वैदिक समाजशास्त्र, साहित्य र दलित चिन्तन

अहिलेसम्म प्रमाणित इतिहासको कुनै पनि कालखण्डमा मानवीय र सामाजिक समानताको उदाहरण देख्न पाइँदैन । समानता भन्दा पनि सामूहिक चेतना र सामूहिक प्रयासबाट मानव सभ्यताको विकासक्रम अगाडि बढेको तथ्य हो । सभ्यताका अनेकौं खुट्किलाहरू पार गर्दै मानव समाज आज यहाँसम्म आइपुगेको छ ।

मानव सभ्यतालाई समाजशास्त्रीय कोणबाट हेर्दा हामीले इतिहासको कालखण्डमा थुप्रै उतारचढावहरू पाउँछौं । समाज भन्ने बित्तिकै मानिसहरूको समूह हो र त्यहाँ इतिहासदेखि आजसम्म समानताको अभाव देखिन्छ । प्रविधिको विकासले गर्दा वर्तमान विश्व बिस्तारै एउटा चौतारीको रूपमा परिणत हुँदैछ तर अझै पनि यही विश्व भित्र अडेको मानव समाजभित्र वर्गीय असन्तुलनको पर्खाल कायमै छ ।

बिषय प्रवेश :
जसरी समाजशास्त्रको मूख्य सरोकार सामाजिक जगत, जगत प्रति उसको अनुकुलता र समाजलाई परिवर्तन गर्ने इच्छा हुन्छ, साहित्यको सरोकार पनि यस्तै हुने गर्दछ । परिवार, सामाजिक संस्था एवम् विभिन्न समुदाय भित्र आ–अफ्नोे भूमिकाको साथसाथ एक किसिमको अन्तरसङ्र्घष पनि निरन्तर रहेको छ । समाजको प्रतिविम्बको रूपमा साहित्यको अध्ययन तथा लेखकको सामाजिक सन्दर्भ समाजशास्त्रीय कोणसम्म मात्र सीमित छैन यसले उच्चतम् कौशलको अपेक्षा पनि गरेको हुन्छ । आलोचकको दृष्टिकोणमा साहित्यको हद आफैंभित्र बाँधिएको र आत्मनिर्भर रचनाको रूपमा बुझ्नेहरू पनि छन्. । साहित्य रचना मूलत लेखकको निजी र आन्तरिक संरचनाको सन्दर्भसँग जोडेर हेर्ने पनि गरिन्छ तर बाहिरी समाजको विम्व, प्रतिविम्ब र हस्तक्षेप विना लेखकको साहित्य रचना पूर्ण हुन सक्दैन । साहित्यकार पनि यही समाजको अङ्ग हो । आलोचकहरूले साहित्यको अध्ययन र समाजशास्त्रको अध्ययन, पूर्ण त भिन्न पद्धति र दृष्टिकोणबाट गरिनु पर्छ भने पनि समाजशास्त्रको अध्ययन विना साहित्यमा समस्याको जानकारी असम्भव छ ।

