अब चन्द्रमामा फल्नेछ आलु, फुल्नेछ फूल

चन्द्रमामा मानव बस्ती बसाउने भनिएसँगै अब त्यहाँ खेतीपाती गर्ने योजना पनि भइरहेको छ । अब चन्द्रमाको जमिनमा छिट्टै नै चीनले आलु फलाउने र फूल फुलाउने योजना बनाएको छ ।

खबरका अनुसार चीनले यसै बर्ष अर्थात् सन् २०१८ मा चन्द्रमामा आफ्नो पहिलो जैविक अनुसन्धानको रुपमा चांग इ फोर लुनार यानको माध्यमबाट त्यहाँ आलू, एक प्रकारको फूलको बीज तथा रेशम कीराको अंडाणु पठाउने योजना बनाइरहेको छ । रिपोर्टका अनुसार उक्त अनुसन्धानको माध्यमबाट चन्द्रमाको वातावरणमा नयाँ सम्भावनाको खोजी गर्नु हो । आलु, अरबीडोफिसिस जातको फूलको बीउ र रेशम किराको अण्डाबाट यसको सुरुवात हुनेछ ।

दक्षिण पश्चिमी चीनको चांगकिंग विश्वविद्यालयको नेतृत्वमा चीनका २८ वटा विश्वविद्यालय मिलेर यो योजना तयार गरेका हुन् । लुनार मिनी बायोस्फेयर नामक उक्त योजनामा नेदरल्याण्ड, स्वीडेन, जर्मनी र साउदी अरबका साइन्टिफिक पेलोड्सहरुलाई पनि उक्त यानमा राखेर चन्द्रमामा पठाइनेछ ।

चीनको योजना एउटा बेलनाकार टिनमा फूल, आलु र अन्य चीज पठाउने रहेको छ । यो टिनको बक्स करिब १८ सेमी लामोर गोलाई १६ सेमी रहेको छ । यो टिन एक विशेष प्रकारको आल्मुनियम धातुबाट बनाइएको छ ।

उक्त बेलनकार डिब्बामा पानी, बोटविरुवाका लागि आवश्यक पोषक पदार्थ, हावा, एउटा सानो क्यामेरा र डेटा ट्रान्समिशन सिस्टम पनि हुनेछ । चन्द्रमामा आलु फल्ने तथा बिउ उम्रिएर फूल पनि फुल्ने विश्वास वैज्ञानिकहरुको रहेको छ । उनीहरुको यस योजनाको सम्पूर्ण जैविक प्रक्रियालाई क्यामेरामा कैद गरेर पृथ्वीमा पठाउने बताइएको छ ।

यद्यपी अन्तराष्ट्यि अन्तरिक्ष केन्द्रमा उसअघि नै बिरुवा उमार्ने काम भइसकेको छ । तर चन्द्रमामा यस्तो काम पहिलोपटक गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "अब चन्द्रमामा फल्नेछ आलु, फुल्नेछ फूल"

Leave a comment