नलेखिएको इतिहासः रिटायर्ड राजनीतिज्ञको आत्म विरेचन  !

शुभाष चन्द्र पोख्रेल

राजनीतिक आस्था र अडान कै कारण निकै लामो र कष्टप्रद जेल जीवन बिताउन बाध्य सिमित राजनीतिज्ञको सूची केलाउदा राधा कृष्ण मैनलीको नाम अग्रस्थानमै भेटिन्छ ! २०४६ सालामा प्रजातन्त्र प्राप्तिकालागी थालिएको आन्दोलन सकारात्मक निष्कर्षमा पुग्दै गर्दा अग्लो शारीरिक कदका अलावा अग्लो र आशा लाग्दो राजनितिक उचाईका साथ जनतामाझ उदाउने पात्र हुन राधा कृष्ण मैनाली  । हो उनै राधा कृष्ण मैनाली, जसको नाम नेपालको बाम आन्दोलनको कुरा गर्दा छुटाउनै मिल्दैन । शसस्त्र झापा आन्दोलनको सुत्राधार हुँदै  बाम राजनीतिमा होमिएका मैनालीको राजनीतिक यात्रा  प्रजातन्त्र प्राप्ती पछिको खुल्ला राजनीतिमा भने सरल रेखामा अंकित गर्न मिल्ने खालको रहेन ! बाम आन्दोलनमा मैनालीका समकालिन (केपी ओलि,माधव कुमार नेपाल, झलनाथ खनाल , बामदेब गौतम, सिपी मैनालि)हरू मूलधारको राजनीतिमा सकृय रहिरहँदा राधा कृष्ण मैनाली भने पछिल्लो समय राजनीतिको दर्शकमात्र बन्न पुगेका छन ।
आखिर किन त राजनीतिको  समान लयमा टिकिराख्न सकेनन् राधा कृष्ण मैनाली ? नेपालको राजनीति, अनि पात्र र प्रबृति बारे चासो राख्नेहरूकालागी केहि हद सम्मका जिज्ञासा समाधान स्वयम् राधा कृष्ण मैनाली द्वारा लिखित किताब ’नलेखिएको ईतिहास ’ ले गर्न सक्छ । नलेखिएको ईतिहास पुर्णरूपमा राजनीतिक ईतिहासको दस्तावेज होईन तर धेरैजसो पुस्तकाम्स राजननीतिक घटनाक्रमको बर्णनमा केन्द्रित छ र  पुस्तक आत्मकथा पनि होईन तर पनि धेरै बैयक्तिक कुराहरू यसमा समेटिएका छन ! त्यसैले ’नलेखिएको ईतिहास ’ को  बिधागत  बर्ग छुट्याउनु भन्दा पनि  यस भित्र बर्णित घटनाक्रम लाई नेपालको पछिल्लो पचास बर्ष को राजनीतिक ईतिहासको तुलनात्मक आध्ययनकालागी  एउटा गठिलो सन्दर्भ सामाग्री  मान्दा जाती हुन्छ ! बि स २०२८ सालको झापा बिद्रोहको फेहरिस्त लाई पुस्तक लेखन को उठान बिन्दु बनाएका मैनालिले बिभिन्न सत्र अनुच्छेदमा आफ्नो संस्मरण लाई समेट्ने प्रयास गरेका छन ।

पुस्तक : नलेखिएको इतिहास; लेखक : राधाकृष्ण मैनाली बिधा : संस्मरण

