अनलाइन कारोबार प्रणाली ब्रोकरका लागि निल्नु न ओकल्नु

सुरेन्द्र थापा । आगामी आर्थिक बर्षको सुरुवातदेखि नै सेयर किनबेचमा पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली लागु गर्न नेप्सेले सेयर दलाल कम्पनीहरुलाई डेटा सेन्टर र डिजाष्टर रिकभरी सेन्टर तयार गर्न निर्देशन दिएको छ । तर सिमित स्रोत साधनमा संञ्चालनमा रहेका ब्रोकर कम्पनीका लागि यो प्रणाली निल्नु न ओकल्नु हुने भएको छ ।

नेप्सेले आगामी साउनदेखि अनलाइन कारोबार प्रणाली सञ्चालन गर्न विहिबारदेखि परीक्षण समेत गरिसकेको छ । नेप्सेले विभिन्न ५ सेयर दलालहरु छनौट गरी ’मोक ट्रेडिङ्ग’ (ख्यालख्यालको कारोबार) सुरू गरेको छ । ’मोक ट्रेडिङ्गको सफल परिक्षण पश्चात ’युजर एसेप्टेन्स टेस्टिङ्ग’ (यूएटी) परीक्षण सुरु गर्ने र प्रणालीमा आवश्यक सुधार गरी पूर्ण संचालनमा ल्याउने तयारी नेप्सेको छ ।

नेप्सेले अर्थमन्त्रालयको निर्देशन अनुसार ’यूएटी’ परीक्षणका लागि विश्वव्यापी बोलपत्र खोलेर कम्पनी छनौटको प्रकृया समेत सुरु गरिसकेको छ । नेप्सेमा अनलाइन कारोबार प्रणाली कहिलेदेखि सुरु होला भनेर सेयर लगानीकर्ताहरु ब्यग्र प्रतिक्षारत छन् ।

तर अहिले आएर ब्रोकर कम्पनीहरुका लागि भने यो प्रणाली निल्नु न ओक्लनु भएको छ । सिमित स्रोत साधनमा संञ्चालनमा रहेका ब्रोकर कम्पनीहरुलाई अनलाइन कारोबार प्रणालीको सुविधा प्रदान गर्न मात्रै एकै पटक झण्डै डेढ करोड खर्च गर्नु पर्ने अवस्था आएको छ । यसले ब्रोकर कम्पनीहरु रुनु न हास्नुको अवस्थामा पुगेका छन् ।

नेप्सेले सेयर दलाल कम्पनीहरुलाई दिएको निर्देशन बमोजिम डेटा सेन्टर र डिजाष्टर रिकभरी सेन्टर तयार गर्न नै झण्डै डेढ करोड खर्च गर्नुपर्ने देखिएको छ ।अनलाइन कारोबार प्रणालीका लागि ब्रोकर कम्पनीले कम्तिमा चार जना कर्मचारी नियुक्त गर्नुपर्ने हुन्छ । जसका लागि मासिक ३५ हजारको तलब दिदा पनि एक लाख ४० हजार खर्च बढ्ने देखिन्छ ।

ब्रोकर कम्पनीहरुले डेटा सेन्टर निमार्णका लागि झण्डै ८० लाख र डिजाष्टर रिकभरी सेन्टर तयार गर्न थप ४० लाख रुपैयाँ गरी एक करोड २० लाख भन्दा बढी रकम तत्काल खर्च गर्नुपर्ने भएको छ । ‘रिर्मोट वर्क स्टेशन’ समेत तोकिएको मापदण्ड अनुसार चलाउन मुस्किल परेको दलाल कम्पनीहरुलाई एकै पटक झण्डै डेढ करोडको आर्थिक भार थाम्ना सक्छन कि सक्दैनन् त्यो प्रतिक्षाको बिषय बनको छ ।

के के मा कति खर्च गर्नुपर्छ डेटा सेन्टरका लागि ?

ब्रोकर कम्पनीहरुले डेटा सेन्टर स्थापना लागि सर्भर सिस्टमका लागि करिब ५० लाख खर्च गर्नुपर्ने हुन्छ । यसभित्र एप्लिकेशन सर्भर, डेटा बेश सर्भर र प्रोक्सी सर्भर रहेका छन् । फायरवायर, नेटवर्क सिस्टम, स्विच, र्याक, पावर सिस्टम, कुलिङ सिस्टम समेतका लागि गरेर झण्डै ९० लाख रुपैयाँ लगानी गर्नुपर्ने छ भने डिजाष्टर रिकभरी सेन्टर तयार गर्न थप ६० लाख भन्दा बढी रकम खर्च गर्नुपर्ने भएको छ ।

ब्रोकर भन्छन्, हामीलाई गुमराहमा राखियो

अनलाइन कारोबार प्रणाली संचालनमा ल्याउन ब्रोकरहरुले डेढ करोडसम्म लगानी गर्नुपर्ने अवस्था आयो नी भन्ने मेरोलगानीको जिज्ञासामा एक ब्रोकरले यो कुरा सुन्दा आफुलाई आश्चर्य लागेको बताए । डेटा सेन्टर र डिजाष्टर रिकभरी सेन्टर निमार्ण गर्न डेढ करोडसम्म खर्च लाग्ने कुरा हामीले सुनेका छौ । साच्चै लाग्ने हो होईन एकिन भईसकेको छैन । अहिलेको अवस्थामा ब्रोकर कम्पनीको मासिक खर्च नै पाँच लाख भन्दा बढी छ । अनलाइन आएपछि खर्च दोब्बर हुन्छ । यस्तो अवस्थामा थप डेढ करोड लगानी गर्न मुस्किल छ । उनले भने ।

यहीबेला धितोपत्र बोर्डले ब्रोकरको पूँजी बढाएको छ, कतिपयले बाहिर शाखा पनि संञ्चालन गरेका छन् । अहिले आएर फेरी यति धेरै रकम लगानी गर्न तत्काल सबैलाई सहज नहुने उनको भनाई छ ।

ती ब्रोकरले नेप्सले अनलाइन कारोबार प्रणालीको निमार्ण गर्न दश करोड खर्च गरेर झण्डै दुई बर्ष लगायो । यो अवधिमा ब्रोकरहरुले केही गर्नु पर्दैन भनियो, अहिले आएर एकाएक डेटा सेन्टर र डिजाष्टर रिकभरी सेन्टर निमार्ण गर भनेर दुई बर्षसम्म गुमराहमा राखियो । यो ब्रोकरलाई असफल बनाउने प्रयास गरियो उनले भने । ५० ब्रोकरले अब एकैपट झण्डै ७५ करोड कहाँबाट लगानी गर्ने उनले प्रतिपश्न गरे ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "अनलाइन कारोबार प्रणाली ब्रोकरका लागि निल्नु न ओकल्नु"

Leave a comment