प्रयोगशाला भएपनि भारतबाट आएका तरकारीको परिक्षण यसकारण भएन

आरोग्य अभियान । झापा । झापाको बिर्तामोडस्थित कृषिथोक बजारमा विषादी अवशेष द्रुत विश्लेषण परीक्षण प्रयोगशाला स्थापना भएको एक वर्ष नाघिसक्यो । तर भारतबाट आयात गरिएका तरकारी तथा फूलको परीक्षण अझै गरिएको छैन ।

तरकारी तथा फलफूलमा विषादीको बढ्दो प्रयोग नियन्त्रण गर्न पूर्वी नेपालका उपभोक्तालाई लक्षित गर्दै सरकारले क्षेत्रीयस्तरमा झापाको विर्तामोडमा विषादी परीक्षण प्रयोगशाला स्थापना गरेको थियो । प्रयोगशाला स्थापना भएको गत मंसिरमा एकवर्ष पूरा भएको छ ।

प्रयोगशाला स्थापनापछि गरिएको नमुना परीक्षणमा भारतबाट भित्रिएका तरकारी तथा फलफूलमा विषादीको मात्रा अत्याधिक भेटिएको थियो । तर नियमित परीक्षण गरेर विषादीयुक्त फलफुल तथा तरकारी बिक्रीमा प्रतिबन्ध लगाउने तत्परता स्थानीय तहले देखाएका छैनन् ।

पूर्वी नाकाबाट विषादीयुक्त तरकारी तथा फलफूल नेपाल भित्रिरहेकै छन् । तर परीक्षणको अभाव छ । सीमा नाकाबाट विना परीक्षण तरकारी तथा फलफूल आयात हुन्छ । मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य विषादीयुक्त तरकारी तथा फलफूल आयातमा राक लगाउने गृहकार्य भइरहेको बताउँछन् ।

‘मेचीनगरको बाटो भएर कुनै विषादीयुक्त तरकारी फलफूल र खाद्यवस्तु भित्र्याउन दिइने छैन’, नगर प्रमुख आचार्यले भने, ‘यसका लागि आवश्यक तयारी भइरहेको छ । छिट्टै यो निर्णय कार्यान्वयन हुन्छ । यसमा मेचीनगर नगरपालिका प्रतिवद्ध छ ।’ कृषिथोक बजारमा परीक्षण प्रयोगशाला सञ्चालनका लागि चाहिने कार्यविधि निर्माणमा भएको ढिलाईले विषादी परीक्षण प्रयोगशाला सञ्चालनमा आउन नसकेको सरोकारवाला बताउँछन् ।

परीक्षण मेसिन भित्रिए पनि परीक्षण कार्यविधि र आवश्यक दक्ष जनशक्ति व्यवस्थापन नहुँदा तोकिएको समयमा विषादी परीक्षण गर्ने कार्य अघि बढ्न नसकेको जिल्ला कृषि विकास कार्यालय झापाले जनाएको छ । कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत प्रकाशकुमार डाँगीले औपचारिकरुपमा प्रयोगशाला सञ्चालनमा आउन अझै केही समय लाग्ने बताए ।

संघीय संरचना अनुसार प्रत्येक प्रदेशमा विषादी परीक्षण प्रयोगशाला स्थापना गर्ने भन्दै सरकारले काम अघि बढाएको थियो । प्रयोगशाला स्थापनासँगै फूलफूल तथा तरकारीमा प्रयोग भएको विषादीको मात्रा परीक्षण गर्न स्पेक्टो फोटोमिटर मेसिन पनि भित्र्याइएको छ । ‘प्रयोगशाला स्थापना भयो, विषादीको मात्रा जाँच्ने मेसिन पनि भित्रियो तर समयमा कार्यविधि नबन्दा परीक्षण गर्न सकिएको थिएन’, कार्यालयका बाली संरक्षण अधिकृत राजेन्द्रप्रसाद खरेलले भने, ‘अब छिट्टै यसको सुरुवात हुन्छ ।’