नलेखिएको इतिहासको ढाँचा र शैली भन्दा पनि यसको गुदीबारे कुरा गरौं, अहिलेको नया पुस्ता हरेक हिसाबले सामाजिक, राजनीतिक बिषयबस्तु बारे जानकार जरुरी छ तर त्यो जानकारी निकै सतही शैलीमा छ । पछिल्लो समय प्रबिधिको बिकास सँगै इन्टरनेट र सामाजिक संजालको सहज पहुँचका कारणले गर्दा ठुला ठुला राजनीति घटनाक्रम देखी शुक्ष्म सामाजिक बिषयहरू क्षणभरमै आममान्छेको आँखा अघिल्तिर पुगिहाल्छ । यस्तो अवस्थामा आजका ताजा घटना मात्र नभएर हिजोका ऐतिहासिक र राजनीतिक महत्व बोकेका कतिपय सन्दर्भमा पनि अहिलेको स्मार्ट पुस्ता सतही ज्ञानको भुलभुलैयामा तर्क गर्ने प्रवृति बढ्दै गएको सन्दर्भमा कहि न कही ऐतिहासिक दस्तावेज समेत समेटिएका   नलेखिएको इतिहास जस्ता कृति प्रकाशित हुनु सुखद् नै मान्नुपर्छ ।
नेपालको बाम आन्दोलन, झापा बिद्रोह र नेपालको राजनीतिक परिवर्तनको आलोकलाई स्वतन्त्र चस्मा बाट नियाल्न चाहने प्रत्यक मस्तिष्कलाई यो कृतीले सापेक्ष भूमिका खेल्छ भन्दा फरक पर्दैन ।  इतिहासका प्रत्यक घटनाक्रमलाई पक्कै पनि समयको छालाले कुनै बेला छेउमा पुर्याउन पनि सक्ला तर ईतिहास मेटाउन सक्ने सार्मथ्य समयको पनि हुँदैन । झापा बिद्रोह नेपालको राजनीतिक इतिहास र खास गरी नेपालको कम्युनिष्ट आन्दोलनको कुरा गर्दा छुटाउनै नमिल्ने घटना हो ।  झापा बिद्रोहको बैशिष्ट्य र औचित्यका बारेमा अनेक अनेक तर्क  हुन सक्लान् , तत्कालिन घटनालाई बिश्लेषण गर्ने चस्मा ’साम्यवादी र समाजवादी’ आँखा अनुसार फरक फरक हुन सक्लान् तर नजर अन्दाजको भरमा झापा बिद्रोह ओझेल पर्ने घटना हुँदै होईन । त्यस अर्थमा झापा बिद्रोहका शुत्रधार  मध्यका एक हस्ती राधा कृष्ण मैनाली पनि त्यो समय को अभिन्न हिस्सा हुन् ।
बिशेष घटनाको नेतृत्व गर्ने पात्र स्वयम ले उक्त घटनाको ईतिहास खोतल्न खोज्दा स्वभाबिक रूपमा अलिकती राजनीतिक चेत भएका पाठकले त्यसभित्र राजनीतिक आकांक्षाको ’आदि, मध्य र अन्त्य’को सैद्दान्तिक शिलशिला अपेक्षा गर्नु स्वभाबिक हो । तर मैनालिले  झापा बिद्रोहको उठानलाई पहिलो अनुक्षेदमा अनुमोदन गरेपनी उक्त ईतिहास लाई सकेसम्म संश्लेषण गरेर अरू समसामयिक घटनामा बरालिन हतार  गरेका छन ! झापा बिद्रोहको जग बाट स्थापित सिमित नेताहरू  मध्ये राधाकृष्ण मैनाली पनि एक हुन त्यस अर्थमा आज सम्म उच्च राजनीतिक  तहबाट त्यती मिहिनतापुर्वक नउधिनेको राजनितिक घटनाक्रम लाई सैद्दान्तिक , सामाजिक र भौगोलिक परिवेशको त्रीबेणिमा दाँजेर बिश्लेषण गर्नकालागी मैनाली आफैमा सुत्राधार मात्र नभएर भरपर्दो श्रोत समेत हुन सक्थे ! झापा बिद्रोहको प्रतिछायाँ सकारात्मक र नकारात्मक दुबैखाले भएका कारणले होला सायद मैनालीले पुस्तकको सुरु मै भनेका छन  यस्तो लेख्न हुन्थेन कि ?’
