नयाँ स्टक एक्सचेञ्ज खोल्न नदिन अघि सरे नेप्सेका कर्मचारी

नेपाल स्टक एक्सचेन्ज(नेप्से)का कर्मचारीले नयाँ स्टक एक्सचेन्ज खोल्न नदिन सरोकारवाला निकायमा दबाब दिन थालेका छन । नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्ज खोल्न दिने सैद्धान्तिक सहमति जनाएपछि नेप्सेका कर्मचारीले अर्को स्टक एक्सचेञ्ज आवश्यक नरहेको भन्दै यसलाई रोक्न दवाब सुरु गरेका हुन ।

नेप्सेका कर्मचारीले उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा, गभर्नर डा.चिरञ्जिवी नेपाल, राजश्व सचिव राजन खनाल र धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीलाई लाई भेटेर ज्ञापनपत्र बुझाएको एक कर्मचारीले मेरो लगानीलाई जानकारी दिए ।

कर्मचारीले बुझाएको ज्ञापनपत्रमा दुई वटा स्टक एक्सचेन्ज बनाउने प्रक्रियामा झण्डै १८ अर्ब रुपैयाँ भन्दा बढीको सरकारी सम्पत्ति (नेप्से) जोखिममा पर्ने उल्लेख गरिएको छ । उनीहरुले नाफामा रहेको कम्पनीलाई धरासायी पारेर नयाँ स्टक एक्सचेन्ज खोल्नु दिनु न्यायोचित नहुने बताएका छन्।

साथै उनीहरुले नेप्से अन्तर्रािष्ट्रिय स्तरको भएन भन्ने आरोप निराधार भएको बताएका छन ।

हालसालै सार्वजनिक भएको वित्तीय क्षेत्र विकास रणनीतिमा पनि नेपाल स्टक एक्सचेन्जको निजीकरण गर्ने विषय उल्लेख गरिएको र नेप्सेको निजीकरण गर्न अर्थ मन्त्रालय, राष्ट्र बैंक र धितोपत्र बोर्डलाई समयसीमा तोकिएको अवस्थामा नेप्सेको निजीकरण प्रक्रिया अगाडि नबढाई अर्को एक्सचेञ्ज ल्याउन खोजेको भन्दै नेप्सेका कर्मचारीले आपत्ति जनाएका हुन।

छिमेकी मुलुक भारत र चीनमा अर्बौको कारोबार भएपनि दुईवटा मात्रै स्टक एक्सचेन्ज रहेको बताउँदै नेपालमा सानो कारोबारमा अर्को कम्पनी आवश्यक नरहेको उनीहरुको भनाई छ।

स्टक एक्सचेन्जहरुको एकीकरण विश्वव्यापी लहर चलिरहेका बेला नेपालमा भने उल्टो गंगा बगाउन खोजिएको आरोप नेप्सेका कर्मचारीले लगाएका छन ।

‘नयाँ स्टक एक्सचेञ्ज खोल्ने प्रक्रियाले नेप्सेले सेबोनलाई टेरेन भन्ने आधारमा अर्को एक्सचेन्ज ल्याउन खोेजिएको हो भने त्यसले विकृति विसंगतिलाई थप मलजल गर्नेछ’, नेप्सेका कर्मचारीले बुझाएको ज्ञापनपत्रमा भनिएको छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "नयाँ स्टक एक्सचेञ्ज खोल्न नदिन अघि सरे नेप्सेका कर्मचारी"

Leave a comment