‘सिकारु’ कर्मचारीका कारण प्रदेश सभा संचालनमा सकस

 

भानुभक्त आचार्य । धनगढी । सात नम्बर प्रदेशमा प्रदेश सभा संचालनका लागि अनुभवी कर्मचारको अभाव खड्किएको छ । अस्थायी दरबन्दी अनुरुपका कर्मचारी सचिवालयमा पुगेका छैनन् भने उपलब्ध कर्मचारी मध्ये एक जना पनि संसदीय अभ्यासमा अभ्यस्त छैनन् । सिमित कर्मचारी त्यसमा पनि सम्बन्धित बिषयमा पोक्त नहुँदा समस्या उत्पन्न हुने देखिएको छ ।

प्रदेश सभा सचिवालयमा ६ जना मार्यादापालक सहित २८ जनाको र दरबन्दी रहेपनि हालसम्म २२ जना कर्मचारी मात्रै उपस्थित छन् । त्यसमध्य ६ जना मर्यादापालक हुन् । सचिवालयमा सचिव लगायत १६ जना कर्मचारीहरु छन् । तर एकजान पनि संसदीय अभ्यासमा अनुभवी होइनन् ।

संघीय संसद सचिवालयबाट आएका कर्मचारी पुनः राजधानी फर्किएपछि प्रशासन सेवाबाट आएका कर्मचारीहरुको भरमा संसद संचालन भइरहेको छ । कामको प्रकृति फरक परेको प्रदेश सभा सचिवालयका सचिव बालाराम शर्माले बताए । उनले भने ‘हामी पनि अनुभवि हो तर यो बिषयमा होइन ।’

प्रदेश सभा सचिवालय अन्तरर्गत रहेका तीन वटा शाखामा पनि अनुभवी कर्मचारीको अभाव छ । प्रशासन शाखा र कार्य व्यवस्था शाखा एउटै उपसचिव हरि बखतीले चलाइरहेका छन् । कानुन शाखामा उपचिवको दरबन्दी छ तर कानुन अधिकृतको भरमा चलिरहेको छ ।

कार्यव्यवस्था समिति अन्तरर्गत रहेको प्राबिधिक उपशाखामा पनि आवश्यक र विज्ञ कर्मचारी छैनन् । प्रदेश सरकार विधेयक पेस गर्ने चरणमा पुगेपनि संसदीय बिषयमा अनुभवी कर्मचारी नहुँदा प्रदेश सभा सदस्यहरु पनि अन्योलमा छन् ।

संसदीय अभ्यास भएका कर्मचारी नहुँदा प्रदेश सभा संचालनमै समस्या आउने स्थित उत्पन्न हुन लागेको प्रदेश सभा सदस्य भरत बहादुर खड्काले बताए । उनले भने ‘अन्योल कै बीच संसद चलिरहेको छ ।’ संघीय संसद् सचिवालयले प्रदेशको सुरु बैठक सञ्चालन गर्न सातै प्रदेशमा सहसचिवको नेतृत्वको ४ कर्मचारी खटाएको थियो । सहसचिवहरू १५ दिन र अन्य कर्मचारी एक महिना बसेर फिर्ता भए ।

संसदीय सचिवालयका कर्मचारी फिर्ता भएपछि प्रशासनिक सेवाका कर्मचारीले काम गरिरहेका छन् । अनुभवि कर्मचारी नहुदा समस्या उत्पन्न हुने देखिएको प्रदेश सातका सभामुख अर्जुन बहादुर थापाले बताए ।

प्रदेश सातमा ६ वटा प्रदेश सभाका बैठक सम्पन्न भइसकेका छन् । पहिलो तीन बैठक संघीय संसद सचिवालयबाट आएक कर्मचारीहरुले संचालन गरे भने हाल प्रशासनिक सेवाका कर्मचारीले सभा संचालन गरिरेका छन् । प्रदेश संचालनका लागि अनुभवि कर्मचारीको माग गर्दै प्रधानमन्त्रीलाई पत्रसमेत लेखेको सभामुख थापाले भने ।

सभामुख, उपसभामुखदेखि कर्मचारीसमेतमा अनुभव कमी भए प्रदेशसभा सञ्चालन प्रभावकारी नहुने बताइन्छ । प्रदेश सभाले गति लिइरहेका बेला अनुभबि कर्मचारीको अभाव भने खड्किरहेको छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "‘सिकारु’ कर्मचारीका कारण प्रदेश सभा संचालनमा सकस"

Leave a comment