जनता भन्छन् खानेपानी, नेता भन्छन् राजधानी

सुनसरी । सुनसरी क्षेत्र नम्बर १ का उम्मेदवारले धरान बजारलाई राजधानी बनाउने मुख्य चुनावी मुद्दा बनाइरहेको सन्दर्भमा यहाँका जनताले भने खानेपानीको माग गरेका छन् ।

सुनसरी क्षेत्र नम्बर १ मा वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार जयकुमार राई र लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार अशोक राईले धरान बजारलाई प्रदेश नम्बर १ को राजधानी बनाउने विषयलाई पहिलो चुनावी मुद्दा बनाएका छन् ।

तर जनताले भने राजधानीभन्दा पनि बाटो÷घाटो, पुल, खानेपानी, रोजगारी, स्वास्थ्य र शिक्षालाई पहिलो मागका रूपमा अघि सारेका छन् । “अहिले हाम्रो नभई नहुने आवश्यकता भनेको सडक हो, यही सडक राम्रो भएको खण्डमा गाउँको उत्पादन धरान बजारसम्म पु¥याउन सकिन्छ, आम्दानी गर्न सकिन्छ, सजिलोसँग शहरसम्म पुग्न सकिन्छ” – धरान उपमहानगरपालिका–४ शिवजट्टाका प्रेमलाल राईले भने ।

धरान उपमहानगरपालिका–४ शिवजट्टाका धीरन राईले यहाँ अहिले हामीलाई खानेपानीको समस्या छ, यही पानीको व्यवस्था भएको खण्डमा राम्रोसँग कृषि उत्पादन गर्न सकिन्छ भने ।

प्रेम र धीरन जस्तै धरान उपमहानगरपालिकाका अधिकांश जनताको माग खोलामा पुल, बाटो र खानेपानीमा जोड दिएका छन् । वाम गठबन्धनका उम्मेदवार राईले आफूले जितेको खण्डमा मात्र धरान १ नम्बर प्रदेशको राजधानी बन्न सक्ने दाबी गरे। सुनसरीमा आगामी मंसिर २१ गते चुनाव हुँदैछ । राई नेकपा (एमाले) जिल्ला सदस्य एवं धरान सहइञ्चार्ज छन्।

अशोक संघीय समाजवादी फोरमका वरिष्ठ नेता छन्। त्यसैले लोकतान्त्रिकका साझा उम्मेदवार अशोक राईले ऐतिहासिक रूपले नै धरान राजधानी रहेको हुँदा अब संघीयतामा पनि १ नम्बर प्रदेशको राजधानी बनाउने बताए ।

प्रदेशसभा (क) मा वाम गठबन्धनको तर्फबाट एमालेका जिल्ला सचिवालय सदस्य एवं धरान इञ्चार्ज प्रदीप भण्डारी र प्रदेशसभा (ख) मा एमालेका प्रभावशाली नेता केन्द्रीय सचिव एवं पूर्व पर्यटनमन्त्री भीम आचार्य छन्।

त्यसैगरी लोकतान्त्रिक गठबन्धनबाट प्रदेश (क) मा नेपाली काँग्रेस धरानका निवर्तमान सभापति किशोर राई र प्रदेशसभा (ख) मा पनि लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका पूर्वजिल्ला सचिव बुद्धिबहादुर कटवाल उम्मेदवार छन्।

धरान उपमहानगरपालिकासहित सुनसरीको निर्वाचन क्षेत्र नं १ लाई नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) को पकटका रूपमा हेरिन्छ । यो क्षेत्रमा पहिलो संविधानसभा (२०६४) र त्यसपछिका सबै निर्वाचनमा माओवादी र एमाले नै विजयी हुँदै आएको छ ।

यो क्षेत्रमा अन्य क्षेत्रीय पार्टीबाट पनि उम्मेदवारी छ । २०७० मा एमाले पहिलो, काँग्रेस दोस्रो र माओवादीले तेस्रो मत पाएको थियो भने तत्कालीन संघीय समाजवादी पार्टीले तीन हजार ५०० को हाराहरीमा मात्र मत पाएको थियो ।

गएको स्थानीय तह निर्वाचनमा हालको निर्वाचन क्षेत्र १ मा एमालेको ३० हजार, काँग्रेसको २४ हजार, माओवादी केन्द्रको १५ हजार र समाजवादी फोरमको पाँच हजार हाराहारीमा मत पाएको थियो । रासस

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "जनता भन्छन् खानेपानी, नेता भन्छन् राजधानी"

Leave a comment