समाचार टिप्पणीः मोदीको फोनले तरङ्गित नेपाली राजनीति

नेपाली राजनीतिमा भारतीय प्रभावका बारेमा बारम्बार टिप्पणी हुने गरेका छन् । नेपालमा विकसित हुने राजनीतिक घटनाक्रमलाई जहिले पनि छिमेकी राष्ट्रका कारण वा बाहिरी प्रभावमा भएको भन्ने राजनीतिक विश्लेषकहरुको ठूलो भीड छ नेपालमा ।

नेपालीहरुकै स्वविवेकले बनाएको भनिएको नयाँ संविधान धेरै समय भारतलाई नपचेर नेपाली जनताले दुःख पाएको हाम्रै नेता गणले बताएको कुरा हो । सार्वजनिक स्थालबाट भारतीय नेतालाई सम्बोधन गर्दै हाम्रा नेताले ‘हामीले संविधान बनाए बापत किन (भारतबाट) नाकाबन्दी खेप्यौं, के गल्ति गर्यौं संविधान बनाए बापत ? सम्म भने । बबुरा हामी नेपाली जनताले हाम्रा भाग्य निर्माता नेताहरुले हाम्रै मनकाे कुरा गरे भन्दै ताली बजायौं ।

त्यसपछि विकसित भएका घटनाक्रमले नेपाली राजनीति प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदै संविधान कार्यान्वयनको महत्वपूर्ण खुट्किलोसम्म आइपुग्यौं । अहिले निर्वाचन सकिएको छ । परिणाम सबै आइसकेको छैन । प्राप्त पछिल्लो परिणामका आधारमा कुनै पनि दललाई नेपाली जनताले बहुमत दिएका छैनन् । स्थिर सरकारका लागि भन्दै दलहरु विभिन्न गठबन्धन बनाए पनि बहुमत नहुँदा दलहरु उही पुरानो अस्थिर राजनीतिक सत्ताको लुछाचुडीमा जाने निश्चित छ ।

राष्ट्रपतिमा पेस भएर अड्किएको अध्यादेशसँगै दलहरुले आ–आफ्नै डम्फु बजाउन थालेका छन् । सत्तामा रहेका दलहरु अध्यादेश पारित गराउन लागेका छन् भने वाम गठबन्धन त्यसलाई फिर्ता लिनुपर्ने बताउँदै आएको छ ।
अध्यादेशलाई लिएर दलहरु विभक्त रहेको अवस्थामा बिहिवार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्रीसहित तीन शीर्ष नेताहरुलाई टेलिफोन गरेका छन् । मोदीको फोनसँगै नेपाली राजनीतिमा तरंग पैदा भएको छ ।
फोन आएको रात एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच लामो कुराकानी भएको सञ्चारमाध्यमले जनाएका छन् । मोदीको फोन आएको भोलिपल्ट बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच राजनीतिक दललाई अध्यादेशका बारेमा छलफलका लागि डाके । यद्यपि बैठकले कुनै निश्कर्ष निकालेन र दुबै पक्ष आ–आफ्नै अडानमा रहे ।

के थियो मोदीको फोनमा, किन जुटे दल ?

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रभीस कुमारले बिहिवार साँझ मोदीले नेपालका प्रधानमन्त्री सहितका शीर्ष नेताहरुलाई टेलिफोन गरेको जानकारी पत्रकार सम्मेलनमार्फत बाहिर ल्याए । तर मोदीले फोनमा के भने भन्ने बारे आफूलाई जानकारी नभएको बताए् । भारतीय विदेश मन्त्रालयको पेजमा अपलोड गरिएको उक्त पत्रकार सम्मेलनको भिडियोमा एक पत्रकारले ओलीसँग प्रधानमन्त्रीको अहिलेसम्म कुनै कुराकानी भएको छैन भन्ने प्रश्नमा उनले मुस्कुराउँदै देउवा, ओली र प्रचण्डसँग कुराकानी भएको बताएका थिए ।

मोदीले आफूलाई फोन गरेको बारेमा नेपाली शीर्ष नेताहरुले सूचना लुकाए । एउटा देशको प्रधानमन्त्रीले नेपालका प्रधानमन्त्रीलाई फोन गरेको कुराको जानकारी नदिएर सरकारले नेपाली जनताको सूचनाको हक उलङ्घन गर्याे। समाचार बाहिर आउन थालेपछि नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले विज्ञप्ती निकाले । माओवादीले त्यो औपचारिकता पनि पुरा गरेन । एमालेको विज्ञप्तिमा भावी प्रधानमन्त्रीको रुपमा ओलीलाई भारत भ्रमणको निम्तो दिएको बताईएको छ । अझ ओलीलाई स्वागत गर्न आतुर रहेको र सहकार्यको लागि प्रतिक्षारत रहेको विज्ञप्तिमा उल्लेख छ ।

नयाँ संविधान जारी नगर्न दूत नै पठाएर नेपाली नेताहरुको झाँको झार्ने भारतीय प्रधानमन्त्री मोदीले के नयाँ शिराबाट नेपाली नेताहरुसँग सहकार्य खोजेका हुन् या कुटनितिक दबाव दिएका हुन् ? यो समयले नै बताउला । मोदीले नेपाली नेताहरुलाई टेलिफोन गर्ने बित्तिकै दलहरु छलफलमा बस्नु स्याल कराउनु र कुखुरा हराउनु त पक्कै पनि होइन होला ! मोदीको टेलिफोन बाहिर भने जस्तै नेपालमा शान्ति र स्थिरताका लागि भए त ठीक छ तर ‘माइक्रो म्यानेजमेन्ट’ अन्तर्गत आएको हो भने गम्भीर नै छ । नेपाल अहिले संविधान कार्यान्वयनको चरणमा छ । नेपाली नेताहरु आपसमा यसरी नै नमिल्ने र आफ्नो निहित स्वार्थका लागि सत्ताको खेलमा मात्र लाग्ने हो भने नेपाल विगत झैं अस्थिर नै रहनेछ ।

नेपालको विकास र आर्थिक उन्नति कल्पनामा मात्र सिमित हुनेछ । देउवा, ओली र प्रचण्डले त सबैतिर विकास भएको देख्लान तर लामो समयसम्म नेपाली जनता भोकमरी, अभाव र बेरोजगारीमै रहनुपर्ने हुन्छ ।
त्यसैले दलहरु संविधान जारी गर्ने बेलाको जस्तो एकजुट भएर संविधानको पूर्ण कार्यान्वयन गराउन तर्फ लाग्नु नै अहिलेको आवश्यकता र जनताको म्याण्डेड हो । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा जनताले कुनै दललाई पूर्ण बहुमत नदिएर दलहरु बीचको एकताको सन्देश दिएका छन् । दलहरुले यो कुराको हेक्का राख्न जरुरी छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "समाचार टिप्पणीः मोदीको फोनले तरङ्गित नेपाली राजनीति"

Leave a comment