वाम एकता भाँड्न उम्मेदवारमाथि आक्रमणः एमाले प्रवक्ता भट्टराई

काठमाडौं । एमाले सचिव एवं प्रवक्ता योगेश भट्टराई पूर्वी विकट हिमाली जिल्ला ताप्लेजुङमा वाम गठबन्धनका प्रभावशाली उम्मेदवार हुन् । पहिलो चरणको निर्वाचन मिति नजिकिँदै जाँदा भट्टराईका निर्वाचन प्रचार प्रसार गतिविधि निकै तीब्र बनेको छ ।

हिमालको फेदीदेखि उकाली ओराली, भीरपाखा गर्दै निर्वाचन प्रचार प्रसारका क्रमका जनताको घैर दैला चाहारेका नेता भट्टराईको फोन सबै ठाउँमा टिप्दैन । पटक पटकको सम्पर्क प्रयासपछि भट्टराईसंग फोन सम्पर्क भयो जतिबेला उनी आठराई त्रिवणी गाउँपालिका वडा नम्बर–३ हामपाङमा उकालो चढ्दै थिए । समसामयिक विषयमा भट्टराईसंग नेपाल जर्नल सम्बाददाता नवीन ढुंगानाले गरेको संक्षिप्त कुराकानीको सम्पादित अशं यहाँ प्रकाशन गरिएको छ ।

तपाईको निर्वाचन अभियान कस्तो चल्दैछ ?

कात्तिक ५ गते मनोनयन पत्र दर्ता भयो । कात्तिक ७ गतेदेखि हाम्रो चुनावी अभियान सुरु भएको छ । यसक्रममा ताप्लेजुङका ६१ वटा वडाहरु छन । ८ वटा गाउँपालिका र एउटा नगरपालिका छन । ठुलो भूगोलमा फैलिएको निर्वाचन क्षेत्र हो । भूगोलको हिसावले नेपालको तेस्रो ठुलो जिल्ला हो ताप्लेजुङ । हिमाली, पहाडी र केही ससाना समथर भूभाग भएका भूगोलहरु छन । जिल्लाका अधिकाशं क्षेत्रमा गाडी जादैँनन् । उकाली ओराली गर्दै पैदलै बाट हिमालको फेदीदेखि गाउँ गाउँसम्म निर्वाचन प्रचार प्रसारमा हिँडेका छौँ । कोणसभा, आमसभा, छलफलहरु, अन्तक्र्रियाहरु चलेका छन । करीब २० दिन भयो अभियान निरन्तर जारी छ ।

आफ्नो निर्वाचन क्षेत्रको सबै ठाउँ पुग्न सम्भव छ ?

वडा र पुरानो गाविस संरचनाका हिसाबले सबै क्षेत्रमा पाईला चै पुग्छ तर सबै स्थानमा पुग्न सकिएला जस्तो छैन । तर अभियान जारी छ ।

रोल्पामा वाम गठबन्धनका साझा उम्मेदवारमाथि आक्रमण भयो । वाम उम्मेदवार त्यो पनि प्रभावशाली नेताहरु बिरुद्ध आक्रमण प्रयास भएका छन यो किन भईराखेको छ ? तपाइँ पूर्वको विकट जिल्लामा निर्वाचन अभियानमा हुनुहुन्छ । असुरक्षाको महशुस भएको छ की छैन ?

