आर्थिक उन्नति गर्दै जाने भन्नेमा गठबन्धनमा त्यति धेरै अन्तरविरोध छैनः महरा

काठमाडाैं । माअाेवादी केन्द्रका प्रभावशाली नेता एवं पूर्व परराष्ट्रमन्त्री कृष्णबहादुर महरा वाम गठबन्धनका तर्फबाट दाङ क्षेत्र नम्बर २ काे प्रतिनिधिसभाका साझा उम्मेदवार हुन् ।  माअाेवादी भित्र धेरै पटक मन्त्री बनेकाे भनि अालाेचना खेपेका महराले दाङकाे बिकासका लागि भने उल्लेख्य भूमिका निभाएका छन् । माअाेवादी केन्द्रकाे तर्फबाट २०६४ सालकाे संबिधानसभा निर्वाचन जितेका महरा १० वर्षपछि पुनः निर्वाचन लड्न दाङ अाएका छन् । नेपाली काँग्रेसकाे राम्रै पकड रहेकाे दाङमा एमाले र केही साना वाम घटककाे सहयाेगमा महरा निवार्चन जित्ने दाउमा छन् । महरासंग समसामयिक विषयमा पाण्डव शर्माकाे कुराकानी ः–

दाङ निर्वाचन क्षेत्र नं २ मा तपाईको उम्मेदवारी किन ? 

हामीले समग्र रुपमा देशलाई हेर्नुपर्छ । राजनीतिक संक्रमणको अन्त्यसँगै देश समृद्धिको दिशामा अघि बढिरहेको छ । यस अन्तर्गत हामीले पश्चिम नेपालकै केन्द्रमा रहेको दाङलाई समृद्ध बनाउनको निम्ति गहन जिम्मेवारी लिनुपर्ने छ ।

आगामी पाँच वर्षमा दाङलाई समृद्ध बनाउन मेरो उम्मेदवारी हो । यसका धेरै पाटाहरु छन् । दाङले सिंगो पश्चिम नेपाललाई नेतृत्व गर्न सक्छ । अहिले पनि दाङ पुरानो राप्ती अञ्चलको केन्द्रविन्दु हो । दाङलाई ५ नं. प्रदेश, ६ नं. प्रदेश र ७ नं. प्रदेशलाई लिड गर्ने गरी अगाडि बढाउनु पर्छ । त्यसको निम्ति मैले आफ्नो उम्मेदवारी दाङलाई रोजेको छु ।

यो निर्वाचन क्षेत्रमा अन्य उम्मेदवारहरु पनि हुनुहुन्छ । आम मतदाताले अरु उम्मेदवारलाई मत नदिएर तपाईलाई नै मत दिनुपर्ने कारण के ?

अरु पनि उम्मेदवार हुनुहुन्छ । उहाँहरुले आफ्नो ठाउँबाट आफ्नो हैसियत अनुसार प्रयास गर्नुहुने नै छ भन्ने मैले विश्वास गर्छु । मेरो लामो राजनीतिक इतिहास, मैले हिजो जनयुद्धको बेला होस् अथवा त्यस पछिको शान्तिवार्ता हुँदै संविधान निर्माणसम्म मैले खेलेको भूमिका नै हो ।

२०६४ सालमा यहीबाट निर्वाचित भएर मैले संविधान निर्माणमा खेलेको भूमिका नै हो ।

दाङसँग मेरो भावनात्मक सम्बन्ध छ । मैले सरकार र अन्तर्राष्ट्रिय समुदायमा खेल्न सक्ने मेरो आत्मविश्वास रहेको छ । अहिले पनि मैले राष्ट्रिय राजनीति र अन्तर्राष्ट्रिय सम्बन्धमा राम्रो पहककदमी लिन सक्छु । मलाई मतदाताहरुले फेरि मतदान गरेर दाङको समृद्धि र समग्र मुलुकको नेतृत्वका लागि सहयोग गर्नुपर्छ भन्ने मेरो भनाई हो ।

तपाईहरु अहिले नेकपा एमालेसँग चुनावी गठबन्धनमा हुनुहुन्छ । यो गठबन्धनको मुख्य उद्देश्य के हो ?