                                           सुभाष चन्द्र पोख्रेल

समाजले निर्वाह गरेको भूमिका वा दैनिक जीवनमा भइरहेको घटनाहरू पारम्परिक निरन्तरता प्रत्यक समाजको पुस्तापिच्छे हस्तान्तरण हुँदैजान्छ । समाजले अङ्गीकार गरेको संस्कृति वा परम्परालाई कलात्मक रूपले जिवन्त राख्ने काम साहित्य लेखनले गर्दछ । कृतिहरू लेखनबाट पनि सांस्कृतिक मान्यताको अवगत नहुने होइन तर समाज विकासको गति बुझ्न र परम्पराको निरन्तरतालाई सामाजिक तहबाट बुझ्नका लागि सबैभन्दा सजिलो माध्यम साहित्य हो । धार्मिक, पारम्परिक र सांस्कृतिक रूपले समाजमा अनेक रुढहरू स्थापना भएका हुन्छन् । चिन्तकहरूका बिचारमा साहित्य समाजको दर्पण हो, समाजशास्त्रले समाजमा मानिसको स्थिति अनि गति दुबैको वस्तुगत अध्ययन गर्दछ । सामाजिक संस्था वा सामाजिक प्रक्रियाको माध्यमबाट सामाजिक स्थिरता वा गतिशीलताको अध्ययन गर्नु समाजशास्त्रीय चिन्तनसँगको गहिरो सम्बन्ध रहेको हुन्छ’। त्यसो हो भने साहित्य र समाजशास्त्र पूर्णत भिन्न विषय हुँदै होइन, समाज विषयक बुझाइमा साहित्य र समाजशास्त्र एक आपसका पूरक हुन । साहित्यको सम्बन्ध धेरैहदसम्म सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक संरचनासँग जोडिएको हुन्छ । समाजशास्त्र वस्तु हो, साहित्य भाव हो । सामाजिक स्तरमा मानिसले जस्तो किसिमको अनुभव भावस्तरमा गरेका हुन्छन् त्यसको वस्तुपरक रूपमा उद्घाटित गर्ने काम साहित्यले गरेको हुन्छ । भाषाको माध्यमबाट हुने समाजशास्त्रको वर्णनमा कहिन कहि साहित्य लुकेको हुन्छ , फरक यत्ति हो कहि साहित्यिकता र कलात्मक बढी र यथार्थ कम हुन्छ भने कहि सामाजिक यथार्थ ज्यादा साहित्यिकता कम हुन्छ ।

​अब कुरा गरौं साहित्य र समाजशास्त्र दुवै भित्र अट्नुपर्ने विषय ‘दलित’बारे । अहिलेसम्म प्रमाणित इतिहासको कुनै पनि कालखण्डमा मानवीय र सामाजिक समानताको उदाहरण देख्न पाइँदैन । समानता भन्दा पनि सामूहिक चेतना र सामूहिक प्रयासबाट मानव सभ्यताको विकासक्रम अगाडि बढेको तथ्य हो । सभ्यताका अनेकौं खुट्किलाहरू पार गर्दै मानव समाज आज यहाँसम्म आइपुगेको छ । मानव सभ्यतालाई समाजशास्त्रीय कोणबाट हेर्दा हामीले इतिहासको कालखण्डमा थुप्रै उतारचढावहरू पाउँछौं । समाज भन्ने बित्तिकै मानिसहरूको समूह हो र त्यहाँ इतिहासदेखि आजसम्म समानताको अभाव देखिन्छ । प्रविधिको विकासले गर्दा वर्तमान विश्व बिस्तारै एउटा चौतारीको रूपमा परिणत हुँदैछ तर अझै पनि यही विश्व भित्र अडेको मानव समाजभित्र वर्गीय असन्तुलनको पर्खाल कायमै छ । मानव विकासको आदिम कालमा वर्ग वा वर्णको खास स्थान थिएन तर विकास प्रक्रियाको चक्रसँगै मानिसहरूमा कामको विभाजन अनि काम र वर्गसँग जातीय विभेदको श्रृङ्खला सुरु भयो । दलित समस्या यस्तै विभेदकारी श्रृङ्खलाको उपज हो, वास्तवमा दलित भनेको सामाजिक र सांस्कृतिक भेदभाव र उत्पीडनको एउटा कारक हो । एउटा सामाजिक समस्या हो । ‘इसापूर्व ७००तिर सुरु भएको छुवाछुत प्रथाले के इङ्गित गर्छ भने जात र छुवाछुतको संरचना आर्र्थिक विस्तार र विविधीकरणको ऐतिहासिक उतार चढावसँग गाँसिएर आएको छ’ ।

के वर्तमान समाज व्यवस्था विगतकै निरन्तरता हो ? वा वर्तमान ऐतिहासिक र मौलिक हिसाबले फरक छ ? समाज व्यवस्थाको वर्तमान अवस्था इतिहासको हुवहु निरन्तरता नभए पनि इतिहासको प्रक्रियामा अहिले पनि कायम छ । पूँजीका कारण वा श्रम विभाजनका कारण ?, कारण जेसुकै भए पनि वैदिक कालदेखि आधुनिक कालसम्म समाजमा एक किसिमको वर्ग निर्माणको भूमिका खेलेको छ । सिङ्गो मानव समाजभित्र विद्यमान वर्गीय लेपको यो चक्रलाई हेर्ने दृष्टिकोेण बनाउनु भन्दा पहिले हामीले समाजशास्त्रीय आधारहरू निर्माण गर्नु जरुरी देखिन्छ । समाज भित्र वर्ग, वर्ग भित्र छुवाछुत र छुवाछुतको पर्यायवाची बनेको दलित शब्द बारे बुझ्नको लागि हामीले वैदिक समाजशास्त्रबारे जान्नु पनि जरुरि छ ।

