वास्तविक क्षेत्रसँगै ५० करोड बढी कारोबार गर्ने निजी संस्थालाई सेयर बजारमा भित्र्याउने तयारी

नेपाल स्टक एक्सचेञ्चले वास्तवीक क्षेत्रसँगै ५० करोडभन्दा माथि कारोबार गर्ने निजी क्षेत्रका संस्थालाई समेत साधारण शेयर जारी गर्ने वातावरण बनाउने भएको छ । पूँजी बजार विस्तारका लागि थप क्षेत्रको खोजी गरेको नेप्सेले वास्तविक क्षेत्र छिट्टै शेयर बजारमा प्रवेश गर्ने अपेक्षा गरेको छ ।

स्टकका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले नेप्सेले अस्पताल, शैक्षिक संस्था, यातायात कम्पनी, व्यावसायिक संस्था, सेवा क्षेत्रलाई पनि पूँजी बजारमा ल्याउन पहल शुरु गरेको जानकारी दिए ।

लगानीको मात्रा बढ्दै गएका त्यस्ता वास्तविक क्षेत्रलाई पनि पूँजी बजारमा ल्याउन आफूहरुले पहल गरेको प्रमुख कार्यकारी अधिकृत साउदको भनाइ छ ।

“५० करोडभन्दा बढीका कारोबार गर्ने निकाय ढिलो चाँडो पूँजी बजारमा आउँछन् । हामी सहजीकरण गरिरहेका छौँ । वास्तविक क्षेत्र छिट्टै शेयर बजारमा प्रवेश गर्छ भन्नेमा हामी विश्वस्त छौँ” उनले भने ।

पूँजी बजारमा त्यस्ता क्षेत्रको प्रवेशपछि राम्रो मुनाफा आर्जन गरेका निजी क्षेत्रबाट सञ्चालित सेवामूलक क्षेत्र तथा कम्पनीबाट नागरिकले समेत आर्थिक लाभ लिन सक्ने नेप्सेको विश्वास छ ।

“पहिले हामी त्यस्ता निकायसँग छलफल गर्छौं र उनीहरुलाई पूँजी बजारमा जाँदाको फाइदा र लगानी विविधिकरणको विषयमा जानकारी दिन्छौँ । आशा छ उहाँहरु पनि पूँजी बजारमा आउनुहुनेछ” साउदले भने ।

सहज र स्वच्छ व्यावसायिक कारोबारका लागि पनि पछिल्लो दिनमा निजी क्षेत्रका व्यापारिक संस्थाले समेत साधारण शेयर जारी गर्ने तत्परता देखाएका छन् । पछिल्लो दिनमा डिस होम नेपाल, शिवम् सिमेन्ट, अर्घाखाँची सिमेन्टलगायतका व्यापारिक संस्थाले पनि साधारण शेयर जारी गर्ने तयारी गरेका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणले पूँजी बजारमा सूचीकृत नभएका दूरसञ्चार सेवा प्रदायक कम्पनीलाई पब्लिक कम्पनीमा ल्याई नागरिकको पहुँचमा पुर्याउने नीतिगत पहल शुरु गरेको छ ।

साथै साउदले नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषका उच्च अधिकारीसँग छलफल गरिसकेको जानकारी दिए ।

साना लगानीकर्ताले मात्रै बजारको विस्तार हुन नसक्ने र बजारको स्थायित्वसमेत हुन नसक्ने भएकाले सबै प्रकारका स्रोत तथा कोषलाई लगानीका लागि परिचालन गर्न लागिएको स्टकको भनाइ छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "वास्तविक क्षेत्रसँगै ५० करोड बढी कारोबार गर्ने निजी संस्थालाई सेयर बजारमा भित्र्याउने तयारी"

Leave a comment