वापपन्थीहरुको बीचमा भएको चुनावी एकताले केही शक्तिहरुलाई अत्तालिएका छन । केही त्यस्ता शक्तिहरु उग्रवामपन्थी प्रवृतिका छन केही उग्रदक्षिणपन्थी प्रवृतिका छन । त्यस्ता प्रवृतिका शक्तिहरुले हाम्रो एकतालाई बिथोल्न कोसिस गरिराखेका छन । मलाई के लाग्छ भने केही ठाउँमा जुन छिटफुट घटना घटाइएका छन् । घटना घटाइएको भनेर जसमाथि इंगित गरिएको छ । नेकपा माओवादी बिप्लब समूहलाई इंगित गरिएको छ, मलाई त्यो विश्वास छैन । उनीहरुले त्यो गरे होला जस्तो मलाई लाग्दैन । अरु नै कुनै शक्तिहरु त्यस आवरणमा संलग्न छन जस्ले बामपन्थीहरुको एकतालाई जाहेका छैनन्, यो एकताबाट उनीहरुलाई ठुलो थ्रेट छ । तिनीहरुले निर्वाचनलाई बिथोल्न, मुलुकमा अशान्ति फैलाउन र वामपन्थीहरुको एकतालाई भाँड्न यो खालको कोसिस गरेका छन् । म नेपाल सरकार र विशेषगरि सुरक्षा निकायलाई घटनाको सुक्ष्म अनुसन्धान गर्न र सुरक्षाकालागि सर्तकर्ता अपनाउन अपील गर्दछु ।

नेकपा एमाले र माओवादी केन्द्रबीच पहिलो चरणको चुनाव अघि नै पार्टी एकता हुने भन्ने समाचारहरु बाहिर आएका छन । यो तत्कालै सम्भव छ ?

पहिलो कुरा त यो निश्चित हो की अब हाम्रो देशमा एमाले र माओवादी मिलेर एउटै पार्टी बन्छ । यो सबैलाई छर्लङ्ग छ । अहिल्यै केही प्राविधिक कठिनाई र समस्याले गर्दा अलग अलग चुनाव चिन्हमा निर्वाचन लड्न परेको हो । चुनावपछि पार्टी एकता गर्ने भन्ने हाम्रो पूर्वघोषित कार्यक्रम नै छ । चुनाव अघि त्यो कति सम्भव हुनसक्छ त्यो हामीले हेरिराखेका छौँ । जतिसकिन्छ छिटो हामी पार्टी एकता गर्न आतुर छौँ । सबै नेताहरु निर्वाचनमा ब्यस्त रहनुभएको हुनाले निर्वाचन अगाडि नै यो प्राविधिकरुपमा सहज छैन, कोसिस जारी रहन्छ ।

वाम तालमेल लग्गतै शेयर बजार आरालो लागेको छ । अब देशमा कम्युनिष्ट सरकार आउँछ भनेर लगानीकर्ता डराएका छन् भन्ने हल्लाहरु चलेका छन् । यस्तो किन हुँदैछ ? बाम तालमेल र शेयर बजारको गिरावटबीच के सम्बन्ध ?

शेयर बजारको उतार चढाव सरकारको नीतिमा भर पर्ने कुरा हुन् । अहिले सरकार नेपाली काँग्रेसको छ । नेपाली काँग्रेसको गलत नीतिले मुलुकलाई टाट पल्टाउँदैछ । जसका कारण शेयर बजारले नेपाली काँग्रेससंग विश्वास गरेको छैन । त्यसकारण शेयर बजार ओरालो लागेको हो । पुस पहिलो साता बाम सरकार यो देशमा बन्छ । आम लगानीकर्तालाई हामी अपील गर्दछौँ की बाम सरकार यो देश र जनताको समृद्धिका लागि बन्दैछ । हाम्रो सरकारले अख्तियार गर्ने आर्थिक नीतिहरुले आम लगानीकर्ताको विश्वास जित्नेमा हामी ढुक्क छौँ ।

लगानीकर्तालाई असर गर्ने कुनै गलत नीति हाम्रो सरकारको हुनेछैन । सबै क्षेत्रको सन्तुलित बिकासका लागि वाम गठबन्धन सदैव तयार छ । मुलुकमा एउटा ठुलो आर्थिक परिचालन त्यो सरकारले गर्नेछ । त्यसो हुँदा अब यो एक महिना शेयर बजारमा जे होला त्यो काँग्रेसकै कारण होला । म आम लगानीकर्तालाई धैर्य गर्न अपिल गर्दछु । पुस पहिलो साता शेयर बजारमा सुनौला संकेतहरु देखापर्नेमा ढुक्क हुन आग्रह गर्दछु ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "वाम एकता भाँड्न उम्मेदवारमाथि आक्रमणः एमाले प्रवक्ता भट्टराई"

Leave a comment

Your email address will not be published.


*