सामाजिकताको यथार्थबाट हेर्ने हो भने साहित्यको आधार सौन्दर्यशास्त्रमा भन्दा समाजशास्त्रीय धरातलमा बढी टिकेको छ, साहित्य वा दर्शनको आधारमा जातिगत विभाजनको श्रृङ्खला हेर्नको लागि इतिहास, भूगोल, अनि समाजशास्त्रको तुलना अनिवार्य भएको छ । अहिले हामीले भनिरहेको दलित शब्द र खासगरी दलित चेतनालाई हिन्दू धर्मसँग जोडिएको वैदिक समाजसँग तुलना गरेर अध्ययन गर्ने हो भने जाति र रङको प्रार्दुभाव कसरी भयो भन्ने निक्र्यौलमा पुग्न सकिन्छ । जाति शब्द जातबाट बनेको हो र जातको अर्थ हुन्छ जन्म, अनि वर्णको अर्थ हुन्छ रङ । यस प्रकार जन्म अनि रङको आधारबाट जाति प्रथाको सुरु भएको भान हुन्छ । संसारमा देखिएका सबै जातीय समस्याहरू मध्ये छुवाछुत सबैभन्दा क्रूर र अमानवीय समस्या हो, वर्ण विभेद वा जातीय छुवाछुतको वैदिक परम्परालाई सम्झिँदा हामीले हिन्दू धर्मसँगै यसको परम्परालाई छोड्न सक्ने अवस्था रहँदैन ।

हिन्दू धर्मको आदि ग्रन्थ वेद र त्यस सँगसँगै, महाभारत, पुराण, तथा भागवत गीतामा उल्लेख कैयौं दर्शनहरूमध्ये हामी श्रम विभाजन र त्यसले छुट्याउन खोजेको वर्णव्यवस्थालाई हेर्ने हो भने पनि जातीयताको ठूलो खाडल देखिँदैन, यद्यपि हिन्दू सनातन धर्मका वैदिक र पौराणिक शास्त्रहरूमा कामलाई धर्मसँग जोड्ने र कामकै आधारमा वर्ण निर्माण गर्ने चेष्टा नभएको होइन, वैदिक परम्परादेखि ब्राह्मण, क्षेत्री, शूद्रको रूपमा वर्ण विभाजन गरेको भए पनि त्यो केवल कामको आधारमा गरिएको वर्गिकरण थियो । किनकि कामको आधारमा वर्ण फरक हुने भनिए पनि वेद, पुराण, वा अन्य कुनै ग्रन्थले यो काम ब्राह्मणले मात्र गर्ने र अर्को शूद्रले मात्र गर्ने भनेर तोकेको होइन ।

वर्णको निर्धारण पहिला व्यवसाय, स्वभाव, संस्कृति आदिको आधारमा मात्र थियो पछि जातिवाद प्रकट हुँदै जाँदा वर्णको आधार पनि, बीज, क्षेत्र, विचार हुन पुग्यो । यदि हामीले वैदिक प्रमाणको विचार गर्ने हो भने वैश्य शब्द पनि ऋग्वेदमा पाइँदैन, त्यहाँ ‘विश’ शब्द छ जसको अर्थ वसनेवाला भन्ने हुन्छ । सम्भवत ः जाति प्रथाको विकास कालमा यही ‘विश’ शब्दबाट वैश्य शब्द निर्माण भएको होला ? जाति वा वर्णव्यवस्थाको उद्गम जसरी भए तापनि त्यो नितान्त अनुशाशन पालना गराउन र कामको बाँडफाँड गर्नका लागि मात्र गरिएको स्पष्ट हुन्छ । कामको प्रकृति हेरेर महान र तुच्छ भनिए पनि, ब्राह्मण र शूद्र भनिए पनि, कर्ममा लाग्दा बाहेक उसको चिनारीमा त्यही वर्णको पगरी रहन्छ भन्ने थिएन । भविष्यपुराणको ब्रह्म पर्वको केही अंशहरूले त्यही कुराको पुष्टि गर्दछन् ।