राजनितिक कोर्ष र सामाजिक रूपान्तरण ले निकै फराकिलो फेरो समातिसकेको बर्तमान अवस्थामा बिद्रोहको पुरानो घाउलाई सके सम्म कम सम्झने चेष्टा हुन सक्छ सायद  मैनाली को ! यद्दपी जम्मा बाईस पृष्ठमा समेटिएको झापा बिद्रोह खण्डमा  मोर्चा गठन,सदस्यता बितरण, नेतृत्व चयन, राज्य दमन, नेतृत्वमा देखापरेको अन्तरद्वन्द र त्यसबखत भारतिय कम्युनिष्ट पार्टी (माले) सँगको सम्बन्ध लगायतका महत्वपुर्ण कुराहरू ले सम्क्षिप्त नै सही शिलशिलेवार स्थान  पाएका  छन। आत्मकथा स्वरूपको कृती लेखिरहदा त्यस भित्र लेखकका बैयक्तिक आरोह अबरोह हरूको प्रबेष अपेक्षितनै हुन्छ ! अत मैनालिले पनि पुस्तकको माझखण्डमा आफ्नो बाल्याबस्था , शिक्षा , राजनीतिक आस्था र यात्रा ,कठोर जेल जीवन  लगायत अनेकन भोगाइलाई आफ्नो सम्झनाको सन्दुकबाट बाहिर ल्याएका छन । मैनालिले उल्लेख गरेका धेरैजसो सन्दर्भहरूमा उनको राजनीतिक आस्था र यात्राकै  शिलशिला जोडिन आईपुग्छु !  चौबिस पच्चिस बर्षको यूवा बय देखी झण्डै चार दशक सम्म देशको सकृय राजनीतिमा लागेका ब्यक्तीले लेखेको ’ संस्मरण’ मा  राजनीतिक घटनाक्रमले स्थान पाउनु अपेक्षित नै हो ।
उनले चौध बर्षभन्दा बढी समय  जेलमा बिताएका छन् । झापा  बिद्रोहको उठानदेखि आजका दिनसम्म  कुनै न कुनै पक्षको  कौशीमा घाम तापेकै छन् । यस अर्थमा मैनाली पनि समकालिन राजनीतिज्ञ मध्य औसत सफलता भोगेका पात्र हुन भन्दा फरक पर्दैन । तर उनको हकमा  राजनीतिक आयामको औसत आकार भित्र पनि तीनवटा अलग अलग क्षितिज देखाउने घुम्ती बनेका छ्न् । झापा बिद्रोह (बिस २०२८देखी प्रजातन्त्र प्राप्ती २०४६ ४७ सम्मको अवधी मैनालिका लागी साच्चै उनले किताबमा वर्णन गरेझै नै  स्पाती थियो, कठोर थियो  । त्यो कठोर कालखण्ड सहन गर्न सकेकैले मैनालिले आफुलाई प्रखर बाम नेताका रूपमा चिनाउने मौका पाए  ! राजनीतिक यात्र को पहिलो खण्डमा मैनालीले गरेको संघर्षको ऐतिहासिकता र उनि स्वयम ले गरेको बर्णनमा कहिपनी आत्मरती को गन्ध भेटिदैन । झापा बिद्रोह देखी प्रजातन्त्र प्राप्ती सम्मको उन्नाईस बर्षे अवधिलाई मैनालिले जसरि बर्णन गरेका छन  त्यस कालखण्डकालागी मैनाली प्रतीको बुझाई आम तहमा सायद उनले बर्णन गरेभन्दा पनि उच्च थियो ।
