प्रदेशका आर्थिक क्षमतामा ठूलो अन्तर,प्रदेश ३ को आर्थिक हैसियत अन्य प्रदेशभन्दा सबल

काठमाडौँ, जेठ ३० देशका सात प्रदेश कुल गार्हस्थ्य उत्पादनमा प्रदेशगत अंशको अन्तर ठूलो रहेको छ । सबै तहका सरकारले मातहतका क्षेत्रभित्र दिगो आर्थिक तथा सामाजिक विकासका कार्यहरु अघि बढाउन आवश्यक नीतिहरु तर्जुमा लागि नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको प्रतिवेदनमा त्यस्तो अन्तर देखाएको हो ।

सरकारी, अर्ध–सरकारीलगायत अन्य निकायबाट प्राप्त तथ्यांक एवं सूचनाका आधारमा यो प्रदेशगत प्रोफाइल तयार गरिएको हो । प्रतिवेदनअनुसार प्रदेशगत अर्थतन्त्रको आकारको भिन्नताको अंश ३१.९ प्रतिशतदेखि .।१ प्रतिशतको बीचमा छ ।

प्रदेश ३ को आर्थिक हैसियत अन्य प्रदेशभन्दा सबल छ । यस प्रदेशले कुल गार्हस्थ्य उत्पादनमा ३१.९ प्रतिशत हिस्सा ओगटेको देखिन्छ । कुल गार्हस्थ्य उत्पादनमा दोस्रो ठूलो योगदान गर्नेमा प्रदेश १, तेस्रोमा प्रदेश २, चौथोमा प्रदेश ५ र पाँचौमा प्रदेश ४ रहेका छन् । त्यसैगरी, कुल गार्हस्थ्य उत्पादनमा प्रदेश ७ ले ६।३ प्रतिशत र कर्णाली प्रदेशले सबैभन्दा कम अर्थात् ४.१ प्रतिशत हिस्सा ओगटेको छ ।

कृषि, उद्योग र सेवा क्षेत्रमा समेत प्रदेशगत योगदानको अन्तर व्यापक रहेको देखिन्छ । कृषि क्षेत्रमा प्रदेश १ सबैभन्दा बलियो छ । समग्र कृषि क्षेत्रमा उक्त प्रदेशको अंश २१.५ प्रतिशत छ भने कर्णाली प्रदेशको अंश सबैभन्दा न्यून ६.० प्रतिशत छ ।

उद्योग क्षेत्रमा प्रदेश ३ सबैभन्दा माथि छ भने उद्योग क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा उक्त प्रदेशको अंश ३१ प्रतिशत छ । उद्योग क्षेत्रमा कर्णाली प्रदेश र प्रदेश ७ अत्यन्त कमजोर देखिएका छन् । उद्योग क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा प्रदेश ७ को अंश ३.९ प्रतिशत र कर्णाली प्रदेशको अंश ३.३ प्रतिशत रहेको छ ।

सेवा क्षेत्रमा प्रदेशगत अंशको अन्तर अझ ठूलो रहेको छ । समग्र सेवा क्षेत्रको उत्पादनमा प्रदेश ३ को अंश ४४.५ प्रतिशत छ भने कर्णाली प्रदेशको अंश ३।० प्रतिशत मात्र छ । समग्रमा, कृषि, उद्योग र सेवा क्षेत्रमा कर्णाली प्रदेशको हिस्सा सबैभन्दा न्यून रहेको देखिन्छ ।

केन्द्रीय बैंकका अनुसार मानव विकास प्रतिवेदन २०१४ का अनुसार नेपालमा ३९.९ प्रतिशत जनसंख्या आर्थिक रुपले सक्रिय रहेको देखिन्छ । प्रदेश २ बाहेक अन्य प्रदेशमा आर्थिक रुपले सक्रिय जनसंख्या राष्ट्रिय औसतभन्दा बढी छ भने प्रदेश २ मा यस्तो संख्या न्यून अर्थात् ३१.० प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "प्रदेशका आर्थिक क्षमतामा ठूलो अन्तर,प्रदेश ३ को आर्थिक हैसियत अन्य प्रदेशभन्दा सबल"

Leave a comment