(किं ब्राह्मणाः ये सुकृतं त्यजन्ति

​​किक्षात्रियाः लोकमपालयन्तः ।

​​स्वधर्महीना हि तथैव वैश्याः

​​शूद्राः स्वमुख्यक्रियमा विहीनाः।।)

(भविष्यपुराण ब्राह्मपर्व ४०।३३)

अर्थात(जसले शील र सदाचार त्याग्दछ ती ब्राह्मण होइनन् जनताको रक्षा र पालना नगर्नेहरू क्षेत्रीय होइनन् । आफ्नो कृषि र व्यापारको धर्म छोड्नेहरू वैश्य होइनन् । यसप्रकार आ—आफ्नो प्रमुख कर्तव्यबाट च्यूत भएकाहरू शूद्र हुन् ।)

पुराणका श्लोकहरूको मर्मलाई हेर्दा यहाँ शूद्रलाई अरु वर्णभन्दा अलग्याएको जस्तो भान पनि पर्न सक्छ । तर अर्को एक श्लोकमा भनेको छ वर्ण विभाजन भनेको कामको शक्तिको निम्ति हो ।

(तस्मान्न गोऽश्ववत्कश्चिज्जाति भेदोऽस्तिदेहिनाम्

​​कार्यशक्ति निमित्तस्तु सङ्केतः कृत्रिमो भवेत् ।।)

(भविष्यपुराण ४०।३४)

(त्यसैले मानिस मानिसका विचमा गाई र घोडाको जस्तो जाति भेद हुँदैन । कामको शक्ति—विकासको निमित्त वर्णको क्रित्रिम सङ्केत बनाईएको हो ।) धर्मशास्त्रहरूमा काम र वर्णलाई अभिजात र तुच्छ नभनी वर्गीकरण मात्र गरिनु समानताको एउटा कडी थियो तर कालक्रमिक रूपमा ग्रन्थहरूमा उल्लेख गरिएका दर्शनहरू पनि खण्डित हुँदै गएको हुनु पर्छ । श्रमसँग मान्छेको सम्बन्ध जोडिएको कारणले वैदिककालमा जातिगत दृष्टिले मात्र दलितको अर्थ सिद्ध गर्न निकै कठिन छ । यसको ऐतिहासिक पृष्ठभूमि वेदकाल देखि वर्तमान सम्म आइपुग्दा सामाजिक वर्गव्यवस्थाको अवस्था झनै जटिल बनेको छ । केही कुराहरू हामीले परम्परादेखि नै मान्दै आएका छौं, केही कामहरूलाई हामीले परम्परादेखि नै शूद्रसँगको सम्बन्धमा जोड्दै आएका छौं, यदी यही आधारमाथि विचार गर्ने हो भने कैयौ प्राचीन उदाहरणहरू यस्ता पनि छन् जसको आधारमा हामी भन्न सक्छौं, ऋग्वेद कालमा शूद्र तिरस्कृत थिएनन् ।

छान्दोग्य उपनिषद्मा कथा आएको छ कि रैभ्यले जनश्रुतिको वेद पढाएका थिए, तर रैभ्य गाडीवान थिए अतः शूद्र थिए, ऋग्वेदका दशम मण्डलका कैयौं मन्त्रहरुका रचयिता, ऐलुषलाई पनि शूद्र मानिँदै आएको छ, वेदकालीन राजा सुदास पनि शूद्र थिए, वैदिक परम्परा अनुसार उनी राजर्षी विश्वामित्रका संरक्षक थिए, आरम्भमा ब्राह्मण ऋषि वशिष्ठ अनि क्षेत्रीय ऋषि विश्वामित्र दुवै मिलेर शूद्र राजा सुदासको महिमामण्डित गरेका थिए । हजारौं बर्ष पुरानो वैदिक परम्परा र वैदिक दर्शनका मान्यताहरुलाई हेर्यो भने हामीले मानव जाति भित्र वर्गीय विभेदको छनक कहीँ पाउँदैनौं, ऋग्वेद संहिता संसारकै प्राचीनतम् ग्रन्थ भित्र पर्दछ र यो ई.पू. ३ हजार वर्षदेखि पन्ध्रहजार वर्षभित्रमा लेखिएको अनुमान गरिएको छ ।

