रेकर्ड तोड्दै ‘छक्का पन्जा २’

असाेज २४, काठमाडाैँ । केही समय पहिले नेपालमा हिन्दी फिल्मले मात्र सफलता प्राप्त गर्दै आइरहेकोमा हाल नेपाली फिल्मले पनि दिनप्रतिदिन एकपछि अर्काे फिल्मी रेकर्ड तोड्दै आइरहेको छ । नेपाली फिल्मको व्यापार अब करोडमा मात्र सीमित रहेन । नेपाली फिल्मको व्यापार अहिले निकै लोभलाग्दो हुन थालेको छ ।

असोज ११ गते अर्थात दशैंको फूलपातीको दिनबाट देशव्यापी प्रदर्शनमा आएको फिल्म ‘छक्का पन्जा २’ ले अहिले रेकर्डतोड कलेक्सन गरिरहेको छ । चाडपर्वलाई लक्षित गरेर प्रदर्शन गरिएकाले पनि फिल्मले प्रदर्शनको एक हप्तामै ७ करोड ग्रस कलेक्सन गरेको वितरक बताउँछ ।

यसको पहिलो भागले सय दिन मनाउँदै गर्दा १६ करोड कलेक्सन गरेको थियो । ११ दिनमा श्रीकृष्ण श्रेष्ठ स्टारर फिल्म कोहिनूरको रेकर्ड तोडिसकेको फिल्म ‘छक्का पन्जा २’ अहिले आफ्नो पहिलो भागको बक्स अफिस कलेक्सन तोड्ने दौडमा रहेको छ । फिल्मले ११ दिनमा १० करोड ग्रस कलेक्सन गरिसकेको छ ।

नेपालमा सर्वाधिक कमाई गर्ने फिल्मका रुपमा भने प्रभास स्टारर भारतीय फिल्म बाहुबलीलाई लिइन्छ । फिल्मले नेपालमा २५ करोड ग्रस कलेक्सन गरेको थियो ।

दीपाश्री निरौलाले निर्देशन गरेको फिल्म ‘छक्का पन्जा २’ मा दीपकराज गिरी, प्रियंका कार्की, स्वस्तिमा खड्का, स्वरुपपुरुष ढकाल, जितु नेपाल, बर्षा राउत, केदार घिमिरे, वुद्धि तामाङ, आयुष्मान देशराज लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "रेकर्ड तोड्दै ‘छक्का पन्जा २’"

Leave a comment