छ्याङ्दी हाइड्रोको आईपीओमा संस्थागत लगानीकर्ताले आवेदन गर्न नपाउने

छ्याङ्दी हाइड्रोपावर कम्पनी (CDHL) ले निष्काशन गरेको साधारण सेयर (आईपीओ) मा संस्थागत लगानीकर्ताले आवेदन गर्न नपाउने भएका छन । धितोपत्र बोर्डले प्राकृतिक व्यक्तिको मात्रै आवेदन लिन कम्पनीको शेयर बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलाई निर्देशन दिएको छ ।

धितोपत्र बोर्डले जारी गरेको धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ मा संगठित संस्थाले प्रारम्भिक सार्वजनिक निष्काशन मार्फत जारी गरेको शेयर खरिदका लागि प्राकृतिक व्यक्तिले मात्र दरखास्त दिन सक्ने व्यवस्था गरेको छ । तर पुरा बिक्री नभएमा मात्र अन्यले पनि दरखास्त दिन पाउनेछन ।

यसै व्यवस्थाका आधारमा संस्थागत लगानीकर्ताको आवेदन नबुझ्न बोर्डले निर्देशन दिएको ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । साथै बुधबारसम्म आवेदन गरेका संस्थागत लगानीकर्ताको आवेदन विहीबार बाटै फिर्ता गरिने पनि क्यापिटलले जनाएको छ ।

छ्याङ्दी हाइड्रोपावर कम्पनीले जेठ १४ गतेबाट ५ करोड ४० लाख रुपैयाँ बराबरको पाँच लाख ४० हजार कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो ।

जसमध्ये कम्पनीले १० हजार ८ सय कित्ता कर्मचारीलाई र २७ सय कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ । सर्वसाधारणले ५ लाख २६ हजार ५ सय कित्ताका लागि आवेदन गर्न पाउनेछन ।

छ्याङ्दीको हाइड्रोमा तीनदिनसम्ममा एक अर्ब बढीको आवेदन परेको क्यापिटलले जनाएको छ ।

कम्पनीको सेयरमा कम्तिमा ५० कित्तादेखि अधिकतम २७ सय कित्ता सम्म आवेदन गर्न पाइनेछ । जेठ १४ गतेबाट विक्री खुला भएको आइपीओमा छिटोमा जेठ १८ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
यसअघि लमजुङ जिल्लाका आयोजना प्रभावितका लागि छ्याङ्दी हाइड्रोले दुई लाख ७० हजार कित्ता साधारण सेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ ।

लमजुङको फलेनी र वन्सार गाविसको मध्य भागमा रहेको छन्दी खोलामा निर्माण सम्पन्न भएको २ मेगावाट क्षमताको जलविद्युत आयोजनाले नियमित विद्युत उत्पादन सुरु गरी केन्द्रिय प्रशारण लाइनबाट विद्युत बितरण गरिरहेको छ । उसले ४ मेगावाटको अपर छ्याङ्दी आयोजना समेत निमार्ण गर्दैछ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "छ्याङ्दी हाइड्रोको आईपीओमा संस्थागत लगानीकर्ताले आवेदन गर्न नपाउने"

Leave a comment