वर्षाका कारण बाढी र पहिरोको देशब्यापी कहर

काठमाडौं । चार दिनदेखि देशव्यापी रुपमा आएको अबिरल बर्षाका कारण तराई र पहाडमा बाढी र पहिरोका कारण जनजीवन प्रभावित भएको छ । पूर्व र पश्चिमका तराईका भूभाग जलमग्न भएका छन् भने पहाडमा पहिरोले दर्जनौंको मृत्यु भएको छ ।

सिन्धुली जिल्लाको कमला र मर्णि नदीमा आएको बाढीले त्यस क्षेत्रका स्थानीय बासिन्दाहरुको हजारौं हेक्टर खेतीयोग्य जग्गाहरु कटान गरी नोक्सान गरेको छ ।वर्षा र बाढीले सिन्धुली जिल्लाको सबै ग्रामिण क्षेत्रको यातायात आवागन बन्द भएको छ । लगातारको वर्षापछि चुरै क्षेत्रबाट खहरेमा पहिरो आउँदा निपाने,रानीवास, हर्षाही र टाडी गाविसका विभिन्न स्थानका धानबालीमा समेत नोक्सान पुर्याएको छ भने नदी किनार आसपासको क्षेत्रमा मानव बस्तीहरु समेत जोखिममा परेका छन् ।

लगातारको वर्षापछि सिन्धुली जिल्लाको कमला नदीमा आएको बाढीले कमलाखोच क्षेत्रको रानीवास,सिथौंली र हर्षाही गाविस तथा दुधौंली नगरपालिका क्षेत्रका सयौं हेक्टर खेती योग्य जग्गाहरु कटान शुरु गरेको छ ।

सिन्धुली जिल्लाको मरिण र कमला नदी नियन्त्रणकालागि जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय लगायतका सरकारी निकायहरुले हिउदको समयमा तटबन्ध तारजालीको प्रबन्ध नगरेका कारणले बाढीले खेतीयोग्य जग्गाहरु कटान गरेको हो । तराई र भित्री तराई क्षेत्रको बीचमा पर्ने चुरे पहाडको कांखमा अवस्थित कमलाखोच क्षेत्रमा चुरे पहाड विनाशका कारणले कमला नदी र खहरेहरुमा आउने बाढीले रानीवास,निपाने,काउछे, हर्षाही, टाडी लगाएतका मानव बस्तीहरु समेत जोखिममा पर्न थालेका छन् भने मरिण क्षेत्रका सहान, नक्कली, बाह्विसे लगायतका स्थानका मानव बस्तीहरु जोखिममा परेका छन् । बाढीले रानीवास,निपाने,काउछे, हर्षाही, टाडी, सहान, नक्कली, बाह्विसे लगाएतका स्थानका मानव बस्तीहरु समेत जोखिममा परेका छन् ।

रौतहटमा चार दिन देखीको अविरल वर्षाका कारण आएको बाढीले गर्दा रौतहट पूर्ण रुपमा डुबानमा परेको छ । २०५० सालमा आएको बाढी भन्दा पनि ठूलो यस पटकको बाढीले जिल्लाका सबै गाँउपालिका र तिनवटै नगरपालिका लाई जलमग्न बनाएको छ । झाँझ, बागमती, लाल बकैया र चादी नदीमा पानीको बहाव अत्याधिक भएर बाढी आउँदा रौतहटको गौर, गरुडा र चन्द्रपुर नगरपालिका समेत पूण रुपमा डुबेका छन । गए राति गरुडा र सदरमुकाम गौरमा समेत बाढीको पानी पसेको हो ।

गौरको मुख्य सडकमा ४ फिट सम्म पानी रहेको छ भने जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरीको कार्यालय लगायत प्रहरी यूनिट समेत डुबानमा परेका छन । पूर्वमा रहेको बागमती नदीले मत्सरी, बेलबिछवा, पिप्रा रजबाडा, बडहरवा र आसपासका खेतहरु कटान गरिरहेको छ । बेलबिछवा वडा नं. ४ मा रहेको तट्बन्धलाई वर्षाको पानीले पनि कमजोर बनाउदा, ठाउँठाउँमा भत्कीन थालेकोले बाढीले सजिलै सो स्थानबाट तटबन्धनै भत्काउने खतरा बढेको छ ।

