यसकारण देखियाे बैंकमा पैसा अभाव, तरलता संकट समाधानका ५ उपाय

गएको साता यता वित्तीय बजारमा लगानीयोग्य रकम अभाव रहेको भन्दै नेपालको बैंकिग क्षेत्रमा हलचल मच्चिएको छ । तर नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले भने बजारमा गरिएको हल्लाजस्तो तरलताको अभाव नरहेको बताउँदै आएको छ । वास्तवमा वित्तीय बजारमा अहिले देखिएको समस्या र समाधानका उपाय के हो त ? राष्ट्र बैंकका कार्यकारी निर्देशक नर बहादुर थापाको विश्लेषण ।

कारण १.बैंकहरुले अहिले आफूले संकलन गरेको निक्षेप भन्दा धेरै कर्जा परिचालन गरका छन । यो चार महिनाको अबधिमा बैंकहरुको कर्जा विस्तार १७.५ प्रतिशत रह्यो । बैंकहरुको पछिल्लो कर्जा संकलन १४.९ प्रतिशत मात्र छ ।

अहिलेको यो अवस्था आउनुको पहिलो कारण बैंकहरुले आफ्नो निक्षेपलाई नहेरी जथाभावी कर्जा विस्तार गरेर हो । कर्जा र निक्षेप बीचमा नकारात्मक ग्याप रहन पुग्यो,जस्ले गर्दा तरलतामा चाप पर्यो ।

गत साउनदेखि पुस ९ गतेसम्म वाणिज्य बैंकहरुले १०६ अर्ब निक्षेप परिचालन गरेका छन् भने कर्जा विस्तार १६० अर्बले गरे । कर्जा परिचालन र निक्षेपको बिचमा ५४ अर्बको ग्याप रह्यो । त्यो ग्याप तरलतामा संकट पर्ने मुख्य कारण हो । बैंकहरु आक्रामक कर्जा विस्तारमा लागेका कारण यो संकट देखिएको हो । समाधान के हुन सक्थ्यो ? निक्षेप संकलनको आधारमा कर्जा विस्तार गरेको भए यो संकट आउने नै थिएन ।

कारण २  नेपालको अर्थतन्त्रमा इन्जेक्सन हुने बाह्य तरलता त्यसको आधार भनेको शोधानान्तर बचत हो ।नेपालको परिस्थीतिमा बिप्रेषण अाप्रवाह हो । यो चार महिनामा नेपालको शोधानान्तर बचत २ अर्ब ४० करोड मात्र हो । अघिल्लो वर्ष यसै समयमा झण्डै सो बचत झण्डै २२ अर्ब थियो । अर्को तर्फ विप्रेषण आप्रवाह १.४ प्रतिशतले घट्यो । गत वर्ष पहिलो चार महिनामा २३२ अर्ब विप्रेषण आप्रवाह नेपालले प्राप्त गरेको थियो भने अहिले २२८ अर्ब मात्र प्राप्त गर्यो । यसले पनि तरलतामा असर पर्यो ।

कारण ३. नेपाल सरकारको वित्तीय अवस्थाको प्रभाव पनि तरलतामा पर्यो । नेपाल सरकारको स्थानीय तह समेतको गरि नेपाल राष्ट्र बैंकसँग आजको मितिसम्म ३४० अर्बको मौज्दात छ । जस्ले गर्दा बजारको तरलता खिचिन गयो । अनि तरलतामा चाप पर्यो । यदि सरकारले आन्तरिक ऋणका परिचालन गरेको रकम चालु खर्च, पूँजीगत खर्च अनि वित्तीय व्यवस्थापन मार्फत खर्च गरेको भए सायद अहिलेको अवस्था आउँदैन थियो ।

कारण ४. अघिल्लो वर्ष यसै समयमा वित्तीय अवस्थामा चाप परेको थियो । त्यतिबेला वित्तीय संस्थाले उच्च ब्याजदरमा संस्थागत निक्षेप लिएका थिए । त्यो निक्षेप परिपक्व हुने क्रममा छ । त्यो निक्षेप आफैसँग राख्नका लागि केही बैंकहरु आत्तिएर बढी ब्याज दिन थाले । त्यही कारणले पनि बजारमा दबाब परेको कुरा बाहिर गयो ।

कारण ५. केही चाँही बैंकहरुमै समस्या छ । २८ ओटा वाणिज्य बैंकहरु छन् । यी मध्ये केही बैंकहरुको बिजनेस मोडल राम्रो छैन । उनीहरुले कर्जा प्रबाह गर्ने भनेको निक्षेप हो, दोस्रो पूँजी हो, तेस्रो सापटी हो । केही ठूला बैंकहरुले निक्षेपलाई आधार मानेर कर्जा बिस्तार गर्छन । केही बैंक यस्ता पनि छन्, अर्को बैंकबाट सापटी लिएर कर्जा प्रबाह गर्छन् । त्यसको ब्याजदर निकै न्युन हुन्छ । न्युन ब्याजदरमा आन्तरिक बैंकिङ ऋण लिएर चर्को ब्याजदरमा साना ऋणीलाई कर्जा परिचालन गर्ने जोखिमपूर्ण काम केही साना बैंकहरुले तीन चार वर्षदेखि गर्दै आए ।

