काँग्रेससँग माओवादी किन नरम ?

राष्ट्रियसभा निर्वाचन अध्यादेशका विषयमा जसरी एमालेका नेता र सो पार्टी निकट वकिलहरू काँग्रेससँग आक्रामक देखिन्छन् । माओवादी नेताहरू र सो पार्टी निकट वकिलहरू त्यति नै नरम देखिन्छन् । बाम गठबन्धनमा आवद्ध भएपछि स्वभावले नै माओवादी नेताहरू बढी आक्रामक हुनु पर्ने हो तर छैनन, किन त ? यो प्रश्नलाई राष्ट्रिय राजनीतिमा माओवादीको विगतदेखि आज, आजदेखि भोलिसम्मको राजनीतिक स्पेस निर्माणको आधारमा विश्लेषण गर्नुपर्ने हुन्छ । धेरैलाई थाह छ, बाम गठबन्धन धेरै गृहकार्य नभई आएको छ । अहिलेसम्मको प्रगति हेर्दा यो गठबन्धन सत्ता निहितार्थ मात्र आएको जस्तो देखिन्छ ।

स्थानीय निकाय निर्वाचनमा काँग्रेससँग गठजोड बनाएको माओवादीले काँग्रेसभन्दा एमालेले धेरै सीटसख्या दिएपछि प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठवन्धन बनाएको कसैसँग छिपेको छैन । काँग्रेससँग पटक पटकको छलफलमा २५ सीटभन्दा माथि नगएपछि ४० सीट दिने एमालेसँग माओवादी मिल्नु अस्वभाविक देखिएन पनि ।

जे जसरी गठबन्धन बनेपनि तल कार्यकर्तास्तरमा भने दुवै पार्टीले नसोचेको प्रभाव ग-यो । निर्वाचनको समयमा दुवै दलका स्थानीय कार्यकर्ता यति औधि मिले कि अव पार्टी एकता भएन भने नेताहरूले गाँउमा अनुहार नदेखाए हुन्छ । एमालेले माओवादीलाई र माओवादीले एमालेलाई त्यति सजिलै स्वीकार्दैन् भन्ने बिश्लेषणसहित निर्वाचनमा जाँदा नेपाली काँग्रेसको यस्तो हविगत हुनुपनि गठवन्धन सफल भएको उदाहरण हो । नेपालमा कम्युनिष्ट पार्टीलाई भोट हाल्ने जनतालाई एउटै पार्टीमा आवद्ध गर्न सकिने रहेछ भन्ने दृष्टिगोचर दुवै बाम दललाई भएको छ अहिले ।

तल्लो कार्यकर्ता तहमा जतिसुकै एकता देखिएपनि नेतृत्व नमिलेसम्म पार्टी एकीकरण हुन सक्दैन । एकीकरण गर्दा नेताको व्यवस्थापन निकै ठूलो चुनौति देखिनसक्छ । बामगठबन्धनको जीतसँगै केपी ओलीलाई प्रधानमन्त्रीको ?पमा उभ्याइसक्दा पनि अर्को प्रमुख शक्ति माओवादीलाई एकीकृत पार्टीको अध्यक्षको रूपमा नहेरिनुले समष्या एकीकरणको क्रममा हुन्छ भन्ने देखाउँछ । एमाले महासचिव इश्वर पोखरेलले यौटै नेता प्रधानमन्त्री, संसदीय दलको नेता र पार्टी अध्यक्ष हुनुपर्ने भनेर बोलेको कुराले पनि एकीकरण त्यति सहज छ भन्ने लाग्दैन । पोखरेलले जे बोले पनि निर्वाचनको बेला एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्ने र एकीकृत पार्टीका अध्यक्ष दाहाल बन्ने भन्ने जनजनमा सन्देश पुगेको छ । एमालेका ओली पक्षधर बाहेक माधव नेपाल र बामदेव गौतमका विचार सुन्ने हो भने पनि त्यस्तै लाग्छ । प्रचण्डलाई तत्काल पार्टी अध्यक्ष दिए एकीकरण टाढा पनि छैन पनि ।

पार्टी एकतामा देखिएका यस्ता संशयकाबीच माओवादी केन्द्र काँग्रेससँग कटुता बनाउन चाहँदैन । अध्यादेश प्रकरणमा उस्ले काँग्रेसलाई नचिढाउनुको कारण पनि त्यही हो । २०६३ मा प्रतिनिधि सभा पुनर्स्थापित हुँदा एमाले वरावर हैसियत दिएर गिरिजाप्रसाद कोइरालाले माओवादीलाई संसदीय राजनीतिमा स्थापित गराएका थिए । इतिहासका केही यस्ता स्मरणले पनि माओवादी काँग्रेसबिहीन राष्टिय सभाको कल्पना गर्न सक्दैन । एकता मूल मर्म हो, यदि एकता नहुने परिस्थिति बने एमालेसँगमात्र सत्ता गठबन्धन बन्नुपर्छ भन्ने माओवादीलाई नलाग्न सक्छ । यो बेला गठबन्धन रोज्न माओवादी स्वतन्त्र हुनसक्छ ।

बाम गठबन्धनभित्र यही समष्या देखेका काँग्रेस सभापति देउवाले प्रचण्डलाई प्रधानमन्त्रीसहित राष्ट्रपति, सभामुख सबै सुम्पन खोजेको भन्ने चर्चा हुन थालेको छ । गठबन्धन बनेपछि प्रत्यक्ष निर्वाचनमा नराम्रोसँग पराजित भएको नेपाली काँग्रेसले गठबन्धनले यदि पाँच बर्ष सरकार चलाउँदा के होला भनेर तर्सेर यो अफर गरेको पनि हुनसक्छ । यो अफर तत्काललाई प्रचण्डले नस्वीकारेपनि बाम एकता सम्मानजनक नभए माओवादीले अस्तित्व रक्षाको लागि पनि यो अफर नस्वीकार्ला भन्न सकिन्न ।

एमालेमा जसरी ओली पक्ष माओवादी केन्द्र सहजै एमालेमा बिलय हुने सपना देख्छ, ठीक यसैगरी माओवादीका सवै नेताहरू आत्मसर्मपण गरेजसरी एमाले विलय हुन चाहँदैनन्। एमालेमा केपी, माधव, जेएन र बामदेव पछि जसरी युवाहरूको महत्वकाँक्षी नेतृत्वको उदय हुँदै छ, माओवादीमा पनि त्यस्तै महत्वाकाँक्षा नेतृत्व छँदैछ ।

नेता, कार्यकर्ता व्यवस्थापन, साँगठनिक संरचना, पार्टीको नीतिगत लाइनमा स्पष्ट हुँदै बाम गठबन्धन एक हुनु आज मुलुकको लागि हितमा छ । यसले स्थिर सरकार त दिन्छ नै, मुलुक सम्वृद्धि तर्फपनि जान्छ । तर, वाम एकता भएन भने के हुन्छ ? निश्चय नै काँग्रेस र माओवादीबीचको केमेष्टी मिल्छ । अनि प्रचण्डकै पुरानै बाणीको पुनारावृत्ति हुन्छ ”काँग्रेसले दिन पनि जानेको छ लिन पनि जानेको छ । एमालेले लिनमात्र जानेको छ दिन जानेको छैन ।”

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "काँग्रेससँग माओवादी किन नरम ?"

Leave a comment