श्रमिकको वार्षिक औसत उत्पादकत्व १ लाख १८ हजार

काठमाडाैं । नेपालमा श्रमिकको वार्षिक औसत उत्पादकत्व रु एक लाख १८ हजार १०८ रहेको छ । प्रदेश ३ को उत्पादकत्व राष्ट्रिय औसतको तुलनामा १५४.३ प्रतिशत रहेको छ भने प्रदेश ७ को उत्पादकत्व राष्ट्रिय औसतको तुलनामा सबैभन्दा न्यून ६४.६ प्रतिशत रहेको छ । अन्य प्रदेशमध्ये प्रदेश २ बाहेकका प्रदेशको उत्पादकत्व राष्ट्रिय औसतभन्दा कम रहेको छ ।

काठमाडाैंको उत्पादकत्वलाई १०० मानी अन्य क्षेत्रका श्रमिकको उत्पादकत्वलाई तुलना गर्दा ती क्षेत्रका श्रमिकको उत्पादकत्व अत्यन्त न्यून रहेको देखिन्छ । काठमाडौँमा काम गर्ने एक श्रमिकले जति उत्पादन गर्दछ सो बराबरको वस्तु तथा सेवा उत्पादन गर्न कर्णाली प्रदेश र प्रदेश ७ मा ४ जना भन्दा बढी श्रमिक आवश्यक पर्ने देखिन्छ भने प्रदेश १, २, ४ र ५ मा ३ जना जति आवश्यक पर्ने देखिन्छ ।

विसं २०६८ को जनगणनाअनुसार देशको कुल जनसंख्या दुई करोड ६४ लाख रहेको छ । उक्त जनसंख्यालाई प्रदेशगत रुपमा विभाजन गर्दा प्रदेश ३ मा सबैभन्दा बढी २०.९ प्रतिशत र कर्णाली प्रदेशमा सबैभन्दा कम ६.१ प्रतिशत मानिस बसोवास गर्छन् ।

प्रदेश २ बाहेक अन्य प्रदेशको लैंगिक अनुपात १०० भन्दा कम रहेको छ । यस्तो अनुपात प्रदेश ४ मा सबैभन्दा कम ८४.३ प्रतिशत रहेको छ । जनघनत्वको हिसाबले हेर्दा सबैभन्दा बढी जनघनत्व प्रदेश २ मा ५५९ जना प्रति वर्ग किमी रहेको छ भने सबैभन्दा कम कर्णाली प्रदेशमा ५१ जना प्रति वर्ग किमी छ ।

क्षेत्रफलको हिसाबले कर्णाली प्रदेश सबैभन्दा ठूलो २१.७ प्रतिशत छ । यो प्रदेशको क्षेत्रफल प्रदेश २ को भन्दा तीन गुणा बढी रहेको छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "श्रमिकको वार्षिक औसत उत्पादकत्व १ लाख १८ हजार"

Leave a comment