१४५ अर्ब मध्ये सरकारले आन्तरिक ऋण ११० अर्ब उठाई सकेको छ । जसले गर्दा तरलता सुक्न पुग्यो जस्को प्रत्यक्ष प्रभाव ब्याजदरमाथि पर्न गयो । अर्को बैंकबाट ऋण लिएका बैंकहरुलाई अब मुस्कील पर्न गयो । ऋण निश्चित गरि सकेका छन् तर बजारबाट त्यसरी पैसा सापटी लिन नसक्ने भए र चर्को ब्याजदरमा विड गर्न पुगे जसले गर्दा बजारमा गलत म्यासेज गयो । ब्याजदर बढ्न पुग्यो ।

कारण ६. नेपाल सरकारको कुल राजश्व लक्ष्य ७३० अर्बको ४० प्रतिशत हिस्सा पुस मसान्त भित्र उठाउने लक्ष्य राखेको छ । पुस महिनामा ७० अर्ब हाराहारी राजश्व सरकारले उठाउँछ । बजारको तरलता पुस मै सरकारमा जान्छ । त्यसैले बैंकहरु आत्तिए । निक्षेप खोसा खोस गर्न थाले ।

माथिका कारणहरुको परिणाम स्वरुप अहिलेको नेपालको वित्तीय बजारमा असहज अवस्था आएको छ ।

समाधानका पाँच उपाय

पहिलो उपायः अब हामीले यसको समाधानका लागि राष्ट्र बैंकले ब्याजदर करिडोर मार्फत रिपो गरेर तरलता पठाउँछौ । अहिलेको रिपो दर ५ प्रतिशत ब्याजमा वाणिज्य बैंक, विकास र वित्त कम्पनीहरुलाई राष्ट्र बैंकले तरलता दिन्छ । राष्ट्र बैंकले बजारको तरलता अभाव हटाउने गरी आवश्यक मात्रामा तरलता पठाउँछ ।

दोस्रो उपायः नेपाल सरकारको दिर्घकालीन प्रकृतिको विकास ऋण पत्रमा वाणिज्य बैंक, विकास र वित्त कम्पनीहरुले लगानी गरेका छन् । यो वर्ष मात्रै साउनदेखि यता ७२ अर्बको बिकास ऋण पत्रमा लगानी गरेका छन् । करीब २३५ अर्बको विकास ऋण पत्र वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुसँग छन् । त्यो ऋण पत्र राष्ट्र बैंकले खरिद गरेर यो समस्या समाधान गर्न सकिन्छ ।

राष्ट्र बैंकले केही समय अघि गरेको आह्वानमा २१ कम्पनीको १८ अर्ब हाराहारी बोलकबाेल हालेका थिए । आईतबार मात्रै राष्ट्र बैंकले ५ अर्बको विकास ऋण पत्र खरिद गरेको छ । आवश्यकता अनुसार त्यस्ता ऋण पत्र खरिद गदै लगिने छ ।

तेस्रो उपाय : बैंकहरुलाई साह्रै गाह्रो पर्यो भने स्थायी तरलता सुबिधा अर्न्तगत पनि तरलता दिन सकिन्छ । विकास ऋण पत्र, ट्रेजरी बिल धितो राखेर ७ प्रतिशत ब्याजदरमा तरलता लान सकिन्छ । ३ देखि ५ प्रतिशत ब्याजदर जुन अत्यन्त सस्तो ब्याजदर हो ।

चौथो उपाय : बैंकहरुलाई जथाभावी कर्जा विस्तारमा कडाइ गर्ने । बैंकलाई जथाभावी कर्जा विस्तार गर्नलाई राष्ट्र बैंकले पैसा दिने छैन ।

पाँचौँ उपाय :सीसीडी अनुपात नघाएर कर्जामा लगानी गर्न बन्द गर्ने । कुनै पनि संस्थाले सीसीडी अनुपात नघाउन देउ भन्छ भने उसले वित्तीय क्षेत्रमा जोखिम बढाउन देउ भनेको भन्ने हुन्छ, त्यो गर्न राष्ट्र बैंक तयार छैन ।

यो विश्लेषण राष्ट्र बैंकका कार्यकारी निर्देशक नर बहादुर थापासँगको कुाराकानीमा आधारित रहेर तयार पारिएको हो।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "यसकारण देखियाे बैंकमा पैसा अभाव, तरलता संकट समाधानका ५ उपाय"

Leave a comment