काँग्रेसकी निर्वाचित वडा सदस्यबाट कुवेत पु-याईएकी मीनाको चित्कार “तत्काल उद्धार भएन भने मलाई बाँच्न दिँदैनन्”

बिस्मिताले कैयन दिनदेखि खान नपाएको र घर मालिकले चरम शारीरिक तथा मानसिक यातना दिइरहेको पीडा रुँदैरुँदै सुनाईन 

काँकडभिट्टा (झापा), २७ भदौ । मेचीनगरकी एक निर्वाचित जनप्रतिनिधिले गैरकानूनी माध्यमबाट कुबेत पठाएकी २४ वर्षीया बिस्मिता दर्जी विदेशमा घरेलु हिंसाको शिकार भएकी छन् ।  कुबेतमा दिनहुँ चर्को शारीरिक यातना भोग्न बाध्य हुनुपरेको भन्दै उनले जीवनरक्षाका लागि तत्काल स्वदेश फर्काइदिन हारगुहार गरेकी छन् ।

मेचीनगर–९ घर भएकी बिस्मितालाई मानव तस्करीको गिरोहले काठमाडौँबाट दिल्ली हुँदै सेटिङमा कुबेत पु-याएको थियो ।  गाउँकै मीना कामीले बिस्मितालाई राम्रो काम र दाम पाइने भनी लोभ देखाएर कुबेत पठाएकी हुन् । मीना हाल मेचीनगर–९ की निर्वाचित वडा सदस्य हुन् । उनी नेपाली काँग्रेसबाट वडाको महिला सदस्यमा निर्वाचित भएकी हुन् ।

मानव तस्करीमा संलग्न दलालहरुले एक रुपैयाँ पनि नलिई कुबेत पु¥याएर बिस्मितालाई घरेलु कामदारका रुपमा बेचेका हुन् कि भन्ने आशंका उब्जिएको छ ।  नौ महिनाअघि कुबेत पु¥याइएकी बिस्मिताले हाल लगातार परिवारका सदस्य र जनप्रतिनिधि मीना कामीलाई फोन गरेर कुबेतबाट छिटो उद्धार गरी घर फर्काइदिन अनुरोध गरिरहेकी छन् ।

कुबेतमा बन्दी जस्तै अवस्थामा रहेकी बिस्मिता दर्जीको उद्धार गरी पाऊँ भनी उनका बुबा राजकुमार दर्जीले मेचीनगर नगरपालिकामा आइतबार निवेदनसमेत दिएका छन ।  टेलिफोन कुराकानीमा बिस्मिताले आफूले कैयन दिनदेखि खान नपाएको र घर मालिकले चरम शारीरिक तथा मानसिक यातना दिइरहेको पीडा रुँदैरुँदै सुनाईन ।

“तत्काल उद्धार भएन भने मलाई बाँच्न दिँदैनन्”, कुबेतमा दर्दनाक पीडा भोगिरहेकी बिस्मिताले भनेकी छन्, “सबै लागेर मलाई उद्धार गरिदिनुप¥यो, मलाई बचाइदिनुहोस् ।”  आफ्नी छोरीको उद्धारका लागि आग्रह गर्दा नगरपालिकाकी निर्वाचित वडा सदस्य मीना कामीले परिवारसँग रु एक लाख ५० हजार उल्टै मागेको उनका बुबा राजकुमारले बताए ।

न्यायका लागि नगरपालिकामा निवेदन दिएको राजकुमारले बताए  । “रु एकलाख ५० हजार देऊ, कि तीनजना विदेश पठाउने महिला खोजिदेऊ, अन्यथा मबाट केही हुँदैन, जे गर्नुछ गर भनिन् मीना बहिनीले”, राजकुमारले भने , “त्यही भएर न्यायका लागि निवेदन दिएको हुँ ।” बिस्मिताका पति नरेन्द्र दासले तत्काल बिस्मिताको उद्धार गरिदिन सञ्चार माध्यममार्फत सरकार, स्थानीय प्रशासन, सरोकारवाला र स्थानीय निकायसँग अपिल गरेका छन ।

बिस्मिताका पति दासले पत्नीमाथि चरम शारीरिक र मानसिक यातना भएको बताउँदै भने , “उनको ज्यान जोखिममा छ, उद्धारका लागि सहयोग गरिदिनुस् । मानव बेचबिखनसम्बन्धी आरोप लागेकी मीना कामीले बिस्मिताको परिवारका सदस्यले आफूसँग रिहाइका लागि भन्न नआएको दाबी गरिन् । उनले आफूले बिस्मितालाई गैरकानूनीरुपमा कुबेत पठाएको स्वीकार गर्दै भनिन्, “उनले यातना पाएको कुरा झुठा हो, मसँग उनको कुरा भइरहेको छ ।”

मीनाले कुबेत पठाउँदा खर्च भएको रु एक लाख ७५ हजार नतिरेको हुँदा त्यही रकममात्र आफूले मागेको बताइन् । उनले जाँदा लागेको पैसा तिरे बिस्मितालाई दशैँपछि फिर्ता ल्याइदिने बताएकी छन् । “भन्नेबित्तिकै ल्याउन सक्दिन”, मीना भन्छिन्, “म राष्ट्रपति होइन, जतिखेर भन्यो त्यतिखेर ल्याउन सक्ने ।” उनले आफूलाई थुनेर बिस्मितालाई ल्याउन सकिन्छ भने थुने पनि फरक नपर्ने उनले बताइन् ।

अधिवक्ता दीपेन्द्र भट्टराईले गैरकानूनी बाटो प्रयोग गरेर वैदेशिक रोजगारमा पठाउनेलाई मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दा लाग्ने बताए । अधिवक्ता भट्टराईले यस्ता प्रवृत्तिका मुद्दा प्रहरी कार्यालयमा दर्ता हुने भन्दै बेचबिखन गरेकै ठहरिए पीडकलाई २० वर्षको जेल सजाय र क्षतिपूर्तिसमेत कानूनमा व्यवस्था भएको बताए ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "काँग्रेसकी निर्वाचित वडा सदस्यबाट कुवेत पु-याईएकी मीनाको चित्कार “तत्काल उद्धार भएन भने मलाई बाँच्न दिँदैनन्”"

Leave a comment

Your email address will not be published.


*