मैनालीको राजनीतिक यात्रामा दोश्रो घुम्ती हो २०५४ सालामा तत्कालिन नेकपा एमाले बिभाजन । त्यसबेला एमाले फुटाउने  कार्यमा वामदेव गौतम जत्तिकै आक्रोशित र उत्तेजित अर्को पात्रको नाम लिनुपर्दा राधा कृष्ण मैनालीकै आउँछ । एमाले फूटाएर नेकपा माले पार्टी बनाउनकालागि अरु धेरै नेता गणको सहयोग थियो तर मैनाली र गौतमले पार्टी फूटाएर नयाँ पार्टीको नेता बन्ने कसम नखाएको भए सायद अरु नेताहरूको चाहनाले मात्र एमाले विभाजन हुने थिएन ।  तत्कालिन एमाले को विभाजनले स्वयम उक्त पार्टिलाई त  कमजोर बनायो नै साथै उक्त बिभाजको बाछिटाले नेपालको समग्र राजनीति र संसदीय प्रणालिमा ’दलाली’ चरीत्रले झनै संगठित हुने  मौका पायो ! २०४८ सालपछी सत्ता प्राप्तिकालागी जुनसुकै हत्कण्डा अपनाउन पछी नपर्ने नेपाली काँग्रेस र बिषेश गरी गिरिजा प्रसाद कोईरालाको राजनीतिक चरीत्रले देश लाई  जती अस्थिरताको दलदलामा धकल्यो त्यो अस्थिरताको दलदल लाई मलजल गर्ने काम तत्कालिन नेकपा एमालेको बिभाजनले पनि उत्तिकै ग‍र्याे ! एउटा उदियमान राजनीतिक दल दुई चिरामा बाँडिदाको च्याँखे  दाउ  सुर्यबहादुर थापा र लोकेन्द्र बहादुर चन्द लगायतका नबसंगठित पूर्व पञ्चहरूले सिंहदरबारको मौलो समाउने  दाउ पाए ।
पुर्व पञ्चहरू त्यती चाँडो  चोख्खिएर मूलधारको राजनीतिमा आउन पाउनुमा तत्कालिन  नेकपा माले को ठुलो भूमिका छ । र उक्त परिवेशको निर्माणमा  मैनालिको  भूमिका पनि स्वभाबिक रूपमा थियो नै  तर त्यस बखतको राजनीतिक बेमेल बारे मैनालिले महाकाली संन्धीको कारणले पार्टी बिभाजन भएको र त्यसले एमाले, माले दुबै पार्टिलाई  अहित गरेको निचोड त निकालेका छन तर  त्यो  कालो ईतिहासलाई न त धेरै तन्काउन खोजेका छन न त उनि ब्यक्तिगत रूपमा आत्माआलोचनाको निचोडमा छन ! पार्टी फुटको अन्तर्यलाई जम्मा दुई पेजमा सिमित नगरि अझ सपाट र बिव्यच्य रूपमा राखेको भए नलेखिएको इतिहास अझ मजबुत हुन सक्थ्यो ।
मैनालिको राजनीतिक जीबनको तेश्रो र अति पेचिलो मोड भनेको तत्कालीन राजा ज्ञानेन्द्र शाहको अध्यक्षतामा  बनेको मन्त्री परिषदमा शिक्षा मन्त्री बनेर  ज्ञानेन्द्रको प्रतक्ष शासकिय मोहमा साक्षी बन्नु । अत्यन्त असफल राजननीतिक उक्साहटको रूपमा परिणत भएको ज्ञानेन्द्र शाहको तत्कालिन कदमका बारेमा मैनालिले सर्वजनिक रूपमा स्विकार गरिरहेकै कुरा हो “ ज्ञानेन्द्र लाई पत्याउनु मेरो ठुलो भुल थियो“ । तत्कालिन नेकपा एमाले र माले एकिकरण हुँदा माधब कुमार नेपालको आस्वासन मान्नु र शाही शासनको अभिष्ट बोकेका ज्ञानेन्द्रको सतही योजना लाई छिट्टै पत्याउनु राजनीतिक जीवनका दुई महाभुल भएको कुरा उनले आफ्ना अभिब्यक्ती  र लेखन मार्फत पटक पटक ईङित गरेका छन । अझ ज्यादा आत्माआलोचना त ज्ञानेन्द्र को कू मा सामेल भएकोमानै गरेका छन ।
