यस बर्ष १५ अर्बको नयाँ नोट बाँड्दैछ राष्ट्र बैंक, उपत्यकामा मात्रै बुधबारदेखि १७ स्थानबाट वितरण हुँदै

काठमाडाैं । नेपाल राष्ट्र बैङ्कले यस बर्ष पाँच, दश, बिस, पचास र सय रुपैयाँको १५ अर्ब रुपैयाँभन्दा बढीको नयाँ नोट बजारमा पठाउने भएको छ । राष्ट्र बैंकले बुधबारदेखि मुद्रा व्यवस्थापन विभाग थापाथलीका साथै तीन बाणिज्य बैंकको १६ शाखा कार्यालय मार्फत सर्वसाधारणलाई नयाँ नोट वितरणको थालनी गर्दैछ ।

गत वर्ष १० अर्ब ३१ करोडका नयाँ नोट वितरण गरिएकोमा नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका निर्देशक भिष्मप्रसाद उप्रेतीले यस बर्ष सोमबारसम्म ५ अर्ब ८४ करोड ५५ लाखका रूपैयाँकाे नयाँ नोट विभिन्न बैंक तथा वित्तिय संस्था र सरकारी कार्यालयलाई केन्द्रीय बैंकले वितरण गरिसकेको बताए ।

गत वर्षहरुमा ७ दिन नयाँ नोट सटही सुविधा दिँदै आएको केन्द्रीय बैङ्कले यस वर्ष भने ३ दिन थप गरेर १० दिन वितरण गर्ने बताएको छ । अघिल्लो बर्षमा थापाथलीबाट मात्र नयाँ नोट वितरण गर्दे आएको राष्ट्र बैंकले यस बर्ष कृषि विकास बैङ्कको पाँच शाखा, नेपाल बैङ्कको पाँच शाखा र राष्ट्रिय वाणिज्य बैङ्कको ६ शाखा कार्यालयबाट प्रतिव्यक्ति २० हजार रुपैयाँको नयाँ नोट वितरण गर्न लागेको हो ।

राष्ट्र बैङ्क, मुद्रा व्यवस्थापन विभागका सटही काउण्टर पुगेर नयाँ नोट सहटी गर्नेले भने अन्य १६ स्थानको भन्दा थप ७ हजार गरि २७ हजार रुपैयाँको खुद्रा नयाँ नोट सहटी गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ । काठमाडौं उपत्यकामा राष्ट्र बैङ्कको थापाथली कार्यालयका साथै सर्वसाधारणलाई पायक पर्ने गरी अन्य १६ स्थान तथा भक्तपुरमा गुडविल फाइनान्सले समेत नयाँ नोट वितरण गर्नेछ । त्यसका साथै अन्य बैङ्क तथा वित्तीय संस्थाले पनि अघिल्ला बर्षहरुमा जस्तै आफ्ना ग्राहकलाई नयाँ नोटको सुविधा दिनेछन् ।

राष्ट्र बैङ्कको मुद्रा व्यवस्थापन विभागका अनुसार थापाथलीबाट टोकन मार्फत दैनिक २ हजार जनालाई नयाँ नोट वितरण गरिनेछ । अन्य १६ स्थानबाट प्रतिस्थान २०० जनाले नोट साट्न सक्ने राष्ट्र बैंकले जनाएको छ । नयाँ नोट वितरण गर्दा पारदर्शिता अपनाउन मुद्रा व्यवस्थापन विभागले राष्ट्र बैंक सुपरिवेक्षण विभागलाई अनुगमनको लागि आग्रह गरिएको निर्देशक उप्रतीले बताए ।

यस्तै, राष्ट्र बैङ्कको आफ्नो पाँच क्षेत्रीय कार्यालय र राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकमा राष्ट्र बैंकको ७७ ओटा नोट कोषबाट उपत्यका बाहिर रहेका स्थानीय स्तरको बैंक तथा वित्तिय संस्थालाई नयाँ नोट वितरण गर्ने बताइएको छ ।

संबैधानिक नियाक, सरकारी कार्यालय, संस्थान, सेना, प्रहरी, लगायतका संघसंस्थाहरुले भने संस्थाको आधिकारिक पत्रको आधारमा भने भदौ ३० गतेसम्म सटही गर्नसक्ने राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "यस बर्ष १५ अर्बको नयाँ नोट बाँड्दैछ राष्ट्र बैंक, उपत्यकामा मात्रै बुधबारदेखि १७ स्थानबाट वितरण हुँदै"

Leave a comment

Your email address will not be published.


*