भरतपुर १९ मा च्यातिएका मतपत्र सर्वोच्चलाई हस्तान्तरण

काठमाडौं । भरतपुर महानगरपालिका १९ नं. वडाको मतगणनाका क्रममा च्यातिएका मतपत्र आज सर्वोच्च अदालतलाई बुझाईएको छ । च्यातिएका मतपत्रसँगै सर्वोच्चले माग गरे अनुसार निर्वाचन स्थगित गरिएको मुचुल्का, स्थगनको सूचना, निर्वाचन आयोगलाई बुझाइएको प्रतिवेदन र च्यातिएको मतपत्र गणना गरेको मुचुल्का पनि सर्वोच्च अदालतलाई बुझाइएको छ ।

सर्वोच्च अदालतले जिल्ला प्रशासन कार्यालयसँग मागेको तत्कालीन अवस्थाको प्रहरीको प्रतिवेदन पनि जिल्ला निर्वाचन अधिकृतको कार्यालयले सर्बोच्च अदालतमा बुझाएको छ । भरतपुर महानगरपालिका वडा नं १९ को मतगणना जारी रहेको बेला दलका कार्यकर्ताले मतपत्र च्यातेपछि निर्वाचन आयोगले पुन मतदान गर्ने निर्णय गरेको थियो ।

त्यसको विरुद्धमा सर्बोच्चमा रिट परेपछि अदालतले केही दिनअघि मतगणनाका क्रममा च्यातिएका सबै मतपत्र लगायतका कागजात मगाएको थियो । जिल्ला प्रशासन कार्यालय र चितवनका मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज बिहान च्यातिएका मतपत्र भरतपुरवाट बुद्ध एयर हुँदै काठमाडौं ल्याएको थियो । मतपत्रसँगै आएका चितवनका मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपाने, सहायक मतदान अधिकृत गम्भीर घिमिरे र प्रहरी नायव निरीक्षक गोविन्द श्रेष्ठको टोलीले मतपत्र सर्वाेच्च अदालतलाई मतपत्र बुझाएको हो ।

कागजात प्राप्त भएपछि अदालतले मतपत्र च्यातिएको विषयमा विचाराधिन मुद्दामा अर्को सुनुवाइ गर्नेछ । अदालतले अन्तरिम आदेश जारी गर्ने नगर्ने निष्कर्षमा पुग्नका लागि थप कागजात माग गरेको हो । भरतपुर महानगरको मतगणना अन्तिम चरणमा पुगेको अवस्थामा जेठ १४ गते मध्यरातमा मतपत्र च्यातिएको थियो । अन्तिम दुई वडामध्ये वडा नम्बर १९ मा समेत १८ सयभन्दा बढी मतगणना भइसकेको अवस्थामा मतपत्र च्यातिएपछि मतगणना स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "भरतपुर १९ मा च्यातिएका मतपत्र सर्वोच्चलाई हस्तान्तरण"

Leave a comment

Your email address will not be published.


*