ऋग्वेदमा एक्काइस शाखाहरू छन् भनिए पनि हाल उपलब्ध पाँच प्रमुख शाखाहरू छन् र ती मुख्य पाँच शाखाहरूमा कहीँ पनि विभेदकारी वर्णन हामीले पाउँदैनौं । ऋग्वेद संहितामा हाल उपलब्ध दश मण्डल, चौरासी अनुवाद, अन्तरगत करिब दश हजार चारसय बहत्तर ऋचा (मन्त्र) रहेका छन् । तर कहीँ पनि हामीले जातीय विभेदलाई कठोर रूपमा उभ्याएको पाउन सक्दैनौं । यस कारण वेदले आचरणको आधारमा मात्र जाति छुट्याएको छ । वेदकालले श्रमविभाजनको रूपरेखा तयार पारेर समाजमा काम अनुसारको सकारात्मक विभेद बिस्तारै बिस्तारै सांस्कृतिक विस्तारवादमा परिणत हुँदै जाँदा त्यसले समाजमा नकारात्मक विभेदको बीजारोपण गर्दै गयो र यो विभेदकारी परम्पराको निरन्तरता आधुनिक युगसम्म निरन्तर आइरहेको छ ।

वैदिक कालमा जातीय विभेदको कुरा मात्र होइन लैङ्गिक विभेद पनि थिएन, गजर्दि, माधवी जस्ता नारी पात्रहरूको बौद्धिक हिसाबले ठूलो सम्मान थियो । वेदका महत्वपूर्ण सुत्र निर्माताहरू मध्य कतिपय महिलाहरू नै थिए, पछि आएर महिलाले वेद पढ्न हुँदैन भनेर ज्ञान लिनबाट नै वञ्चित गरिँदै जाने अवस्था आयो । महाकवि बौद्धाचार्य अश्वघोषले पनि वर्णव्यवस्था, जातपात र छुवाछुतको विरोधमा वेद, मनुस्मृति, महाभारत, पुराण, काव्य आदि शास्त्रीय र धार्मिक ग्रन्थहरूबाट नै प्रमाणहरू अघि सारेका छन् । ती प्रमाणहरूलाई नमानेर पछि आएर कुरा काट्न वा तथ्यलाई बङ्ग्याउन खोज्नेहरूलाई हतोत्साहित गर्नका लागि अश्वघोषले महाभारतका उदाहरणसहित लिएर चुनौती पनि दिएका छन् ।

(प्रमाणमप्रमाणं वै यः कुर्यादबुधो जनः

​​न सः प्रमाणतामर्हो विवाद जननो हि सः ।।)

(महाभारत अनुशासन पर्व १६२।२५)