सरकारी मापदण्ड अनुसार तरकारी तथा फलफूलमा विषादीको निषेधदर ३५ भन्दाबढी हुनु हुँदैन । अझ विश्व स्वास्थ्य संगठनले निषेधदर ३० सम्म भएको तरकारी मात्रै खानयोग्य हुने बताउँदै आएको छ । तर नेपालका बजारमा अत्याधिक विषादी प्रयोग गरिएका तरकारी तथा फलफूल बिक्री हुँदै आएका छन् । केही समयअघि मात्रै भारतमा उत्पादित तरकारी तथा फलफूलमा विषादीको मात्रा सातसय गुणा बढी भेटिएको भन्दै युरोपियन र खाडी मुलुकले आयातमा प्रतिवन्ध लगाएका थिए ।

तरकारीको आयात निर्यात, उपयोग र उत्पादन हुने मुख्य बजारलाई प्राथमिकतामा राखेर विषादी परीक्षण प्रयोगशाला स्थापना भएको बाली संरक्षण अधिकृत खरेलले बताए । तर सरकारी घोषणा गफमै सीमित भएको विर्तामोडकी गृहिणी आशा कार्कीले बताउँछिन् । ‘एक पटक तरकारी परीक्षण भएको भन्ने सुनेकी थिएँ, आजभोलि त हुन छोड्यो भन्ने सुन्दैछु’, उनले भनिन्, ‘यसमा विर्तामोड नगरपालिकाले पनि ध्यान दिनुपर्ने हो ।’

कृषि विकास मन्त्रालय मातहतको बाली विकास निर्देशनालयले झापाको बिर्तामोडसहित सिराहाको लालवन्दी, बुटवल, पोखरा र धनगढीमा विषादी परीक्षण प्रयोगशाला स्थापनाको कार्य थालेको थियो । तर कार्यविधिकै अभावका कारण ती प्रयोगशालामा पनि विषादी परीक्षणको काम सुरु हुन नसकेको वरिष्ठ कृषि विकास अधिकृत डाँगी बताउँछन् ।

अहिले काठमाडौँको कालिमाटीमा मात्रै विषादी परीक्षण प्रयोगशाला सञ्चालनमा छ । ‘कालीमाटीका लागि मात्रै बनेको कार्यविधिले सबैतिर काम गर्न नसक्ने भएकाले अर्काे कार्यविधि बनाएर क्षेत्रीय तहमा प्रयोगशाला सञ्चालनमा ल्याउने गृहकार्य सरकारले गरेको हो’, डाँगीले भने । साढे तीन वर्षअघिबाट कालीमाटीमा तरकारी तथा फलफूलमा विषादीको मात्रा परीक्षण सुरु गरिएको थियो ।

भारतबाट उच्च विषादीयुक्त तरकारी आयात भइरहेको प्रयोगशाला परीक्षणले देखाएपछि क्षेत्रीयस्तरमा प्रयोगाला स्थापना गर्ने कार्य अघि बढाइएको हो । राजधानीमा अत्याधिक विषादी प्रयोग गरिएका तरकारी तथा फलफूल विक्रीमा प्रतिवन्ध लगाइएपछि त्यस्ता बस्तु राजधानी बाहिरका कृषि बजारमा बिक्री हुँदै आएको सरकारी अधिकारीहरुको अनुमान छ ।

तरकारी तथा फलफूल बिक्रेता पनि विषादीको मात्रा परीक्षण हुनुपर्नेमा जोड दिन्छन् । प्रयोगशाला स्थापना भएर परीक्षण मेसिन भित्रिसक्दा पनि सञ्चालनमा नआउनु सरकारी कमजोरी भएको फलफूल व्यवसायी शकुन्तला उप्रेतीले बताइन् । क्षेत्रीयस्तरमा तरकारीमा विषादी परीक्षण गर्न व्यावसायिक कृषि तथा व्यापार आयोजनाले सामान खरिद तथा प्रयोगशाला स्थापनाको जिम्मा पाएको थियो । यसका लागि विश्व बैंकले दुई करोड २० लाख रुपैयाँ सहयोग गरेको छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "प्रयोगशाला भएपनि भारतबाट आएका तरकारीको परिक्षण यसकारण भएन"

Leave a comment