बैकिङ्ग अपराधका घटना बढे

धनगढी । कर्जाको दुरुपयोग गर्नु, बैकिङ्ग सम्पत्तीको दुरुपयोग गर्नु वा कानुनले गर्न नहुने भनी उल्लेख गरेका कार्य गर्नु बैकिङ्ग कसुर मानिन्छन् । बैकिङ्ग प्रबिधिको विकास र विस्तारसँगै बैकिङ्ग कसुर र अपराधहरु पनि बढ्दै गएका छन् । गत डेढ वर्षको अवधिमा कैलालीमा २६ वटा बैकिङ्ग कसुरका मुद्धा जिल्ला प्रहरी कार्यालय कैलालीमा दर्ता भएका छन् । चालु आर्थिक वर्षको ६ महिनामात्रै कैलालीमा १० वटा बैंकिङ्ग कसुरका उजुरी परेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक इश्वरीदत्त पाण्डेले जानकारी दिए ।

कैलालीमा चालु आर्थिक वर्षको साउनमा मात्रै ६ वटा बैकिङ्ग कसुरका मुद्या प्रहरीमा परेको छ । यस्तै मसिंरमा १ र पुसमा २ वटा मुद्धा परेका छन् । कैलालीमा विषेषतः चेक वाउन्स, एटिम दुरुपयोग, पासपोर्ट चोरी र गलत सिक्नेचर गरेर रकम कुम्ल्याउने प्रयास जस्ता बैकिङ्ग कसुर दिन प्रतिदिन बढ्दै गएको प्रहरी निरिक्षक पाण्डे बताउँछन् । पाण्डे भन्छन् बैकिङ्ग प्रविधिको विकाससंगै जोखिम पनि बढिरहेको छ ।

जिल्ला प्रहरी कार्यालयले दर्ता भएका कसुरका २६ मुद्दा मध्ये १५ जनालाई कारवाहीका लागि सिफारिस गरिसकेको पाण्डेले बताए । कसुरमा संलग्नलाई कारवाहीका लागि वाणिज्य इजलासको कार्यालय महेन्द्रनगर र नेपालगन्ज पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बैकिङ्ग कसुर नियमन तथा नियन्त्रण गर्न बैंकिङ कसुर तथा सजाय ऐन–२०६४ नेपालमा लागु गरिएको छ । सो ऐनमा १० लाखसम्म विगो भए १ वर्षसम्म जेल , १० देखी ५० लाखसम्म बिगो भए २ देखि ३ वर्षसम्म कैद, ५० लाखदेखि १ करोडसम्म विगो भए ३ देखि ४ वर्षसम्म कैद हुन सक्ने व्यवस्था छ ।

यस्तै १ करोड देखि १० करोडसम्म विगो भए ४ देखि ६ वर्षसम्म कैद, १० करोडदेखि ५० करोडसम्म बिगो भए ६ देखि ८ वर्ष सम्म कैद हुने कानुनी व्यवस्था छ । ५० करोडदेखि १ अर्बसम्म विगो भए ८ देखी १० र १ अर्ब भन्दा बढि विगो भए १० देखि १२ वर्षसम्म कैद हुने बैंकिङ कसुर तथा सजाय ऐन–२०६४ मा उल्लेख गरिएको छ । कार्यालयका प्रमुख तथा सार्वजनिक पद धारण गरेका व्यक्तिले कसुर गरे १० प्रतिशत बढी सजाय हुने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "बैकिङ्ग अपराधका घटना बढे"

Leave a comment