चीनबाट भित्र्याइएको इन्टरनेटको क्षमता १.५ जीबी प्रति सेकेण्ड, आजबाट औपचारिकरुपमा सुरु

काठमाडाैं । नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबलबीचको क्रसबोर्डर अप्टिकल फाइबर लिंक व्यवसायिक रुपमा सञ्चालनमा आएको छ । चाइना इन्टरनेटको कनेक्सनसँगै इन्टरनेटको क्षेत्रमा भारतीय एकाधिकारको समाप्ति भएको हो । अब विश्वसँग नेपालको सुचना महामार्ग भारत र चीन दुबैतिरबाट सम्भव भएको छ ।

आज नेपाल टेलिकमले आयोजना गरेको एक कार्याक्रमका बीच सुचना तथा सञ्चारमन्त्री मोहन बहादुर बस्नेतले औपचारिक रुपमा क्रस बोर्डर अप्टिकल फाइबर लिंकको उद्घाटन गरेका हुन् । कार्यक्रमको उद्घाटन गर्दै सञ्चारमन्त्री बस्नेतले राष्ट्यि एजेण्डाको रुपमा रहेको फाइबर लिंकको सफल परीक्षणले नेपालको आर्थिक लगायत वित्तिय, पर्यटन र समग्र देश विकासका लागि महत्वपूर्ण भुमिका निर्भाह गर्न सहयोग गर्ने बताए ।

कार्यक्रममा मन्त्री बस्नेतले इन्टरनेटमार्फत दुई देश जोडिनु नेपालको लागि समेत टर्निङ्ग प्वाइन्ट भएको बताए । उनले आगामी दिनमा जलविद्युत विकास र रेलवे सम्पर्कमार्फत थप सम्बन्ध बिस्तार हुने आशा व्यक्त गरे । साथै दुई छिमेकी मुलुक नेपाल र चीनका बीचको संस्थागत र जनस्तरमा वृद्धि भइरहेको सुदृढ सम्बन्धले प्रत्यक्ष रुपमा आर्थिक, वित्तिय, व्यापार र शैक्षिक क्रियाकलापमा सहयोग गर्ने बताए ।

त्यसैगरि कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत युङ्ग होङ्गले नेपाल टेलिकम र चाइना टेलिकमबीच सुरु भएको इन्टरनेट सेवाले आगामी दिनमा दुबै देशलाई नजिक ल्याउने र दुई देश बीचको सम्बन्ध अझ गाढा हुने बताइन् ।
सो इन्टरनेट नेटवर्क संचालनमा आएसँगै काठमाडौँबाट चीन हुँदै हङकङसँग इन्टरनेटमा आवद्ध हुन पनि यसले सहयोग गर्ने जानकारी दिईयो ।

हाल टेलिकमले भारतीय कम्पनीहरु टाटा, एयरटेल, बीएसएनएल र रिलायन्सबाट २५ जीबी प्रति सेकेण्डको इन्टरनेट भित्र्याइरहेको छ । भारतबाट ल्याइएको इन्टरनेट भैरहवा, बिराटनगर र वीरगन्ज नाकाबाट अप्टिकल फाइबरमार्फत ल्याइएको छ । चीनबाट भित्र्याइएको इन्टरनेट भने १.५ जीबी प्रति सेकेण्डको भोल्यूममा जोडिएको बताइएको छ ।

टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले चीनसँगको इन्टरनेट सम्पर्क कम्पनीका लागि कोशेढुङ्गा भएको र यसले व्यवसायीक परियोजनाको नयाँ संभावना उजागर गरेको बताइन् । हाल सो नाकाबाट आएको इन्टरनेट ५६२ एमबी प्रति सेकेण्डको दरमा प्रयोग भईरहेको कार्यक्रममा जानकारी दिईएको थियो ।

सन् २००३ मा नै नेपाल र चीनियाँ सरकारबीच भएको आर्थिक तथा प्राविधिक सम्झौता बमोजिम अरनिको राजमार्ग अन्तर्गत काठमाडौंदेखि खासा झाम्सुङसम्म १५५ किलोमिटर अप्टिकल फाइबर बिछ्याउने कार्य सम्पन्न भएको थियो ।
सन् २०१६ मा नै चाइना र नेपाल टेलिकम दुबैले अप्टिकल फाइबर कनेक्टिभिटीको परीक्षण सफलतापूर्वक सम्पन्न गरे पनि आजबाट चिनियाँ इन्टरनेट टेलिकमको केन्द्रीय नेटवर्कमै जोडिएर उपभोक्तामाझ पुग्नेछ । ब्यवसायिक रुपमा भारतीय सेवा प्रदायकसँग भन्दा चीनबाट किनिएको इन्टरनेट लिंक थोरै महंगो हुनेछ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "चीनबाट भित्र्याइएको इन्टरनेटको क्षमता १.५ जीबी प्रति सेकेण्ड, आजबाट औपचारिकरुपमा सुरु"

Leave a comment