मोदीको हत्याको षडयन्त्रः के हो त यसको वास्तविकता?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हत्या गर्ने षडयन्त्रको चर्चा यतिबेला मिडिया र सोशल मिडियामा तीव्र भइरहेको छ । तर त्यसलाई पुष्टि गर्ने प्रमाण भने पर्याप्त छैन, जसबाट उक्त कुरालाई आधिकारीक र प्रमाणिक मान्न सकियोस् ।

केही व्यक्तिलाई पक्राउ गरिएको छ र उनीहरुबाट बरामद चिठ्ठीबाट नक्सलवादी (भारतीय माओवादी) ले मोदीको हत्या गर्ने योजना बनाएको भनेर दावी गरिएको पाइएको छ ।

यस मामलामा राजनीतिक बयानबाजी जारी रहेको छ । जहाँ बीजेपी र विपक्षी पार्टीका नेताहरुले एक अर्कामा राजनीति गरेको आरोप लगाइरहेका छन् । तर आधिकारीक रुपमा पर्याप्त जानकारी प्राप्त नभएको बताइएको छ ।

दिल्लीमा सोमबार प्रधानमन्त्रीमाथि माओवादीको हमलाको षडयन्त्रलाई लिएर गृहमन्त्रालयले आन्तरिक सुरक्षाको समीक्षा गरेको छ ।

मोदीको हत्या षडयन्त्रको चर्चासँगै गत सोमबार भारतमा सुरक्षा समितिको बैठक बसेको थियो । गृहमन्त्री राजनाथ सिंहले राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, गृहसचिव र विशेष व्यूरोका निर्देशक लगायत बैठकमा सहभागी थिए ।

पक्राउ गरिएका मानिसहहरुलाई माओवादीहरुको सम्पर्क सूत्र र उनीहरुको शहरी नेटवर्कको हिस्सा बताइएको थियो र उनीहरुसँग जुध्नका लागि एउटा योजना पनि तयार गरिएको बताइएको छ ।

महाराष्ट्र प्रहरीका अनुसार पूर्वप्रधानमन्त्री राजीव गान्धीको जस्तै मोदीको हत्या गर्ने षडयन्त्र माओवादीले गरेको छ । सन् १९९१ को मेमा तमिलनाडुको श्रीपेरम्बदुरमा आत्मघाती बम विष्फोट गराइ भारतका पूर्वप्रधानमन्त्री राजीव गान्धीको हत्या गरिएको थियो ।

पत्रमा यस्तो लेखिएको छ
गत जनवरीमा भीमा कोरेगाउँमा भएको हिंसाका क्रममा पक्राउ परेका पाँच जनामध्ये रोना ज्याकब विल्सनको दिल्लीस्थित घरबाट हत्याको षडयन्त्रसम्बन्धी पत्र फेला पारिएको हो । सो पत्रमा भारतीय जनता पार्टी (भाजपा) ले बिहार र पश्चिम बंगालमा हारे पनि १५ भन्दा बढी राज्यमा जितेको भन्दै चिन्ता व्यक्त गरिएको छ । ‘कमरेड प्रकाश’ लाई सम्बोधन गर्दै सो पत्रमा लेखिएको छ, ‘मोदी राज अन्त्य गर्नका लागि कमरेड किशन र केही अरू वरिष्ठ कमरेडहरूले ठोस कदम चाल्न सुझाव दिनुभएको छ । हामी राजीव गान्धीको हत्या गरिएजस्तै योजनाबारे विचार गरिरहेका छौँ ।’

प्रहरीका अनुसार माओवादीको पत्रमा थप लेखिएको छ, ‘यो आत्मघाती कदम पनि हुन सक्छ र असफल पनि हुन सक्ने आशंका पनि छ । तर पार्टीको पोलिटब्यूरोले यसबारे छलफल चलाउनुपर्छ ।’

सो पत्र महाराष्ट्र प्रहरीले पुणेस्थित विशेष अदालतमा पेस गरेको छ ।

तर प्रमुख प्रतिपक्षी कांग्रेस आईले भने यस दावीलाई चर्चामा आउने मेलोमात्र भनेको छ ।

कांग्रेस आईका नेता सञ्जय निरूपणले मोदी र भाजपाको लोकप्रियता घट्दा यस्ता प्रचारबाजी गर्ने गरिएको दावी गरेका छन् । बीबीसी

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "मोदीको हत्याको षडयन्त्रः के हो त यसको वास्तविकता?"

Leave a comment