जुनकिरी झैं ज्योति बाली अन्धकारमा चम्किने भूपी

स्रष्टाहरु अजर र अमर हुन्छन् । उनले छोडेर गएका कृति नै उनीहरुलाई अमर तुल्याउने साधन हुन् । स्रष्टा आफू बाँचेको समयलाई सचेत गराउँछन् । गाली गर्छन् र सुध्रिन मौका दिन्छन् । अझ भन्नुपर्दा समय भोग्छन्, समय देख्छन् र समय सच्चाउने हिम्मत गर्छन् ।
हो, कवि भूपी शेरचन यस्ता कवि हुन् जसले समय भोगे, देखे र समयलाई सचेत गराए । कविहरुका बारे प्लेटोले एक ठाउँमा भनेका छन् ‘कवि महान् र बुद्धिमान उपदेश दिन्छन्, जो उनीहरु स्वयम् बुझ्दैनन्’ तर भुपी त्यस्ता थिएनन् । उनले कुनै क्लिष्ट र अमूर्त भाषामा कसैको भजन गाएनन् बरु उनीहरुका गलत तर्क र पद्दतिको भण्डाफोर गरे । शासक विरुद्ध आगो ओकले । र त आज उनी सबैका सम्झनामा छन् । र त भूपी सबैका बनेका छन् ।

सन्दर्भः भूपी जयन्ती

आधुनिक कवि भूपी शेरचनको आज ८२ औँ जन्मजयन्ती परेको छ । उनको जन्म १९९२ पुस १२ गते मुस्ताङ जिल्लाको थाक टुकुचेमा भएको थियो । उनको वास्तविक नाम भूपेन्द्रमान शेरचन हो ।  उनी सन् १९६९ मा घुम्ने मेचमाथि अन्धो मान्छे कृतिका लागि साझा पुरस्कारबाट सम्मानित भएकोे थिए । त्यस्तै २०४२ सालमा गोरखा दक्षिणबाहु दोस्रो बाट पनि सम्मानित भएका थिए ।  शेरचनका परिवर्तन (नाटक), नयाँ झ्याउरे, निर्झर, घुम्ने मेचमाथि अन्धो मान्छे र भूपि शेरचनका कविता कवितासङ्ग्रह प्रकाशित छन् ।

प्रस्तुत छ, भूपीको महत्वपूर्ण रचनाका अंशहरु

यो नेपाली शीर उचाली
यो नेपाली शीर उचाली संसारमा लम्किन्छ
जुनकिरी झैं ज्योति बाली अन्धकारमा चम्किन्छ

चाहे झुकोस निलो आकास यो नेपाली झुक्दैन
चाहे रुकोस् चिसो बतास यो नेपाली रुक्दैन

एकातिर तराईको चारकोसे झाडी छ
अर्काेतिर उच्च शीर ठुल्ठुला पहाडी छ

जन्मे यहीं गौतम बुद्ध शान्तिका अग्रदूत
सगरमाथा बिजय गर्ने यही देशका हुन सपूत

शब्द भूपि शेरचन
स्वर प्रकाश श्रेष्ठ, लोचन भट्टराई, सपनाश्री, यम बराल
संगीत नातीकाजी

गलत लाग्छ मलाई मेरो देशको इतिहास
जब म
यी भोकमा डुबेका चोकहरुमा
यी वैलाएका कलीजस्ता गल्लीहरुमा
हेर्छु एक दुई दिन बसेर बास
तब मलाई गलत लाग्छ
मेरो देशको इतिहास

यो बाटोमा बीचमा माटो खनेर
बसेका देवताहरु
यो बुझेर पनि लाटो बनेर
बसेका देवताहरु
यो बुझेर पनि लाटो बनेर
बसेका मानिसहरु
यी भूकम्पपीडित मन्दिर

ढल्केका गजूरहरु
यी सालिक बनेर दोबाटोमा
उभिएका हजूरहरु
जब देख्छु म यी सबलाई
सधै त्यहीं सधै उस्तै र
सधै एकनास
तब मलाई गलत लाग्छ
मेरो हुरीको इतिहास
जब म
असङ्ख्य सीताहरुलाई सधैँ
बाटो दोबाटोमा,
गल्ली गल्लीमा,
देश विदेशमा,
यूक्लिप्टसका रुखझै नङ्ग्याइएको देख्छु
अनि जब देख्छु असङ्ख्य भीमसेन थापाहरुलाई
निस्पन्द, निश्चल, शिथिल, चुपचाप उभिएका
आफ्नो आत्माको गीत मारेर
कल्कीका बोटझै
दुबै हात तल झारेर
तब मलाई गरुँ गरुँ झै लाग्छ
आफ्नो रगतको उपहास

जब म
यी भोकमा डुबेका चोकहरुमा
यी वैलाएका कलीजस्ता गल्लीहरुमा
हेर्छु एक दुइ दिन बसेर
तब मलाई गलत लाग्छ
मेरो देशको इतिहास
सुन्छु अमरसिंह काँगडासम्म बढेको कुरा
सुन्छु तेन्जिङले सगरमाथा चढेको कुरा
सुन्छु बुद्धले धरामा शान्तिको बीउ छरेको कुरा
सुन्छु अरनिकोको कलाले विश्व मन हरेको कुरा
सुन्छु सधै सुन्छु र केवल सुन्छु
तर मलाइ हुँदैन विश्वास

जब म
यी भोकमा डुबेका चोकहरुमा
यी वैलाएका कलीजस्ता गल्लीहरुमा
हेर्छु एक दुई दिन बसेर बास
तब मलाई गलत लाग्छ
मेरो देशको इतिहास
यो मेरो सत्य इतिहास ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "जुनकिरी झैं ज्योति बाली अन्धकारमा चम्किने भूपी"

Leave a comment