विश्वको पहिलो कम्पनी बन्न सफल भएको थियो ।

हाल अर्थात् सन् २०१८ मा १० खर्ब डलर मूल्यको पहिलो कम्पनी बन्न सफल भएको छ ।

सन् २००७ मा पेट्रो चाइना कम्पनी विश्वकै पहिलो १० खर्ब डलरको कम्पनी बनेको दाबी गरिएको थियो । तर कम्पनीको केवल २ प्रतिशत शेयर मात्र सर्वसाधारणका लागि जारी गरिएको अवस्थामा उक्त दाबी अविश्वसनीय देखियो । बीबीसी

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "एप्पलले रच्यो इतिहास, १० खर्ब डलर मूल्य भएको दुनियाँकै पहिलो कम्पनी बन्यो"

Leave a comment