एसिसी यू १९ एशिया कप छनोटमा नेपालको लगातार तेस्रो जित, सिंगापुर ७ विकेटले पराजित

काठमाडौं । नेपालले मलेसियामा जारी एसिसी यू १९ पूर्वी क्षेत्र क्रिकेट प्रतियोगिताअन्तर्गत लगातार तेस्रो खेल जितेको छ । समूह चरणको अन्तिम खेलमा सिंगापुरलाई ७ विकेटले हराएको नेपाल यसअधि नै सेमिफाइनाल पुगिसकेको छ । यो जितपछि नेपाल समूह विजेता बनेको छ ।

६८ रनको लक्ष्य पछ्याएको नेपालले १३.४ ओभरमा ३ विकेट गुमाएर जित हासिल गरेको हो ।

नेपालका लागि ओपनर सन्दीप सुनारले २०, अनिलकुमार शाहले १८ रन जोडे । अर्का ओपनर आसिफ शेख ६ रनमा आउट भए । सुमित महर्जन १० र सन्दीप जोरा ७ रनमा अविजित रहँदा नेपालले जित हासिल गरेको थियो । आसिफ र अनिलको विकेट अभि दिक्षितले लिएका थिए ।

नेपालले आज टस जितेर ब्याटिङ रोजेको सिंगापुरलाई सस्तैमा अलआउट गरेको थियो । सिंगापुर २८.३ ओभरमा ६७ रन जोड्दै अलआउट भएको थियो । नेपालका लागि पवन सर्राफले ६, किशोर महतोले २ तथा सन्दीप लामिछाने र कप्तान दीपेन्द्र सिंह ऐरीले समान १ विकेट लिएका थिए ।

सिंगापुरका लागि सिद्धान्त र कप्तान आर्यमान सुनिलले समान २० तथा ओपनर रोहन रंगराजनले ११ रन बनाए । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । ५ खेलाडीले रनको खाता समेत खोल्न सकेनन् ।

समूह चरणमा नेपालले भुटानलाई ९ विकेट र त्यसअघि थाइल्यान्डलाई २ सय ५५ रनले हराएको थियो ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "एसिसी यू १९ एशिया कप छनोटमा नेपालको लगातार तेस्रो जित, सिंगापुर ७ विकेटले पराजित"

Leave a comment

Your email address will not be published.


*