सामाजिक, आर्थिक रुपान्तरणका सवालमा कम्युनिष्ट विचारधारामा आधारित वामपन्थी, प्रगतिशील शक्तिहरु नै अगाडि छन् । नेपाली कांग्रेस यस मानेमा अलि संकीर्ण छ । उ परम्परागत उत्पादन सम्बन्धमै चल्न चाहन्छ । आर्थिक उत्पादन र उत्पादक शक्तिहरुको सम्बन्धमा उ धेरै प्रगतिशील ढंगले सोच्न सक्दैन ।

उसको तुलनमा वामपन्थी, प्रगतिशील खास गरेर ठूला पार्टीका हैसियतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र अगाडि छन् । यसकारण वामपन्थीहरुको एउटा एउटा स्थिर सरकार निर्माण आजको आवश्यकता हो । त्यसको निमित्त वामपन्थी गठबन्धन गरिएको छ ।

तपाईहरुले गठबन्धनका साथै पार्टी एकता गर्ने भन्नुभएको छ । पार्टी एकताका आधारहरु के–के हुन् ?

विचारधारात्मक रुपमा हामीले समाजवादी क्रान्ति सम्पन्न गर्ने कुरा गरेका छौं । हाम्रा विचारमा केही भिन्नता छन् । हामीले बाँकी नेपाली समाजको रुपान्तरणको सम्भावनालाई कसरी सम्बोधन गर्ने ? भन्ने विषयमा अलिकति मतभिन्नता छन् । यी कुरा भए पनि हाम्रो साझा लक्ष्य भनेको समाजवादी क्रान्ति पूरा गर्ने नै हो । यसमा दुई दलबीच खासै धेरै अन्तर छैन ।

राजनीतिक रुपमा पनि समाजवादी क्रान्ति पूरा गर्नका निमित्त हामीले अहिलेको संविधानलाई ठीक ढंगले पूरा गर्ने, संविधानलाई ठीक ढंगले जनतालाई उपयोग गर्ने वातावरण तयार गर्ने र चुनावको माध्यमबाट आर्थिक उन्नति गर्दै जाने भन्ने विषयमा हामीहरुबीच त्यति धेरै अन्तरविरोध छैन । राजनीतिक, वैचारिक छलफल घनिभूत गरेर पार्टी एकता पनि सम्भव छ भन्ने हो । पार्टी एकता अहिले भएको छैन । पार्टी एकता संयोजन समिति मात्रै बनाएका छौं । हामीहरु बीच रहेका कतिपय वैचारिक, राजनीतिक विषयहरुमा घनिभूतरुपमा छलफल गरेर पार्टी एकताको निष्कर्षमा पुग्ने आधार हो ।

तपाईहरुले चुनवाङ बैठकमा अवलम्वन गरेको कार्यदिशाअनुरुप शान्तिवार्ता, संविधानसभा हुँदै संविधान निर्माण भएर पनि कार्यान्वयनका लागि निर्वाचन हुँदैछ । निर्वाचन सम्पन्न भइसकेपछि चुनवाङ बैठकमा तपाईहरुले लिनुभएको कार्यदिशाको मुलभूत उपलब्धि प्राप्त भइसक्छ । अब तपाईहरुको कार्यदिशा के हुन्छ ?

