ओली प्रधानमन्त्री, म मुख्यमन्त्री : एमाले नेता राई

काठमाडौं । नेकपा एमालेका नेता शेरधन राईले अबको दुई हप्ताभित्रै केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन हुने दाबी गरेका छन् । उनले भने,‘वाम गठबन्धनले सरकार बनाउने गृहकार्य सुरु गरिसकेको छ, हामी साना÷मसिना दलहरुलाई समेत समेट्नगरि गृहकार्यमा जुटेका छौं, अबको दुई हप्ताभित्र नयाँ सरकार बन्छ।’

सोमबार राजधानीमा अायाेजित एक कार्यक्रममा बाेल्दै भोजपुरबाट प्रदेश सभामा निर्वाचित सांसद समेत रहेका नेता राईले अबको सरकारको नेतृत्व कसले गर्छ भन्ने प्रश्न नै अब सान्दर्भिक नरहेको जिकिर गरे । ‘सरकारको नेतृत्व कसले गर्छ भन्ने प्रश्न अब प्रश्न रहेन, दुनियाँलाई थाहा भएको कुरा हो नि, यो त चुनावअघि नै अनुमान गरेको, बुझेको कुरा हो नि, यसमा अब कुनै विवाद, शंका वा द्धिविधा भन्ने कुरा छैन, हाम्रो पार्टीका आदरणीय अध्यक्ष केपी ओलीले सरकारको नेतृत्व गर्नुहुन्छ।’

पाईं प्रदेश नम्बर १ को मुख्यमन्त्री बन्ने कुरा पनि छ नि ? भनेर पत्रकारको एक प्रश्नमा उनले भने,‘हो, म प्रदेश नं १ को मुख्यमन्त्रीको बलियो दावेदार हुँ । म केन्द्रीय प्रतिनिधिसभा र संविधानसभामा दुईपटक जितेर संसद्मा महत्वपूर्ण भूमिका खेलिसकेको, संसद्को सुशासन तथा अनुगमन समितिजस्तो महत्वपूर्ण समितिको सभापति समेतको जिम्मेवारी सफलतापूर्वक सम्हालिसकेको, त्यतिमात्र होइन संविधानसभाबाट संविधान जारी भएपश्चात् बनेको लोकप्रिय, सफल र ऐतिहासिक सरकारको प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री समेतको जिम्मेवारी सफलतापूर्वक सम्हालेर एउटा सफल मन्त्रीका रूपमा उत्रिसकेको, नेकपा एमालेजस्तो लोकप्रिय र शक्तिशाली पार्टीको पोलिटब्युरो सदस्य एवं प्रदेश नं १ को सहसंयोजकको हैसियतमा जिम्मेवारी लिएर काम गरिरहेको व्यक्ति प्रदेशसभा सदस्यमा चुनाव लडेर भारी मतले निर्वाचित भएको छु ।’

उनले आफूलाई भावी मुख्यमन्त्रीका रूपमा हेरिनु बिल्कुल स्वाभाविक भएको स्पष्ट पार्दै भने,‘म आफैँमा बलियो इच्छाशक्ति भएको, काम गर्न सकिन्छ र सक्छु भन्ने दृढ भावना र संकल्प बोकेको, कुनै लोभ र स्वार्थ मनमा नभएको एक स्वच्छ एवं निष्कलंकित राजनीतिकर्मी र जनप्रतिनिधि हुँ त्यसैले प्रदेशको भूगोल, त्यसभित्रको सबै विविधता र सन्तुलनको अवस्था र सबै संवेदनशीलताको आधारमा म नै विकल्परहित मुख्यमन्त्रीको उम्मेदवार हुँ ।’

उनले पार्टी एकताको कारणले सरकार गठनमा कुनै ढिलाई नहुने समेत जिकिर गरे । उनले भने,‘तत्काल पार्टी एकता हुँदैन, अहिले हाम्रो ध्यान सरकार गठनमा केन्द्रित छ, सरकार गठनको काम टुँगोमा पुगिसकेपछि हामी एकता प्रक्रियाको लागि जुट्छौं, त्यसैले सरकार गठनपूर्व पार्टी एकता नहुनपनि सक्छ।’

उनले भने,‘अवरोधको स्थिति स्वयम् सरकारले सिर्जना गरिरहेको छ, यो गलत हो, संविधान र कानून अनुसार पो देश चल्छ त ? आफूले भनेको मात्रै हुनुपर्छ भनेर पनि हुन्छ त ?, नेपाली कांग्रेसले जहिल्यैपनि सहमति उल्लंघन गर्दै आएको छ, यो कुरा देश र जनतालाई राम्रोसँग थाहा छ।’

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "ओली प्रधानमन्त्री, म मुख्यमन्त्री : एमाले नेता राई"

Leave a comment