(जुन मान्छेले प्रमाणलाई प्रमाणनै मान्दैन, त्यस्तो विवाद बढाउने मान्छे कुनै कुराको पनि प्रमाण योग्य बन्न सक्दैन ।) वेद लगायतका धर्मग्रन्थहरूमा कामको विभाजन र मूल्याङ्कन गर्ने क्रममा मस्तिष्क तŒवले गर्ने काम अर्थात् बुद्धि, विवेक र चतु¥याइँ प्रयोग गरेर गर्ने कामलाई ब्राह्मण कोटिमा राखियो । बौद्धिक कामको लािग कुनै पनि व्यक्तिलाई रोक थिएन तर पनि कामको उच्चतालाई देखेर सबै वर्णहरूमध्य ब्राह्मण वर्ण श्रेष्ठ वर्ण हो भन्ने कुरा स्थापित गर्दै जान थालियो । वास्तवमा जातीय विभेदको श्रृङ्खला नै त्यहीँबाट सुरु भइसकेको थियो । जातीय उच्च—निचता के हो ? ब्राह्मण भनेको के हो ? शूद्र भनेको के हो ? के ब्राह्मण कुलमा जन्मदैमा उक्त व्यक्ति स्वत ब्राह्मण हुन्छ ? ज्ञान ब्राह्मण हो कि शरीर ब्राह्मण हो ? आचरणले जातिको पहिचान गराउने ? छुवाछुतको परम्परा केलाउने बित्तिकै हामीले ब्राह्मणलाई निकै माथिको स्थान र ब्राह्मण इतर अझ शूद्रलाई निकै निम्न तहमा पाउँछौ, के यो जातीय वर्गीकरण र त्याज्य.परम्परको विजारोपण शास्त्रमै भएको छ ? के यो विभेदलाई वेद, उपनिषद, मनुस्मृति, महाभारत, भागवतगीताले पनि स्वीकार गरेको छ ? जाति प्रथा र छुवाछुतले यति विघ्न विराटता प्राप्त गर्नुमा के राज्यको दोष छ ? होइन, त्यसो होइन शास्त्रले सकारात्मक विभेदलाई मात्र स्थान दिएको छ, महाभारत अनुशासन पर्व कै एउटा तुलना गर्न योग्य श्लोक नै उदाहरण लिन सकिन्छ ः

(न योनिर्नापि, संस्कारो न श्रुतं नापिसन्ततिः ।

​​कारणानि द्विजत्वस्य वृत्तिमेव तु कारणंम् ।।)

​​(महाभारत अनुशान पर्व, १४३।५०)

जन्म संस्कार, शास्त्र, कुल आदि कुरा ब्राह्मण भन्ने कारण हुन सक्दैन ब्राह्मण हुने कारण जीवनको सदाचार मात्र हो । वैदिक परम्परामा व्यक्तिगत क्षमताको आधारमा आफ्नो जात वा वर्ण स्थापित गर्न सकिन्थ्यो र अझ दक्षताको आधारमा वर्णको पदोन्नति वा वर्ण परिवर्तन गर्न सक्ने समाथ्र्य राख्दथ्यो । ज्ञानका कुरा गर्ने पुरोहित वर्गमा जो सुकै पुग्न सक्छ भन्ने मान्यता वेद, महाभारत, भागवतगीता र अन्य धर्म ग्रन्थमा छ तर कालान्तरमा धार्मिकतासँग जोडिएको वैदिक पेशालाई आफ्नो विशिष्ठ स्थान प्राप्तीको रूपमा स्थापित गरिँदै लगियो र सीमित प्रथाका जातिहरूको वर्गिकरण सँगै वर्ण व्यवस्थाको विभेदकारी परम्पारले निरन्तरता पाउन थाल्यो । जातिभेद तथा हिन्दू वर्णव्यवस्था सम्बन्धी समाजशास्त्रीय अध्ययनमा नाम कमाएका भारतीय अध्ययता डा. अम्बेडकरको निचोड अनुसार “शूद्रहरू पहिला उपनयन तथा यज्ञ दुबैका अधिकारी थिए । तर वेद तथा यज्ञको बारेमा शूद्रको अधिकार तैत्तिरीय संहिताको समयमै अस्वीकृत गरिएको थियो । यस प्रकार जाति व्यवस्थालाई धर्मको बन्धनमा जकडियाइयो, यसरी जातिको जन्म धर्मबाट भयो, धर्मले जाति प्रथालाई मलजल र प्रतिष्ठित बनाउँदै गयो, अनि जाति प्रथालाई पवित्रता प्रदान गर्दै गयो त्यस कारण यो भन्न उचित हुन्छ कि धर्म नै त्यस्तो आधार हो जसमा हिन्दूहरूले जाति प्रथाको समाजिक ढाँचा खडा गरे ।

