चिनियाँ रेल कि जनता झुक्याउने चलखेल ?

पुस ४ गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रसुवाको केरुङ पुगेर भने, ‘हो ! यहीँबाट रेल आउँछ ।’ त्यसको एक हप्ता नबित्दै ओलीका चुनावी गठबन्धनका सहयात्री माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नाकाबन्दीताका तेल तस्करी अखडाका रुपमा चर्चित चितवनको ठोरी पुगेर भने, ‘हो ! यहीँसम्म आउँछ चिनियाँ रेल !’ एकजनाले उद्घाटन र अर्काले समापन गरे जसरी ।

संविधान निर्माणको समयमा दाहाल लगायत मधेशवादी दलहरुसहितले ओलीलाई मानसिक रोगीको उपमा दिँदै उपचारका लागि आग्रह गरेका थिए । तिब्बती नाकामा ओलीले गरेका अभिव्यक्ति दाहालहरुले विगतमा लगाएको आरोप अनुसार उनको आफ्नो स्वास्थ्यस्थितिका आधारमा थियो भने पनि दाहाललाई त त्यो बाध्यता पनि थिएन । तैपनि किन गरे यस्ता ‘हावा’ कुरा ?

दुबै नेताको केटाकेटी खेल देखेर दुनियाँ चकित छ । कुनै भौतिक पूर्वाधार र योजना बिना स्वरैकल्पनामा आकाश तर्फ फर्केर कुर्लिएका यस्ता नेता देखेर पूर्वाधारविज्ञ र योजना विद्हरुलाई काउकुति लागेको छ । नेपाली जनतालाई उल्लू सम्झिएर जे भने पनि हुने भन्ने मानसिकता बोकेका यी नेताका ‘भिजन’ देखेर छिमेकी शासकहरु लाजले हाँसेका होलान ।

विनोदी आश्वासनले जनतालाई कमेडी
स्थानीय निकायको चुनावमा सबैतिर ‘स्मार्ट’ को चर्चा चल्यो । काठमाडौंका मेयर विद्या सुन्दरले काठमाडौंमा दुई वर्षमा स्मार्ट रेल चलाउनेदेखि स्मार्ट ट्वाइलेटसम्मका आश्वासन बाँडे । उनको कुरा सुनेका दुर्गम गाउँका स्थानीय तहका उम्मेदवारले पनि आ–आफ्ना गच्छे अनुसार स्मार्टकै कुरा गरे । गाउँका गाउँ फ्री वाइफाई, घरघरमा वृद्धभत्ता लगायतका नारा उराले ।

स्थानीय निकायको निर्वाचन पश्चात प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा पनि नेपाली जनताले उस्तै आश्वसान पाए । ‘केटाकेटीलाई घरघरमा दुधका बोतल’ र ‘अफ्रिकन युवतीका गाला जस्ता सडक’ आदिआदि विनोदी आश्वसानसम्म नेपाली जनताले सुन्न भ्याए । उनीहरुका विकासका भाषण जनताका लागि विश्वसनीयता भन्दा पनि कमेडी बन्दथ्यो । कमेडी चलचित्र हिट हुने नेपाली बजारमा नेताहरु पनि चुनावमा केवल हास्य कलाकारका रुपमा स्थापित भए । चुनावमा गरेका बाचा (जो धरातलीय यथार्थ भन्दा भिन्न थिए) का आधारमा अझै पनि मतदान गरेर जिताउने हामी जनतालाई पनि कतै यस्तै ‘र्यूमर’ मा रमाउने बानी पर्न थालेको पो हो कि !

गर्ला त चिनियाँ रेलले नेपालको विकास !
‘बेल्ट एन्ड रोड इनिसिएटिभ(बिआरआइ)’ परियोजना अन्तर्गत संसारलाई एउटै सूत्रमा जोड्न चाहिरहेको बेला चीनले नेपाललाई दक्षिण एसियाको एउटा ट्रान्जिटका रुपमा प्रयोग गर्न खोजिरहेको छ । उसको लक्ष्य नेपाल नभएर दक्षिण एसिया हो । अझ नेपालसँग खुल्ला सीमा रहेको भारत नै उसको गन्तब्य हो । चीन अरबौं जनसंख्या भएको भारतमा व्यापार गर्न चाहान्छ । नेपालको विकासका लागि चीनले रेल ल्याइदिँदैछ जसरी नेपाली नेताले गरिरहेको प्रचार नै गलत छ । विश्व इतिहासमा कहिँ पनि बिदेशी आएर देश बनाइदिएको इतिहास नै छैन । मलेसिया, सिंगापुर, जापान लगायतका बिकसित मुलुक के बिदेशी गएर बनाएका होलान् ?

