लक्ष्मणपुर बाँध र कोशी ब्यारेजका थप ढोकाहरु खुलाउन सरकारको अनुरोध !

काठमाडौं । अविरल वर्षाका कारण देशैभरी जनधनको क्षति बढन थालेपछि, शनिबार गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’को नेतृत्वमा आकस्मिक बैठक बसी केन्द्रिय कमाण्ड पोष्ट गठन गरिएको छ । शनिबार बिहान ८ बजे दखि बेलुका सम्म बसेको बैठकले गृहमन्त्री शर्माको नेतृत्वमा उद्धार कार्य चुस्त तथा छरितो बनाउन र बाढी पीडितहरुको व्यवस्थापन गर्नका लागि केही महत्वपुर्ण निर्णयहरु गरेको छ ।

शनिबार नै गृहमन्त्री शर्माले सम्माननीय प्रधानमन्त्री शेर बहादुर देउबालाई भेटेका थिए भने बेलुका साढे ७ बजेनै केन्द्रीय दैवी प्रकोप उद्धार समितीको बैठक बोलाएर सरोकारवाला मन्त्रालय तथा व्यक्तित्वहरुसँग थप रणनीति तय गर्न परामर्श गरेका थिए ।

प्रभावित क्षेत्रमा औषधी सहितको स्वास्थ्य टोली पुर्याउने, यातायात सुचारु राख्ने, आपुर्ति व्यवस्थालाई सुचारु राख्ने, प्रभावित क्षेत्रमा राहत सामाग्री तत्काल वितरण गर्ने, जोखिममा रहेका भौतिक पूर्वाधारहरुको संरक्षण गर्ने, स्थानीय तहका जनप्रतिनिधीहरुको सक्रिय सहभागितालाई अभिवृद्धी गर्ने लगायतका निर्णयहरु भएका छन् ।

शनिबार साँझसम्म, मुलुकका ११ जिल्लाहरु ९ पाँचथर–४, सिन्धुली–४, झापा–४, मोरङ्ग–३, सुनसरी–७, सर्लाही–२, बारा–२, दाङ्ग–१, बाँके –४, मकवानपुर–१, पाल्पा–१० गरी जम्मा ३३ जनाको मृत्यु, ४ जना वेपत्ता, र केही मानिसहरु घाइते भएका जानकारीमा आएको छ ।
नेपाल प्रहरीबाट ५,६००, सशस्त्र प्रहरी बलबाट करिब १,७०० र नेपाली सेनाका १,००० जना गरी जम्मा ८,३०० जना तालिम प्राप्त सुरक्षाकर्मीहरु प्रत्यक्ष रुपमा उद्दारका लागि फिल्डमा खटाइएका छन् । भारतीय समकक्षीहरुसँग समन्वय गरी लक्ष्मणपुर बाँध र कोशी ब्यारेजका थप ढोकाहरु खुलाउन अनुरोध गरिएको छ ।

खोज तथा उद्दारका लागि हेलीकप्टर, मोटर बोट, र्याफ्टिङ बोट, डोरी, ट्युव लगायतका साधनहरु प्रयोग गरिएको छ । सुर्खेतमा रहेको नेपाली सेनाको हेली मार्फत बाँकेका डुबानग्रस्त क्षेत्रहरु नरैनापुर, होलिया, फत्तेहपुर, सोनारीको टिकुलीपुर, बैरिया सिक्टा लगायतका स्थानहरुबाट करिब २०० भन्दा बढी मानिसहरुलाई सुरक्षित स्थानमा लगिएको छ ।

झापाकोे मदरगाछी, कपन कवास, साल्पारा, सौरघुटु, सुनसरीको बुढीखोला क्षेत्र, सप्तरीको हनुमान नगर, तिलाठी, सर्लाहीको बागमती क्षेत्र, रौतहटको बागमती र लालबकैया क्षेत्र लगायत अन्य प्रभावित स्थानहरुबाट र्याफ््टिङ्ग बोट लगायतका साधनहरु प्रयोग गरी उद्दार कार्य भैरहेको छ ।

तत्काल राहतका लागि अधिकाशं जिल्लाका जिल्ला दैवी प्रकोप उद्दार समितिहरुबाट आवश्यक खाद्यान्नहरु चिउरा, दालमोठ, भुजिया, चाउचाउ, चामल, दाल,नुन, तेल स्थानीय स्तरबाट खरिद गरी वितरण गरिएको छ । नेपाल खाद्य संस्थानका विभिन्न डिपोहरुबाट प्रभावित परिवारहरुलाई खाद्य सामाग्री वितरण गर्न प्याकेजिंग कार्य भइरहेको छ भने नेपाली सेनाको सबै हेलीहरु स्टेन्डबाई राखिएको छ । मौसमको प्रतिकुलताले प्रभावित क्षेत्रमा हेली उडान हुन सकिरहेको छैन ।

 

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "लक्ष्मणपुर बाँध र कोशी ब्यारेजका थप ढोकाहरु खुलाउन सरकारको अनुरोध !"

Leave a comment

Your email address will not be published.


*