समाशास्त्रीय आधारमा जातीयता अथवा जातीयताको एउटा घोतक दलित चेतनाको प्राचीनतम इतिहासलाई वैदिकता, धार्मिकता अथवा साम्प्रदायिक, धार्मिक सम्प्रभुताको आडमा राखेर अध्ययन गरिसक्दा के निष्कर्ष निकाल्न सकिन्छ भने प्रत्येक दर्शन वा धार्मिक ग्रन्थहरूलाई त्यसको मूल मार्गमा रहेर व्याख्या गर्नु भन्दा पनि आपूm अनुकूल व्याख्या गर्दै जाने र वैदिक ग्रन्थहरूको मर्मलाई धार्मिक कट्टरतासँग जोडेर वर्णव्यवस्था वा जातीय संरचनालाई एउटा कठोर नियममा बाँधेर व्याख्या गरिएका तथ्यबाट स्पष्ट हुन्छ । वैदिक परम्परामा जे हँुदै आयो त्यो सम्पूर्ण गलत होइन तर भइरहेको् व्याख्या मध्ये कतिपय नियमहरू अथवा सामाजिक मान्यताको निरन्तरता,अहिलेको जातीय विभेद, छुवाछुत र दलित जस्तो अमानवीय क्रियाकलापलाई निरन्तरता दिने एउटा कसी बनेको छ । यस प्रकार दलित शब्दको समाजशास्त्रीय सीमा अनि अर्थबोध अत्यन्त व्यापक छ ।

वर्णव्यवस्थामा सबैभन्दा हीनतम वर्ण शूद्र बनेको छ र त्यही शूद्र अन्तर्गत पर्ने दलित अझै सीमान्तकृत बनेको छ । दलित भन्ने शब्दले राजनीति तथा समाजशास्त्रको लागि चाहे जति नै अर्थ व्यञ्जना गरोस्, साहित्यको लागि यो सीमित अर्थ मै प्रचलित हँुदै गएको छ । समाजशास्त्र अनि राजनीतिमा वर्णित उपयुक्त सीमाहरूलाई साहित्यशास्त्रले स्वीकार नगर्दासम्म दलित साहित्यकारद्वारा निर्धारित स्वरूपको आधारमा नै हामीले दलित शब्द, दलित चेतनाको व्याख्या गर्नु पर्ने हुन्छ । ब्राह्मण, क्षत्री, वैश्य, शूद्रको वर्णव्यवस्था आजको आधुनिक युगमा पनि कुनै न कुनै रूपले अस्तित्वमा छ, यो सामाजिकताको एउटा परिचय अझै पनि छ, यद्यपि आधुनिक समाजशास्त्रको अहिलेको स्वरूपमा केही मान्यतमहरू पूर्ण ध्वस्त नभए पनि खण्डित भने अवश्य भएका छन् ।

दलितलाई समाजशास्त्रीय दृष्टिकोणबाट हेर्दा मान्छेले वैदिकतामा आधारित केही तथ्यहरूलाई जसरी मनन ग¥यों त्यसै गरी आधुनिक कालखण्डमा आइपुग्दा पनि केही निरन्तरता र केही क्रमभङ्गताको स्थिति पाउन सक्यो । दलितलाई आधुनिक समाजशास्त्रको दाँजोमा राखेर नेपालका समाज शास्त्रीय चिन्तक डा. हर्क गुरुङको जाति सम्बन्धी चर्चालाई पनि एकपटक सम्झिनु उपयुक्त हुन्छ । राष्ट्रिय इतिहासमा जाति विशेष पक्षमा ध्यान नदिएको तथ्यबारे गुनासो गरेर समस्या समाधान हुँदैन ।

कुनै पनि देशमा बलियो वर्गले वा शासक वर्गले इतिहासमा आफु सुुहाउँदो परिभाषा दिई आफ्नो महत्व बढाउनु एउटा स्वाभाविक तथ्य हो , त्यस कारण आफ्नो जातिको वास्तविक इतिहास र संस्कृति केलाउने काम अरुको भर परेर होइन, आफैं अग्रसर भएर गर्नु पर्दछ । सामाजिक संरचना तथा समाज ब्याख्यामा सबैभन्दा तल्लो दर्जामा बाँच्न विवश समुदायको पर्याय बनेको छ दलित, त्यस कारण ‘दलित’ शब्द पनि त्यही वर्गको व्यक्तिहरूलाई नै बनेको हो भन्दा फरक पर्दैन । जातपात र छुवाछुत प्रथाको जडको रूपमा रहेको दलित परम्परा शास्त्रीय कोणबाट हेर्दा हजाराँैं वर्षदेखि यसको थिचोमिचो र विभेद चल्दै आएको छ । आदिम कालमा सामाजका मानिसहरू जात र कुलमा सबै समान थिए । पहिले समाजमा वर्ण व्यवस्था थिएन । त्यो पछि सुरु भएको कुरा वाल्मीकि रामायणबाट पनि पुष्टि हुन्छ ।

