दोस्रो चरणको मतदानका लागि सुरक्षा चुनौती बढेको पर्यवेक्षकको ठहर

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको दोस्रो चरणको मतदानका लागि सुरक्षा चुनौती बढेको निर्वाचन पर्यवेक्षकहरुले बताएका छन् । स्थानीय तहको निर्वाचन र प्रदेश तथा प्रतिनिधिसभाको पहिलो चरणको निर्वाचन पर्यवेक्षण गरेका राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक), आम निर्वाचन पर्यवेक्षण समिति (जियोक) तथा शान्ति, न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल (संकल्प) ले निर्वाचनप्रति मतदाताको उत्साहलाई निर्वाचन विरोधी हिंसाले चुनौती दिएको शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर जानकारी गराएका हुन् ।

पत्रकार सम्मेलनमा पूर्वनिर्वाचन आयुक्त तथा नियोकका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको पहिलो चरणमा मतदाताको उत्साह अत्यधिक देखिएको बताउनुभयो । उहाले निर्वाचन प्रचारप्रसार र मतदानका क्रममा राजनीतिक दल, उम्मेदवार र नेता तथा कार्यकर्तामा सद्भाव देखिएको बताए ।

स्थानीय तहको निर्वाचनमा भन्दा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको पहिलो चरण मंसिर १० मा भएको मतदानका क्रममा बढी सुरक्षा खतरा देखिएको र दोस्रो चरणमा सुरक्षा खतरा अझै बढ्नसक्ने उनीहरुले आंकलन गरेका हुन् ।

त्यस्तै पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले पछिल्लो समय उम्मेदवार लक्षित गरेर भएका बम विस्फोटले मतदातामा भय पैदा गर्ने बताए । सरकार र निर्वाचन आयोगले मतदातालाई ढुक्कसँग मतदान गर्न र उम्मेदवारहरुलाई निर्धक्क प्रचारप्रसार गर्ने वातावरण बनाउनुपर्नेमा उनले जोड दिए । केन्द्रीय निर्वाचन पर्यवेक्षकका रुपमा नुवाकोटमा पर्यवेक्षण गरेका डा. समिरमणि दीक्षितले मतदानको दिन सुरक्षाकर्मीले राम्रो प्रदर्शन गरे पनि अझै सुधार हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "दोस्रो चरणको मतदानका लागि सुरक्षा चुनौती बढेको पर्यवेक्षकको ठहर"

Leave a comment