ताजिकिस्तानसँग घरेलु मैदानमै पराजित भयो नेपाल, अंक तालिकाको पुछारमा

२०१९ मा युएईमा हुने एएफसी एसियन कपको छनौट चरण अन्तर्गतको तेस्रो खेलमा नेपाल ताजिकिस्तानसँग घरेलु मैदानमै पराजित भएको छ । सातदोवाटोस्थित एन्फा मैदानमा सम्पन्न खेलमा नेपाल २-१ गेलले पराजित भएको हो । यो हारसँगै नेपाल अंक तालिकाको पुछारमा पुगेको छ।

पहिलो खेलमा फिलिपिन्ससँग मनिलामा पराजय ब्यहोरेको नेपालले काठमाडौंमै भएको दोस्रो खेलमा ओमानसँग गोलरहित बराबरी खेलेको थियो ।

खेलको २५ औं मिनेटमा ताजिकिस्तानले गोलको अग्रता बनाएको थियो । ताजिकिस्तानका उमरवेभले प्रहार गरेको कर्नर किकलाई जालिलोभ मानुचेरले हेडमार्फत गोल गरेका थिए । त्यसको लगत्तै पाँच मिनेटपछि नै ताजिकिस्तानका अलिभले गोल गरे ।

नेपालले पहिलो हाफको तुलनामा दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको थियो । खेलको ६१औं मिनेटमा स्ट्राइकर बिमल घर्तीमगरले उत्कृष्ट गोल गरेका थिए । त्यसपछि केहि आक्रमक बनेको नेपाली अग्रपंक्तिले आक्रमण बुनेपनि गोल भने गर्न सकेन ।

एसियन कप छनौटको तेस्रो चरणको समूह एफमा रहेको नेपाल तीन खेलबाट १ अंक बटुल्दै समूहको चौथो स्थानमा झरेको छ । नेपाललाई हराउँदै ताजिकिस्तान ३ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । समूहको पहिलो स्थानमा फिलिपिन्स र दोस्रो स्थानमा यमन छन् । फाेटा स्राेतः गाेलनेपाल

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "ताजिकिस्तानसँग घरेलु मैदानमै पराजित भयो नेपाल, अंक तालिकाको पुछारमा"

Leave a comment

Your email address will not be published.


*