कृष्णप्रसाद सिटौला झापा ३ बाटै चुनाव लड्ने

झापा, २५ असोज । झापा क्षेत्र नम्बर ३ बाट नेपाली काँग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले चुनाव नलड्ने भनी चलाइएको हल्ला निराधार रहेको झापा काँग्रेसले जनाएको छ ।

झापा क्षेत्र नम्बर ३ राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनलाई छाडेर सिटौला समानुपातिकबाट उम्मेदवार बन्ने भनेर चलाइएको हल्ला निराधार रहेको पार्टी सभापति उद्धव थापाले बताए ।

थापाले पत्रकारसँग मंगलबार कुराकानी गर्दै सिटौलाले झापा क्षेत्र नम्बर ३ बाट नै प्रत्यक्षतर्फ प्रतिनिधि सभाको चुनाव लड्ने बताए ।  काँग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पनि गठबन्धनमा सहभागी हुन चाहनेले माग राख्नु स्वभाविक भए पनि कार्यदलको बैठकले झापाको क्षेत्र नम्बर ३ राप्रपालाई छाड्ने विषयमा निर्णय नगरेकाे बताए  ।

काँग्रेसका उम्मेदवार छनोट गर्ने र टिकट वितरण गर्ने संसदीय बोर्ड नै गठन नभएको अवस्थामा क्षेत्र नै छाडेको भनेर चलाइएको हल्लाको भ्रममा नपर्न सिटौलाले आम मतदातालाई अपिल गरे ।

२०५० सालको उपनिर्वाचन, २०५६ को आम निर्वाचन र २०७० को संविधानसभा निर्वाचनमा सिटौला झापा क्षेत्र नम्बर ३ बाट लगातार तीनपटक निर्वाचित भएका थिए ।

झापा काँग्रेसले सिटौलालाई जोडेर चलाइएको हल्लाको भ्रममा नपर्न आम झापाली मतदातालाई अपिल पनि गरेको छ । सिटौलालाई काँग्रेस ३ नम्बर क्षेत्र र जिल्ला समितिले प्रतिनिधि सभाका लागि क्षेत्र नम्बर ३ को सर्वसम्मत उम्मेदवारका रुपमा केन्द्रीय समितिमा नाम सिफारिस गरिसकेको छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "कृष्णप्रसाद सिटौला झापा ३ बाटै चुनाव लड्ने"

Leave a comment

Your email address will not be published.


*