माेफसलमा बौद्धिक सम्पत्ति चोरी घटना बढ्याे, तर मुद्दा शून्य

भानुभक्त आचार्य

मान्छेको बोलीमा मानवता छैन जहर छ
यहाँ यन्त्रिक र रूढ बन्नेहरूकै लहर छ
लासको घाँटीमा पैसाको माला देखेपछि
गरीबको बच्चालाई पनि मर्ने रहर छ

मध्यपश्मिाञ्चल गजलमञ्चका सल्लाहकार महेन्द्र चन्द महासागरका यी गजलका शेरहरू चोरी भएर अर्कै श्रृजनाकारको नाममा कृतिमा समावेश भएर आयो । त्यसको केही समय पछि घटना सार्वजनिक भयो र कृतिमा प्रतिबन्ध लगाइयो । यो त एउटा प्रतिनिधि घटना मात्रै हो । अहिले यस्ता बौद्धिक सम्पत्ति चोरी तथा प्रतिलिपि अधिकार उलंघनका घटना दिनप्रतिदिन बढ्दै गएका छन् । ‘श्रृजना तोडमोड गरी, स्रोत उल्लेख नगरी प्रकासन प्रसारण गर्नेक्रम बढिरहेको संकृतविद् पदमराज जोशी बताउछन् । ‘हाम्रो सम्पदाहरू पनि हाम्रो हातमा छैन’ जोशी भन्छन् ‘बिदेशी आँउछन् फोटो खिज्छन् अनि उस्तै दुरूस्तै बनाउँछन् ।’

श्रृजना मात्रै नभएर गीत संगीतका क्षेत्रमा प्रतिलिपि अधिकार उल्लघंनका घटना झन् बढेकोप्रति सरोकारवाहरूले चिन्ता ब्यक्त गरेका छन् । श्रष्टाहरूमा कानूनी प्रक्रियाको चेतना अभावले पनि यस्ता घटना दिन प्रतिदिन बढ्दै गएको धेरैको बुझाइ छ । रचना तथा पुस्तक प्रकाशनका लागि दर्ता गराउनुपर्ने आइएसवीएन लिन काठमाण्डौ नै जानु पर्ने हुनाले पनि यस्ता घटना मौलाएको वरिष्ठ गजलकार श्रेष्ठ प्रिया पत्थर बताउँछिन् । उनी भन्छिन् ‘आइएसवीएन राख्न न्यायालय, जिल्ला प्रसासन कार्यालय वा स्थानीय तहलाई जिम्मा दिनु पर्छ, अनि यस्ता चोरीका घटनामा कमी आँउछ । ’

केन्द्रमा बौद्धिक सम्पत्ति चोरीका घटना विरूद्ध मुद्दा दर्ता प्रक्रिया अत्याधिक भए पनि मोफसलमा त्यस्तोे पाइदैन । कानूनमा त्यस्ता घटनाका लागि स्पष्ट व्यवस्था भएपनि जानकारी अभाव अधिकांशमा पाइन्छ । कैलालीका जिल्ला न्यायधीश बिष्णु प्रशाद अर्यालले श्रष्टाले स्वस्फूर्त रूपमा उजुरी दिन सक्ने बताउँछन् । ‘एउटा उजुरी दिए मात्रै हुन्छ अरू केही गर्न पर्दैन,सरकार बादी भएर मुद्धा चल्छ, कैद सजाय जरिवाना सबै हुन्छ’ न्यायाधीस अर्याल भन्छन् ।
प्रतिलिपि अधिकार उल्लंघनका घटना बढेपनि कैलालीमा चालु  बर्षमा एउटा मुद्दा पनि यस वारेमा दर्ता भएको छैन ।

प्रविधिको विकास क्रम संगै रचनाहरू व्यवसायीकरणको प्रक्रिया बढेकाले प्रतिलिपि अधिकार उल्लंघनका घटनामा पनि वृद्धि भएको नेपाल प्रतिलिपि अधिकार कार्यालयका रजिष्ट्रार प्रकाश आचार्यले बताए । नेपालको संविधानमा प्रतिलिपि अधिकारको स्पष्ट व्यवस्था रहेकाले श्रष्टाहरूलाई कानूनको वारेमा जानकार वन्न उनले आग्रह गरे ।

कला, साहित्य, ज्ञान–विज्ञान आदि क्षेत्रका रचनाहरूको प्रतिलिपि अधिकार र यससँग सम्बन्धित ध्वनि अंकन, प्रस्तुति तथा प्रसारणको अधिकारको प्रभावकारी संरक्षण सम्बद्र्धन र विकास गर्न २०६१।०१।०७ गते नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयको स्थापना भएको हो । कार्यालयले प्रतिलिपि अधिकार ऐन, २०५९ तथा नियमावली, २०६१ अनुसार प्रतिलिपि अधिकारको संरक्षण र सम्बद्र्धन गर्न आवश्यक कामहरू गर्दे आएको छ । तर घटनाहरू भने वढ्ने क्रम रोकिएको छैन ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "माेफसलमा बौद्धिक सम्पत्ति चोरी घटना बढ्याे, तर मुद्दा शून्य"

Leave a comment