यसैगरी पश्चीम तर्फको लाल बकैया नदीका कारण बन्जरहा, इनर्वा, लक्ष्मिनिया, मर्यादपुर, कटहरीया, बसन्तपट्टी, तेजापाकड मा पनि बाढीको त्राश बढेको छ । बाढीको पानीका कारण रौतहटको बन्जरहाको सडक सम्पर्क टुटेको छ । यसै गरी फतुवामहेशपुर, राजपुर, जिंगडवा, मलाही टोल, पोठियाही मा पनि बाढीले बस्ती डुबानमा पारेको छ । गरुडा क्षेत्र सँगै चन्द्रनिगाहपुर र सन्तपुर मैढा कटानीका बस्तीहरुमा पनि बाढी पसेको छ । अझै पनिसदरमुकाम गौरको पूर्व र पश्चीम दुवै तर्फ रहेका दुई ठूला नदीहरुमा लगातार जलस्तरमा वृद्धि भइरहेको छ ।

लालबकैया नदीको बहाव उच्च बिन्दुमा पुगेपछि रौतहटको करुनिया र देवाही सहित आधा दर्जन स्थानमा तटबन्ध भत्कीएको छ । गौर चन्द्रनिगाहपुर सडकखण्डको सखुअवामा समेत बाढीले १० मिटर सडक कटान गरेको प्रहरी उपरिक्षक पोखरेलले बताए ।

शनिवार बाँध भत्कीए पछि देवाही वडा नंं ८ को एक घरमा २०० जना भन्दा बढी स्थानियलाई अझै सम्म पनि उद्धार गर्न सकिएको छैन । उनीहरुलाई सुरक्षित स्थानमा लैजान निकै अप्ठ्यारो भएको जानकारी दिदै प्रमुख जिल्ला अधिकारी उद्धव बहादुर थापाले गृहमन्त्राललाई जानकारी गराएर हेलीकप्टर माँग गरिए पनि प्रतिकुल मौसमका कारण हेलिकप्टर आउन नसकेको बताए । यस्तै परोहा गाउँपालिका स्थित करुनिया गाउँ नजिक रहेको लाल बकैया नदीको पूर्वी बाँध आज दिउसो भत्किदा त्यस भेगको अवस्था पनि कष्टकर बनेको छ । गौर गंगापिपरा सड्क खण्डको दुर्गा भगवती गाउँपालिकाको सडक बाढीका कारण गए राति देखिनै अवरुद्ध भएको छ भने मत्सरी, पचरुखी, सरुअठा, गंगापिपरा, भलोहिया, बडहर्वा लगायतका गाउँहरुमा बाढीको पानीबाट एक सय भन्दा बढि घर डुवानमा परेका छन् ।

परोहा गाउँपालिकाकै बसन्तपटी, इनरवारी, इशनाथ गाउँपालिकाको बन्जरहा, औरैया, बैरिया, राजपुर, बौधीमाई, गुजरा, माधवनारायण, गढिमाई, वृन्दाबन, विजयपुर, कटहरिया सहित गरुडा नगरपालिकाको सबै वडा, चन्द्रपुर नपाको केही वडा सबै क्षेत्र डुवानमा परेको बताइएको छ ।

गौर चन्द्रनिगाहपुर र पूर्व पश्चिम राजमार्गमा यातायात पूर्ण रुपमा बाढीका कारण बन्द भएको छ । बाढीमा फसेकाहरुको उद्दार गर्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको डुंगा सहितका पौडीबाज टोली जिल्लाका विभिन्न स्थानमा पठाइ पनि पर्याप्त भने भएको छैन अझै पनि दर्जनौ स्थानमा गाँउलेहरु बाढीमा फसेका छन ।

बबई नदीमा भीषण वाढी आउँदा बर्दियाका अधिकांस भुभाग जलमग्न भएका छन् । सदरमुकाम गुलरिया नगरपालिका डुवानमा परेको छ । बाढीका कारण पूर्व पश्चिम महेन्द्र राजमार्ग लगायत सदरमुकाम नेपालगञ्ज गुलरिया जोड्ने हुलाकी सडक अवरुद्ध भएका छन् ।