(ततस्त्रेतायुगं नाम मानवानां वपुस्य ताम्

​​क्षत्रीयाः यत्र जायन्ते, पूर्वेण तपसान्तिताः ।

​​अपस्यत्तस्तु ते सर्वे विशेषामाधिकं ततः

​​स्थापनं चक्रिरे, तत्र चातुर्वर्णस्य सम्मतम् ।)

(सत्य युगपछि त्रेता युग आयो र त्यहाँ बलवान् क्षत्रीयहरूले ब्राह्मणहरूले जस्तै तपस्या गर्न थाले । त्यसपछि मनु आदि ऋषिहरूले ब्राह्मण र क्षेत्रीहरूमा केही फरक नदेखेर चार वर्ण भएको समाज कायम गरे ।) शुरु शुरुमा चार वर्ण अनुसार विभाजन गरिएका चारखाले श्रम विभाजन कुनै कुनै वैदिक जनहरूभित्रै देखा परेको थियो तर एउटै मान्छेले ती मध्ये कुनै पनि काम फेरि फेरि गर्न सक्थ्यो । त्यस्तै खाले नियम अनुसार तल्ला र निन्दनीय भनिएकाहरू पनि सम्मानित र उच्च वर्गमा पदोन्नत भएको पाइन्छ ।

यसको तात्पर्य के निकाल्न सकिन्छ भने वैदिक कालमा श्रम विभाजनको आधारमा वर्ग वा वर्णको निर्धारण जरुर गरिएको थियो तर त्यो अमिट भेदभाब थिएन,कालक्रमिक रुपमा त्यहि बिभाजन वर्गीय असन्तुलतको कारक बन्यो । आदिकालिक साम्यवादको रूपमा लिन सकिने बैदिक परम्परा कालान्तरमा कर्मकाण्डीय रूपमा परिणत हुँदै गयो । यसर्थ आधुनिक साहित्य र आधुनिक समाजशास्त्रको पवरिधी र पभिाष भित्र यस्ता जटिल सामाजिक विषयले पनि स्थान पाउनु पर्छ अनि मात्र दलित सम्बन्धि चिन्तनले पनि सकारात्मक गति लिन सक्छ ।

(सन्दर्भग्रन्थ सूचि : १- निर्मला जैन, सम्पादन, साहित्यका समाजशात्रीय चिन्तन , दिल्ली बिश्वबिद्धालय !
२- हरिनारायण ठाकुर, दलित साहित्यका समाजशास्त्र , भारतीय ज्ञानपीठ !
३- आहुती , नेपालमा वर्ण ब्यबस्था र वर्गसंघर्ष , समता फाउन्डेसन !
४- बौद्धाचार्य अश्वघोष , बज्रसूची उपनिषद (अनुबादित)
५-हर्क गुरुङ , बिषय बिबिध , हिमाल एसोसिएसन
६- मोदनाथ प्रश्रीत , मानबताको कलंक, जातपात र छुवाछूत प्रथा
७- गोबिन्द भट्टराई , उत्तर आधुनिक बिमर्श )

टिप्पणी :
मार्च २१ गतेलाई जातीय विभेद अन्त्यकालागि अन्तरास्ट्रिय दिवसका रूपमा मनाउने गरिन्छ ! सन्दर्भ मार्च २१ को भए पनि सामाजिक जडका रूपमा रहेको जातिय विभेद र यसको निर्मुलिकरणका लागि चालिएका बिश्वब्यापी अभियानको चर्चा यो आलेखमा छैन ! जातीय बिभेदको एउटा अध्यारो पाटो ´दलित` बारे चर्चा गर्नु यो आलेखको अभिप्राय हो !

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "वैदिक समाजशास्त्र, साहित्य र दलित चिन्तन"

Leave a comment