‘वामपन्थीहरू आफ्नै घर जलाएर खरानीको व्यापार गर्न रमाउने जमात हो ’ – शेखर काेइराला

असाेज २५, काठमाडाैँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य शेखर काेइरालाले वाम गठबन्धन अप्राककृतिक भएकाे धारणा राखेका छन । काेइराला भन्छन्, उद्देश्य स्पष्ट नभएका कटु बिराेधीहरूकाे गठबन्धनले तानाशाह जन्माउन प्रयास भएकाे छ । स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेससँग सहकार्य गरेको माओवादी केन्द्रले निर्वाचनको अन्तिम परिणाम आइसक्दा–नसक्दै प्रतिपक्ष दल एमालेसँग गरेको चुनावी तालमेल र एकता अभियानले लोकतन्त्रवादीहरूको मनमा चिसो पस्नु स्वाभाविक हो ।

तर कम्युनिस्ट पार्टीहरूको यो अभियानले कांग्रेसको भविष्यमाथि जुन टिकाटिप्पणी र आशंका बाहिर आएका छन्, त्यो औचित्यहीन छ । यो कम्युनिस्ट तालमेलले मुखैमा आएको संघ (केन्द्र) र प्रदेश निर्वाचनको परिणामलाई केही असर गर्ला, तर जुन प्रकारले डर र त्रासको वातावरण सिर्जना भएको छ, त्यसबाट कांग्रेस र गैरकम्युनिस्ट दलहरू मुक्त हुनुपर्छ । अहिलेको वाम एकता हतारमा आकस्मिक रूपमा आएको होइन । विगत १० वर्षदेखिको गृहकार्यको परिणाम हो यो ।

संविधानसभाबाट संविधान घोषणा भएर देश राजनीतिक स्थायित्व र आर्थिक रूपान्तरणको संघारमा उभिएको र जनआन्दोलन–२ बाट प्राप्त उपलब्धिहरू विस्तारै संस्थागत हुने प्रक्रियामै रहेको समयमा कतै मुलुकलाई पुरानै अवस्थामा लैजाने षडयन्त्रस्वरूप यो वाम एकता भएको त होइन ?

विभिन्न कालखण्डमा भएका आन्दोलनका उपलब्धिलाई संस्थागत हुन नदिएर देशलाई पुन: द्वन्द्वतर्फ धकेल्न त यो भइरहेको छैन ? भन्ने गम्भीर आशंका भने साँच्चै पैदा भएका छन् । यो वाम एकता राष्ट्रियता, सार्वभौमसत्ता र लोकतन्त्रको खिलापमा भने छ ।

सपनाको व्यापार गर्दै षडयन्त्र र अति राष्ट्रवादको आडमा गरिने राजनीतिले मुलुकलाई कहाँ पुर्‍याउँछ ? साम्यवादी व्यवस्था स्थापित गर्ने उद्घोषसाथ भएको चुनावी तालमेल र वाम एकताले लोकतन्त्र कमजोर बनाउने र देशलाई अन्धकारमा धकेल्ने निश्चित छ । कम्युनिस्टहरू एकातिर साम्यवादको र अर्कोतर्फ विकास र समृद्धिको कुरा गर्नुहुन्छ । योभन्दा ठूलो झुट के हुनसक्छ ? साम्यवादी मुलुकहरू कहाँ विकास भएको छ ? कुनचाहिँ साम्यवादी मुलुक समृद्धिको बाटोमा लागेको छ ?

साम्यवाद गरिबीमा मौलाउने व्यवस्था हो । त्यसकारण साम्यवादी व्यवस्थामा विकास र समृद्धिको प्रसंगसमेत उठ्दैन । नेपाली जनताको आँखामा धुलो छरेर गरिने कम्युनिस्ट राजनीति कति दिन टिक्छ भन्ने कुरा समयले बताउँछ । हाम्रो मुलुकले साम्यवादी व्यवस्था थेग्न सक्दैन र जनताले कुनै पनि प्रकारको निरङ्कुशता स्वीकार्दैनन् । ‘वामपन्थीहरू आफ्नै घर जलाएर खरानीको व्यापार गर्न रमाउने जमात हो ।’  नेता काेइरालाकाे याे धारणा अाजकाे कान्तिपुर दैनिककाे विचार पृष्ट छापिएकाे छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "‘वामपन्थीहरू आफ्नै घर जलाएर खरानीको व्यापार गर्न रमाउने जमात हो ’ – शेखर काेइराला"

Leave a comment

Your email address will not be published.


*