प्रदेश नं. ४ मा सहज छैन शीर्ष नेतालाई

गोरखा । प्रधानमन्त्री बनिसकेका, पटकपटक प्रधानमन्त्रीका लागि प्रतिस्पर्धा गरेका, बारम्बार मन्त्री भएका, युवा नेतादेखी ‘डन’को समेत पहिचान बनाएका उम्मेदवार प्रदेश–४ का जिल्लामा चुनावी मैदानमा छन् । उनै चर्चित उम्मेदवारका कारण ती जिल्लाको निर्वाचन परिणामप्रति धेरैको चासो छ । लोकतान्त्रिक र वाम गठबन्धनबाट उम्मेदवार बनेका ‘हेभीवेट’ नेताको हारजितको आकलन अहिले धेरैतिर चलिरहेको छ ।

माओवादी छाडेर नयाँ शक्तिको संयोजन गरेका डा. बाबुराम भट्टराई र अर्का नेता नारायणकाजी श्रेष्ठका कारण गोरखा सबैभन्दा बढी चर्चामा छ । दुवै नेता चर्चित भएका कारण उनीहरुमध्ये कसले जित्ने भन्नेमा अनुमान गर्न सहज छैन । त्यस्तै तनहुँ कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका कारण चर्चामा छ । पटकपटक प्रधानमन्त्रीको दाबेदार बनिसकेका पौडेलका लागि पार्टीको आन्तरिक गुटवन्दीले अप्ठयारो पारिदिएको छ ।

युवा नेता रवीन्द्र अधिकारीका कारण कास्कीले थोरै भएपनि चर्चा बटुलेको छ । स्याङ्जा पनि हेभीवेट नेता गोपालमान श्रेष्ठका कारण अन्यत्रको तुलनामा चर्चामा छ । मनाङमा ‘डन’ उम्मेदवारको रुपमा चिनिएका दिपक मनाङे (राजीव गुरुङ) का कारण सबैतिर चर्चा चलिरहेको छ । पार्टीभित्र हाई प्रोफाइल बनाए पनि निर्वाचनमा आफ्नो पक्षमा जित दर्ता गर्न हेभीवेट र चर्चित नेतालाई सहज नभएको विश्लेषक बताउँछन् ।

पृथ्वीनारायण क्याम्पसका राजनीतिशास्त्रका प्राध्यापक कपिलमणि दाहाल ४ नं. प्रदेशभित्रका कुनै पनि शीर्ष नेतालाई निर्वाचनमा आफ्नो पक्षमा परिणाम ल्याउन सहज नभएको बताउँछन् । ‘पार्टीभित्र जति नै बलियो भए पनि मतदाताको मन पगालेर आफ्नो पक्षमा भोट तान्न नेतालाई फलामको च्युरा चपाएसरह छ,’ उनले भने, ‘प्रतिस्पर्धा बढेकाले सहजै भन्न सकिन्न । यसपटक वाम दलबीचको गठबन्धनले पनि थोरै फरक पार्न सक्छ ।’ नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "प्रदेश नं. ४ मा सहज छैन शीर्ष नेतालाई"

Leave a comment