युवा जनशक्तिलाई विदेश पठाएर रगत पसिनाको रेमिट्यान्स डकारेर सिन्को नभाँची गर्ने यस्ता नेताको निर्लज्ज भाषणको कुनै तुक छैन । आफ्नो देशमा फलामको सियो पनि बनाउने आँट नगर्ने, देश विकासका लागि, जनता र देशको संमृद्धिका लागि मिलेर स्थायी राजनीतिक सहमति नखोज्ने र विदेशीको उक्साहटमा आफ्नो निहित स्वार्थका लागि ‘जे पनि’ गर्न पछि नपर्ने, १ महिना, २ महिना ९ महिना भएपनि मन्त्रीे÷प्रधानमन्त्री बन्ने प्रवृतिले देश अझै ५० औं वर्ष पछि पर्ने देखिन्छ ।

एउटा मेलम्ची परियोजना बनाउन हामी नेपालीले मेलम्चीका परिकल्पनाकार तथा तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई पछि कति जना प्रधानमन्त्री फटाइसक्यौं ? अझै काठमाडौंवासीले कति वर्ष कुर्नुपर्ने हो थाहा छैन । किनकी राजधानीवासीका धारामा पानी नखसेसम्म नेताले गरेका र मिडियामा आएका समाचारका आधारमा विश्वास गर्ने आधार छैन । पानी आउने आशामा काकाकुल काठमाडौंले अब पानीको आश गर्र्न छाडेको छ । आधाभन्दा धेरै बनिसकेको मेलम्चीको त स्थिति यस्तो छ भने साम्यवाद जस्तै कल्पनामा मात्र सिमित रहेको चिनियाँ रेल काठमाडौं–पोखरा–लुम्बिनी हुँदै फेरि पछिल्लो पटक ठोरी तिर पनि बाङ्गिने कुरामा कति विश्वास गर्ने ?

चिनियाँ रेल नेताको मागी खाने भाँडो !

भारतीय टाटाका गाडी नै चल्ने स्थिति नभएको नेपाली बाटोमा रेल कुदाउने सपना जनताको सम्वेदनशीलतामाथिको निर्मम प्रहार भन्दा केही होइन । स्थानीय निर्वाचनमा काठमाडौंवासीलाई बाँडिएको आश्वासन र चुनाव जितेपछिको काठमाडौं स्वरुपमा केही फरक छैन । प्रतिनिधिसभा र प्रदेशसभामा आकाशको तारा झार्ने उम्मेदवारका आश्वासन र मानव तस्करले अवोध चेलीलाई वैदेशिक रोजगारका नाममा मुम्बइ पुर्याउने सपना उस्तै देखिन गएको छ । चिनियाँ रेल ल्याउन हामी के पूर्वाधार बनाउँदै छौं ? त्यसमा हामी कति दृढ छौं ? एउटा सरकारले सुरु गरेका परियोजना ६ महिना पछि बदलिने अर्को सरकारले रद्द गर्छौं कि गर्दैनौं । यस्ता कुरामा नेताहरुको प्रतिवद्धता जनताले चाहेका छन् ।

पहिलो कुरा त रेल ल्याउने भन्दा पनि स्वदेशमै रेल बनाउने भन्ने हुनुपर्ने हो । त्यो भन्दा पनि पहिलो प्राथमिकता नेपाली सडकलाई व्यवस्थित बनाउने हो । अझ यसलाई फराकिलो बनाउने हो । देशका दुर्गम स्थानसम्म पुग्न सडकको सञ्जाल पुर्याउनु हो । जुम्लाको जडीबुटी केचनामा एकैदिनमा पुर्याउने व्यवस्था गर्नुपर्ने हो । मोरङको रंगेलीमा फलेको धान मुस्ताङको स्याउसँग साट्ने व्यवस्था मिलाउनु पर्ने हो ।

के भन्ने के गर्ने ?

नेपाली नेताहरुले चुनावी विनोदी आश्वासन भन्दा जे गर्न सकिन्छ त्यो जनतालाई भन्नुपर्दछ । स्थानीय स्रोत साधनको प्रयोग गरी त्यहाँका जनताको जीवनस्तर उकास्न कुन कुरा आवश्यक हो सोको व्यवस्थापन कसरी गर्न सकिन्छ, त्यसतर्फ ध्यान दिनुपर्दछ । कृषि र विज्ञानको समुचित प्रयोग गरी कृषि उत्पादकत्व बढाउनु पर्दछ , त्यसको बजारको व्यवस्थाका बारेमा योजना बनाउनुपर्दछ । सक्ने आश्वासन दिन र दिएका आश्वासन जसरी पनि पुरा गर्ने राजनेताको अहिले खाँचो छ नकि आश्वासनका बेलुनमा रेल र स्मार्टका कुरा ।

आत्मनिर्भर अर्थतन्त्रको विकास नगरी कुनै पनि मुलुक विदेशसँग नाका खोल्दैमा समृद्ध हुन सक्दैन भन्ने ख्याल गर्न जरुरी छ । नेपाली जनताले प्रत्यक्ष अनुभुत हुने विकास नै अहिलेको आवश्यकता हो । पनातिका पालामा पनि नबन्ने रेल र स्मार्ट सिटी भन्दा वर्षामा हिलो र हिउँदमा धुलो नउड्ने सडक नै अहिलेको आवश्यकता हो । अझ सबैभन्दा मुख्य कुरा जनतालाई अरु केही चाहिँदैन । निःशुल्क शिक्षा र स्वास्थ्यको मात्र व्यवस्था मात्र गरे देशले काँचुली नै फेर्छ । तर विडम्वना, यसतर्फ भने कोही नेताले अहिलेसम्म सोचेकोसम्म छैन ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "चिनियाँ रेल कि जनता झुक्याउने चलखेल ?"

Leave a comment