थोत्रो गाडीले प्रदेशमा हैरानी, सभामुखकाे गाडीमा एक्कासी अागाे लाग्दा पानीले निभाइयाे

भानुभक्त आचार्य, कैलाली । दिनहुँजसो पटकपटक गाडी बिग्रिने समस्याका कारण प्रदेशका सभामुख तथा उपसभामुख हैरान भएका छन् ।

प्रदेश सभामुख तथा उपसभामुखले प्रयोग गर्ने गाडीमा कहिले स्टार्ट नै नहुने, कहिले बीच बाटोमा इन्जिन बन्द हुने लगायतका समस्या दोहोरिने गरेको छ ।

आइतबार धनगढी उपमहानगरपालिका वडा नम्बर ५, हसनपुरस्थित पञ्चोदय माध्यामिक विद्यालयमा आयोजित एक कार्यक्रममा सहभागी बन्न गएका सभामुख अर्जुनबहादुर थापा चढेको से १ झ २३४ नम्बरको गाडी फर्किने क्रममा स्टार्ट नै हुन सकेन ।

गाडी बिग्रेपछि सभामुख थापा सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीको गाडीमा ‘लिफ्ट’ मागेर प्रदेश सभाको आफ्नो कार्यकक्ष पुगेको उनका स्वकीय सचिव कविन्द्र रोकायाले बताए ।

‘हामीले मुख्यमन्त्री, आन्तरिक मामिला तथा कानुनमन्त्री र कैलालीका प्रमुख जिल्ला अधिकारीलाई गाडीको अवस्थाबारे जानकारी गराएपछि बा १ झ ९१७७ नम्बरको गाडी पठाइएको थियो’ सभामुखका स्वकीय सचिव रोकायाले भने– ‘तर त्यो गाडी स्टार्ट गर्न खोज्दा धुँवा आउन थाल्यो ।’

उनले त्यो गाडीमा पानी हालेर आगो निभाएको बताए । सभामुखले प्रयोग गर्ने एउटा गाडी पञ्चोदय स्कूलमा थन्किएको छ भने अर्को सभामुखको निवासमा रहेको छ । सभामुख थापाले जस्तै उपसभामुख निर्मला वडाल जोशीले पनि पटकपटक गाडी बिग्रने समस्या भोगिराखेकी छिन् ।

‘मैले चढ्ने गाडीमा एसी लगायतको कुनै सुविधा नै छैन’ उनले भनिन्– ‘एक दिन त कञ्चनपुरको गुलरियामा गाडी बिग्रेपछि एकजनाको मोटरसाइकलमा धनगढी फर्किएँ ।’ प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले सभामुखका लागि तत्कालै अर्को गाडी व्यवस्था गर्ने बताए ।

प्रमुख जिल्ला अधिकारी रिजालले संघीय सरकारले प्रदेशका लागि थोरै गाडी पठाएकोले गाडी व्यवस्थापनमा समस्या परेको बताए । उनले अझै कम्तिमा नौ वटा गाडी आवश्यक परेको बताए ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "थोत्रो गाडीले प्रदेशमा हैरानी, सभामुखकाे गाडीमा एक्कासी अागाे लाग्दा पानीले निभाइयाे"

Leave a comment