अब माओवादीले लिएको कार्यदिशाअनुसार क्रान्ति एक ढंगले ग¥यौं । तर, लक्ष्यसम्म पुगेनौं । बीचमा हामी शान्तिवार्ता ग¥यौं । क्रान्तिका बाँकी काम पूरा गर्न अझैं छ । क्रान्तिको बाँकी कार्यभार पूरा गर्नका निमित्त सम्पूर्ण वामपन्थी, प्रगतिशील शक्तिहरु एकजुट हुनुपर्छ । अबको लक्ष्य समाजवादी क्रान्ति नै हो ।

समाजवादी व्यवस्थामा आस्था राख्ने जति शक्तिहरु छन् तिनीहरुलाई एक गठ गराउने र समाजवादी क्रान्ति गर्ने नै हाम्रो मूल लक्ष्य हो । त्यसका लागि हामीले अहिले जे गरिरहेका छौं त्यो भन्दा अघि बढेर समाजवादी क्रान्ति गर्ने नै हाम्रो लक्ष्य हो ।

तपाईहरुले चुनावी तालमेलको साथै पार्टी एकताका लागि भनेर अनपेक्षित रुपमा पार्टी एकता संयोजन समिति गठन गर्नुभयो । यसरी पार्टी आन्तरिक जीवनको यति ठूलो विषयमा तल्लो तहसँग परामर्श नगरिकनै पार्टी नेतृत्व किन एकाएक त्यो हदसम्म पुग्यो ?

एकता भइसकेको छैन । एकताको लागि संयोजन समिति बनेको हो । संयोजन समिति बन्ने बित्तिकै अहिले नै पार्टी एकता भइहाल्यो भन्ने कुरा पनि होइन । एमालेसँग चुनावी तालमेल गर्ने भनेर निर्णय नै भएको छ ।

त्यही निर्णय अनुसार देशव्यापी तालमेल पनि भएको छ । पार्टी एकताको लागि निर्वाचन पछि शुरु हुन्छ । छलफल हुँदै जाँदा निष्कर्षमा गइन्छ । नेतृत्वले पार्टी एकता गरिसक्यो भनेर ठान्नु गलत हो तर, शुरुवात भने भएकै हो ।

माओवादीका नेता तथा कार्यकर्ता र एमालेका नेता तथा कार्यकर्ता फरक–फरक पृष्ठभूमिबाट आएका छन् । पार्टी नेतृत्वबाट एकता घोषणा गरिहाले पनि तल्लो तहसम्म भावनात्मक एकता गर्न त निकै कठिन हुने देखिदैन र ?

देश र जनताको आवश्यकता नै प्रधान हो । एमाले वा माओवादी केन्द्रभित्र अब आफ्नो स्कूलिङबाट मात्र सीमित भएर हुँदैन । तपाईले हाम्रो पार्टीको इतिहास हेर्नुभयो भने हामी एक जमानामा मशाल थियौं ।

अर्को जमानामा एकता केन्द्र भयौं । अर्को चरणमा गएर माओवादी भयौं । त्यसपछि एकीकृत माओवादी भयौं । त्यसपछि माओवादी केन्द्र भयौं । हामी बदलिरहेका छौं । बदलिदै अघि बढ्नै नै हो ।

पार्टी एकताको प्रकृयामा माओवादी केन्द्र एमालेकरण वा एमाले माओवादीकरण हुने होइन । यो त सिंगो देश परिवर्तनको अनुभूति दिलाउन कम्युनिष्टकरण हुन हामी सबै माथि उठेर एकताबद्ध हुने कुरा हो । दुबै पक्ष रुपान्तरण हुने कुरा हो । उही पुरानो संकीर्ण घेराभित्र बस्दा समस्याको उचित हल हुँदैन ।

त्यसकारणले हामी दुबै पक्ष आ–आफ्नो आधारबाट नयाँ आधारमा उठ्ने जमर्को ग¥यौं भने समस्या हल हुन्छ । आजको वर्गसंघर्षको चुनौती, आजको अन्तरसंघर्षको चुनौतिलाई हल गर्न अझ अघि बढ्नुपर्छ । यो सामाजिक नियम नै हो ।

 

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "आर्थिक उन्नति गर्दै जाने भन्नेमा गठबन्धनमा त्यति धेरै अन्तरविरोध छैनः महरा"

Leave a comment

Your email address will not be published.


*