बाढीका कारण बर्दियाको सदरमुकाम स्थित गुलरिया नगरपालिकामा रहेको जिल्ला अस्पताल समेत डुवानमा परेको छ । बाढीले गर्दा बर्दियाको सदरमुकाम गुलरिया नगरपालिकाका वालापुर, सूर्यगौडी, ईन्द्रपुर, टँडुवा, कोठिया, भादा, खैरापुर, पण्डीतपुर लगायतका दर्जन भन्दा वढी गाउँ डुवानमा परेपछि त्यस क्षेत्रका हजारौ स्थानिय प्रभावित वनेका छन् । बाढीका कारण बा-हबर्दिया नगरपालिका पदनाहा, घोरपिट्टा, रानीपुर, धधवार, मगरागाडी, वाँसगढी नगरपालिका लगायत ठाकुरबाबा नगरपालिकाका आम्वासा, सूर्यपटुवा, भुरीगाउँ बजार, रानीपुर, नेउलापुर, वगनाह, मिर्चैया लगायतका वस्तीका हजारौं स्थानिय विस्थापित वनेका छन् ।

बाढीका कारण ठाकुरबाबा नगरपालिका वार्ड नम्वर २ की ७० बर्षिया साउनी थारुको मृत्यु भएको प्रहरीले जनाएको छ । वाढीबाट विस्थापित वनेकाहरु सुरक्षित स्थानका विद्यालय, सामुदायिक भवन तथा सडकका किनारहरुमा आश्रय लिई रहेका छन् । बबई नदीमा खतरा सतहमा अझै पानी रहेकाले दिनभरी नै वाढीको खतरा रहेको जनाईएको छ ।

ववई नदी तटीय क्षेत्रहरु चेपाङ्ग, तुल्सीपुर, घोराई, पदमपुर, अम्वापुर लगायतका क्षेत्रहरुमा मुसलधारे वर्षा भएपछि बबई नदीमा वाढी आएको हो । बाढीका कारण गुलरिया नेपालगञ्ज सडक भत्किएको छ । सुरक्षाकर्मीहरुले वाढीमा पसेका व्यक्तीहरुलाई उद्धार गरी सुरक्षित स्थान तर्फ पुर्याएका छन् । नेपाली सेनाले वोट मार्फत उद्धार गरीरहेको छ ।

कति खटिएका छन् उद्दारकार्यमा ?
बाढी र पहिरोमा बसेका नागरिकहरुको उद्दारका लागि नेपाल प्रहरीबाट ५,६००, सशस्त्र प्रहरी बलबाट करिब १,७०० र नेपाली सेनाका १,००० जना गरी जम्मा ८,३०० जना तालिम प्राप्त सुरक्षाकर्मीहरु प्रत्यक्ष रुपमा उद्दारका लागि फिल्डमा खटाइएको गृहमन्त्रालयले जनाएको छ ।

गृहका अनुसार खोज तथा उद्दारका लागि हेलीकप्टर, मोटर बोट, र्याफ्टिींग बोट, डोरी, ट्युव लगायतका साधनहरु प्रयोग गरिएको छ । सुर्खेतमा रहेको नेपाली सेनाको हेली मार्फत बाँकेका डुबानग्रस्त क्षेत्रहरु नरैनापुर, होलिया, फत्तेहपुर, सोनारीको टिकुलीपुर, बैरिया सिक्टा लगायतका स्थानहरुबाट करिब २०० भन्दा बढी मानिसहरुलाई सुरक्षित स्थानमा लगिएको छ ।

झापाकोे मदरगाछी, कपन कवास, साल्पारा, सौरघुटु, सुनसरीको बुढीखोला क्षेत्र, सप्तरीको हनुमान नगर, तिलाठी, सर्लाहीको बागमती क्षेत्र, रौतहटको बागमती र लालबकैया क्षेत्र लगायत अन्य प्रभावित स्थानहरुबाट र्याफ््टिङ्ग बोट लगायतका साधनहरु प्रयोग गरी उद्दार कार्य भैरहेको छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "वर्षाका कारण बाढी र पहिरोको देशब्यापी कहर"

Leave a comment

Your email address will not be published.


*