राजाको सरकारमा सामेल भएको एक महिनामै आफुहरू गहना का रूपमा मात्र प्रयोग भएको  भेउ पाउन सक्ने मैनालीले तत्कालनै शाही सरकारबाट बाहिरिने आट देखाउन सकेको अवस्थामा मात्र उनले राजाको सरकार शिर्षक मा उठाएका अनेक आलोचनात्मक टिप्पणिको औचित्य साबित हुने थियो । जनआन्दोलनको बलबाट ज्ञानेन्द्र सरकार च्युत नहुँदासम्म सरकारमा पनि बस्ने अनि आज आएर त्यही समयको सख्त आलोचना पनि गरिरहँदा कतै बिरोधाभाष भयो कि भन्ने लाग्छ । मुलतः यी तीन मोड बाहेक मैनालीको राजनीतिक र सामाजिक जीवनमा अरु कैयन सुखद र बिषद  अनुभवहरू छन र ती अनेकन सन्दर्भ यस पुस्तक भित्र समावेश छन पनि । मैनालीले उठान गरेका धेरैजसो बिषयबस्तुले  नेपालको कम्युनिष्ट आन्दोलन, पात्र र प्रबृतिकै बारेमा ज्यादा आलोचना र चिरफार गरिएको छ । त्यसैले गैर कम्युनिष्ट खेमाका पाठक बर्गलाई लाग्न सक्छ  मैनालीले खुलेर आलोचना गर्ने आट जुटाएकै हुन् ।

मैनालीले उठान गरेका धेरैजसो बिषयबस्तुले  नेपालको कम्युनिष्ट आन्दोलन, पात्र र प्रबृतिकै बारेमा ज्यादा आलोचना र चिरफार गरिएको छ ! त्यसैले गैर कमुनिष्ट खेमाका पाठक बर्गलाई लाग्न सक्छ  मैनालिले खुलेर आलोचना गर्ने आट जुटाएकै हुन् ।

तर बिगत त बर्तमान कम्युनिष्ट धार माथी सद्धभाब राख्ने  पाठकको नजरबाट भने मैनालिले आफु राजनीतिक मूलधार बाट ओझेल हुनुपर्दाको कुण्ठा किताबमा पोखेकाछन्झ भन्ने आरोप लगाउन मिल्ने ठाँउ कतै कतै छोडेका छ्न् ।  मैनालिले टिप्पणी गरेका पात्र र परिघटना मध्य एउटा पात्र को नाम छुटाउन मिल्दैन, त्यो नाम हो चन्द्र प्रकाश (सिपि) मैनाली ।  नाताले सहोदर भाइ परेपनी बैचारिक हिसाबली यो पुस्तकमा सबैभन्दा बडी शल्यक्रिया उनै सिपी मैनालिकै बारेमा गरिएको छ । भाइ सिपीका बारेमा दाइ आरके ले गरेको बिष्लेषण आजका दिनसम्म मिलेकै छ , सँगसँगै आरके ले सिपीलाई लगाएको  “जडता र संकृणता“को आरोप  स्वयम उनलाई लगाउन किन नमिल्ने ? किनकी नेपालको बाम आन्दोलनमा आफ्नो उर्जाबान समय खर्चिएका यी जोडी आज देशका माउ बाम घटक एउटै छातामा समेटिन लाग्दै गर्दा उनिहरु बम राजनीतिको हिस्सेदार होइनकि मात्र दर्शक बन्ने अबस्था आउँदै छ । तसर्थ बाम आन्दोलनको अभियन्ता प्रमाणित गर्नकालागि एकपटक स्वयम् आफैंलार्इ र आफ्ना सीमाहरुलार्इ पनि समिक्षाको कसिमा राखेर हेर्ने कि !

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "नलेखिएको इतिहासः रिटायर्ड राजनीतिज्ञको आत्म विरेचन  !"

Leave a comment