‘बाउन्सर’प्रयोग गरेर यसरी गरियाे आफ्नै साथीको हत्या

 

आरोग्य अभियान/ झापा । विर्तामोडका सुनचाँदी व्यवसायी साजन मुखिया वेपत्ता भएकै दिन मारिएको खुलासा भएको छ । अपहरणमा परेको तीव्र आशङ्का बीच खोजीमा जुटेको प्रहरीले अन्नत सडिसकेको अवस्थामा मुखियाको शव भेटेको हो ।

विर्तामोडको शनिश्चरेस्थित देवा ज्वेलर्सका सञ्चालक मुखिया फागुन २० गते दिउँसोदेखि परिवारसँग सम्पर्कविहीन भएका थिए । उनकोे शव सोमवार इलामको रोङ गाउँपालिका–३ स्थित भीरमा फेला परेको थियो । बोरामा बाँधेर फ्याँकिएको अवस्थामा उनको शव भेटिएको झापाका प्रहरी प्रमुख विष्णुबहादुर केसीले बताए । ‘सुनको कारोवारका विषयमा विवाद बढ्दै जाँदा मुखियाको हत्या भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ’, प्रहरी प्रमुख केसीले भने, ‘आफ्नै मिल्ने साथीले उनको हत्या गरेको देखिन्छ ।’

उनको हत्यामा विर्तामोडको ऋद्धिसिद्धि ज्वेलर्सका सञ्चालक पारसकुमार देवको प्रमुख संलग्नता देखिएको प्रहरीले बताएको छ । मुखियाको कारोवार अधिकतम् हुँदै गर्दा देवको सुनचाँदीको कारोवार खुम्चिएको प्रहरी अनुमान छ । सोही कारण मुखियाले ज्यान गुमाएको प्रहरी निष्कर्ष छ ।

यद्यपि प्रहरीले मृतक मुखिया र देवको सुनको कारोवारको बैधतामाथि प्रश्न उठाउँदै त्यसमा पनि आफ्नो अनुसन्धान केन्द्रीत गर्ने जनाएको छ । यी दुई व्यवसायी घनिष्ट थिए । लेनदेनको कारोबार पनि थियो । एक अर्कालाई सहजै विश्वास गर्ने भएकाले उनीहरु सहजरुपमा आफ्नो कारोवार गर्थे ।

यसरी भयो घटना
फागुन २० गते साढे १ बजे मुखियालाई मे ७ प ८७५४ नम्वरको स्कुटीमा राखेर देवले आफ्नो पुरानो घर विर्तामोड–५ को तमुटोल पुर्याए । पहिलो तलाको उत्तर पूर्वपट्टीको कोठामा पुगेपछि मुखियालाई मुख थुनेर बाँधियो । त्यसमा देवका सहयोगीहरु प्रकाश भनिने चिरञ्जीवि ओली र दीपेश दाहालले मुख्य भूमिका खेले ।

कार्टुुन बाँध्न प्रयोग गरिने प्लाष्टिकको डोरीले दुबै हात पछाडि लगेर बाँधियो र सोही डोरीले मुखियाको घाँटी कसियो । उनको सास गएपछि साथमा रहेका गरगहना उनीहरुले लगे । मुखियाको लासलाई तत्कालै बोरामा हालेर बाँधियो । अनि तल्लो तलामा रहेको सटरभित्र राखियो ।

साँझ देवले चलाउने भारतीय नम्वरको गाडीको पछाडि मुखियाको शव हालियो । शव बोकेको सो गाडी भित्रिसडकबाट बुधवारे हुँदै इलामतर्फ हुँइकियो । ओली र पौडेलले लासलाई इलामको रोङ गाउँपालिका–३ कोल्वुङको भीरमा लगेर फ्याँकिदिए । माओवादीका पूर्व लडाकु समेत भनिएका ओलीले लास व्यवस्थापनको उपाय निकालेको प्रहरी स्रोत बताउँछ ।

घटनापछि मुखियाको खोजी तीव्र भइरहँदा प्रहरी पनि अलमलमा परेको थियो । मुखिया मारिएको आठ दिनपछि मात्रै प्रहरी निष्कर्षमा पुगेको हो । उनीहरु पक्राउ परेपछि शव फ्याँकेको स्थान पत्ता लागेको थियो । देव र पौडेल विर्तामोडबाट समातिए । ओली तेह्रथुमबाट पक्राउ परे । सडिसकेको अवस्थामा शव भेटिएको सुनचाँदी व्यवसायी सङ्घका अध्यक्ष राजु धमला बताउँछन् ।

मङ्गलवार पोष्टमाष्र्टमपछि मुखियाको दाहसंस्कार गरिएको छ । विरोधमा व्यवसायीले विर्तामोड बजार बन्द गरेका छन् । विर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुमार भट्टराईले व्यवसायिक सुरक्षामा प्रहरीले गम्भीरता देखाउनु पर्ने बताएका छन् । ‘दोषीलाई हदैसम्मको कार्वाही हुनुपर्छ’, उनले भने, ‘यसका लागि जुनसुकै दवावका कार्यक्रम लिएर अघि जान तयार छौँ ।’

प्रहरी अभियुक्तका साथबाट गरगहना, मोवाइल र मे ७ प ८७५४ नम्वरको स्कुटी बरामद गरेको छ । मुखियाको हत्यापछि उनीहरुले ती गरगहना लुटेको प्रहरीको दावी छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "‘बाउन्सर’प्रयोग गरेर यसरी गरियाे आफ्नै साथीको हत्या"

Leave a comment